+
+

महाराष्ट्रमा ‘केरला स्टोरी’लाई लिएर झडप हुँदा एक जनाको मृत्यु, आठ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १७:१२

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा मंगलबार भएको साम्प्रदायिक झडपमा परी एक जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् । त्यसक्रममा १०० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।

बीबीसीका अनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’लाई लिएर गरिएको सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन अधिकारीले इन्टरनेट सेवा अवरुद्ध गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छिन् । प्रहरीका अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई व्यक्तिबीच कुराकानीको स्क्रिनसटलाई इन्स्टाग्राममा सेयर गरेपछि विवाद चर्किएको थियो । एक प्रहरी अधिकारीले इण्डियन एक्सप्रेस अखबारलाई केही सन्देशले अर्को व्यक्तिको धार्मिक भावनामा चोट पुर्‍याएको बताएको जानकारी दिए । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देको कार्यालयले शान्तिको अपील गर्दै हिंसामा संलग्नलाई कडा कारबाही गर्न राज्य प्रहरीलाई निर्देशन दिएको छ ।

गत साता हलमा रिलिज भएको फिल्म ‘द केरला स्टोरी’ रिलिजपूर्व नै विवादमा परेको थियो । भारतको दक्षिणी राज्य केरलामा हिन्दू महिलालाई धर्म परिवर्तन गराएर इस्लामिक स्टेट समूहमा सामेल गरिएको विषयवस्तुमा फिल्म निर्माण गरिएको छ । विपक्षी दलका नेताहरूले फिल्मलाई प्रपोगाण्डा भन्दै आलोचना गरेका छन् । तर यो फिल्म वर्षौंको अनुसन्धान र सत्य घटनामा आधारित रहेको निर्माताको दाबी छ ।

फिल्मले संघीय मन्त्रीसहित सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूको समर्थन पनि पाएको छ । एक चुनावी र्‍यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फिल्मको प्रशंसा गरेका थिए । उता पश्चिम बंगाल राज्य सरकारले फिल्मलाई प्रतिबन्ध लगाएको छ भने भाजपाको सरकार रहेका उत्तरप्रदेश र मध्यप्रदेशले फिल्मलाई करमुक्त घोषणा गरेका छन् ।

आइतबार भारत प्रशासित कश्मीरको जम्मू जिल्लाको एक मेडिकल कलेजमा पनि फिल्मलाई लिएर झडप भएको थियो । हिंसामा कम्तीमा दुई विद्यार्थी घाइते भएका छन्, यो झडप पनि व्हाट्सएप समूहमा सेयर गरिएको फिल्मको पोस्टबाट सुरु भएको थियो । पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले अशान्तिको लागि संघीय सरकारलाई दोष दिंदै साम्प्रदायिक आगो सल्काउने फिल्ममार्फत हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?