+
+

छैटौं चेम्बर एक्स्पो भृकुटीमण्डपमा सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १६:५०

४ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौं चेम्बर एक्स्पो बिहीबारदेखि सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरू मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएका छन् ।

मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीहरु लगायत जडीबुटी, आयुर्वेदिकजन्य वस्तु प्रर्दशनीमा राखिएका छन् । अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनी एवं बिक्रीका लागि राखिएको छ । छैटौं चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी भण्डारीले उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए । उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाइ छ । उनले मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको समेत बताए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यावसायिक गतिविधीलाई बढाउन व्यापार मेला आयोजना गरिएको बताए । अध्यक्ष मल्लले विदेशबाट आउने वस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि वस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको एक्स्पो स्थल स्थापना गर्न सकिए यसले मुलुकको निर्यात व्यापारलाई थप टेवा पुग्छ भन्ने सरकार समक्ष आग्रह गर्दछु ।’

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ ।’

वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए । उनले माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपुर्ण सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?