
१ जेठ, काठमाडौं । नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यही जेठ ८ देखि १४ गतेसम्म हुने प्रतियोगितामा नेपाल सहित ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक जितेन्द्रबहादुर चन्दले प्रतियोगितालाई सफल रुपमा आयोजना गर्न आफूहरु लागिपरेको बताए ।
‘नेपालको प्रतिष्ठा जोडिएको प्रतियोगिता हो । हामीले प्रतियोगिताको भेन्युदेखि टिम तयारीसम्ममा कुनै कसर बाँकी राखेका छैनौं । अहिलेसम्मकै भव्य र सफल प्रतियोगिता आयोजना गर्ने गरी तयारी गरेका छौं,’ चन्दले भने ।
यसअघि नेपालले २०१९ मा पुरुषतर्फ एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ भने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला र पुरुष दुवैको प्रतियोगिताको व्यस्थापकीय जिम्मेवारी निर्वाह गरेको थियो ।
यसपटक त्यो भन्दा राम्रो व्यवस्थापनमा प्रतियोगिता गर्ने अध्यक्ष चन्दले दावी गरे । उनले भने, ‘हामी यस प्रतियोगिताबाट अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो सन्देश दिन चाहन्छौं र हाम्रो कभर्डहल बनिसकेपछि हामी एसियन च्याम्पियनसिप र एसियन क्लब च्याम्पियनसिप जस्ता प्रतियोगिताको आयोजनामा पनि दावी गर्न सक्छौं ।’
चन्दले यसै प्रतियोगिताबाट अन्तर्राष्ट्रिय भलिबलको सर्वोच्च निकाय एफआईभीबीले दिएको जिफ्लोर म्याट प्रयोग गरिने जानकारी दिए ।
प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सबै तयारी भइसकेको उनले बताए ।
प्रतियोगितामा सहभागी टिमलाई हायत प्यालेसमा राख्ने व्यवस्था गरिएको चन्दले बताए ।
नेपाल भलिबल संघका महासिचव रोशन श्रेष्ठले भलिबलको पूर्वाधारमा कमी भएपनि काम गर्दै जाने र नेपालको राष्ट्रिय खेललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि प्रयास गर्ने बताए ।
प्रतियोगिताको बजेट २ करोड ७१ लाख सेन्ट्रल एसियाका १४ सदस्य राष्ट्रमध्ये ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको बजेट पनि ठूलो छ ।
प्रतियोगिताको लागि २ करोड ७१ लाख अनुमानित बजेट रहेको अध्यक्ष चन्दले जानकारी दिए ।
उनले भने, ‘त्यसमा राष्ट्रिय खेलकुद परिषदले मुख्य प्रायोजक वापत ५० लाख दिने निर्णय भइसकेको छ । हामीले मुख्य प्रायोजकका लागि त्यो भन्दा बढी रकमा अन्य संघ संस्थाहरुसँग पनि प्रस्ताव गरेका थियौँ । तर कुनै पनि संस्था नआएपछि राखेपलाई नै मुख्य प्रायोजकको रुपमा रहनेछ ।’
मुख्य प्रायोजन गरेपछि प्रतियोगिताको नाम अगाडि एनएससी जोडिएको छ । यस बाहेक देश विदेशमा रहेका अन्य विभिन्न संघ संस्थाले पनि नगद रकम सहयोग गर्ने चन्दले बताए ।
सोमबार पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका निवर्तमान अध्यक्ष मनोरन्जन रमण शर्माले नगद १ लाख र विद्यालय भलिबल कमिसनले ७५ हजार सहयोग रकम हस्तानतरण गरेको थियो ।
यस्तै यस प्रतियोगिताका लागि एफआईभिबीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) लाई ३० हजार डलर नगद सहयोग प्रदान गर्न स्वीकृति दिइसकेको र त्यसका लागि नेपालमा खाता खोल्नुपर्ने अध्यक्ष चन्दले बताए ।
नेपालको लक्ष्य उपाधिमा ह्याट्रिक गर्ने यस प्रतियोगिताका लागि नेपालले विगत तीन महिनादेखि तयारी गरिरहेको छ ।
बेल्जियन प्रशिक्षक जान डी ब्रान्टसहित नेपाललाई यसअघि दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाएका जगदीश भट्ट, भरत यादव र कोपिला उप्रेती सम्मिलित टिमले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।
यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।
नेपाली टिमका प्रशिक्षक जगदिश भट्टले यसअघि दुई संस्करणमा उपाधि जितेकोले यस पटक उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए । ‘हामीले तीन महिनादेखि तयारी गरेका छौँ । लक्ष्य उपाधि नै हो । ह्याट्रिक गर्ने तयारी सहित संघले पनि तयारी गरेको छ’, भट्टले यस पटक नेपाल भन्दा बलिया टिमहरु पनि बउने भएकोले कडा प्रतिस्पर्धा हुने बताए ।
नेपाल रहेको समूह ए मा भारत, बंगलादेश र कीरगिस्तान छन् ।
यस्तै समूह बी मा बलियो टोली कजाखस्तानसहित उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
नेपालले यसअघि सेन्ट्रल जोनमा श्रीलंका र उज्वेकिस्तानसँग खेलिसकेको छ ।
यस्तै भारतसँग २०१९को १३औं सागमा फाइनलमा खेलेको थियो । तर अग्रता लिएर पनि नेपाल पराजित भएको थियो ।
कजाकिस्तानसँग भने नेपालले अहिलेसम्म खेलेको छैन ।
यस पटक नेपालको नियमित सदस्य प्रतिभा माली चोटका कारण टिममा छैनन् । उनी नहुँदा अन्य खेलाडीहरुले पनि राम्रो प्रदर्शन गर्नुपर्ने भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4