+
+

कान्समा ‘किलर्स अफ द फ्लावर मुन’ प्रिमियर, रेडकार्पेटमा चम्किए लियोनार्दो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १३:१९

काठमाडौं । मार्टिन स्कोरसेज निर्देशित फिल्म ‘किलर्स अफ द फ्लावर मुन’ले कान्स फिल्म फेस्टिभलमा अहिलेसम्मकै सबैभन्दा भव्य ‘स्ट्यान्डिङ ओभेसन’ पाएको छ । शनिबार राति कान्सको रेडकार्पेटमा स्कोरसेजसहित लियोनार्दो डिक्याप्रियो, रोबर्ट डी नीरो, लिली ग्लाडस्टोनजस्ता स्टारहरु सहभागी रहे ।

तीन घण्टा २६ मिनेट लामो यो फिल्मले अमेरिकी इतिहासको अँध्यारो र लुकाइएको एक अध्यायको कथा भन्छ । फ्रान्सेली रिभिएरामा ‘टाइटानिक’भन्दा लामो फिल्म हेरेपछि भीडले उभिएर नौ मिनेटसम्म ताली बजाए । यो स्ट्यान्डिङ ओभेसन अहिलेसम्मकै लामो रहेको जनाइएको छ ।

लियोनार्दो डिक्याप्रियो पछिल्लो फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ र निर्देशक स्कोरसेज सन् १९८५ को फिल्म ‘आफ्टर आवर्स’पछि कान्समा फर्किएका थिए । रेडकार्पेटमा एप्पल कम्पनीका सीईओ टीम कुक पनि उपस्थित रहे । एप्पलले फिल्म निर्माणमा २०० मिलियन डलर खर्च गरेको थियो ।

निर्देशक स्कोरसेजका धेरै क्लासिक फिल्मको कथावस्तुमा न्युयोर्कको मध्य सडक देखा पर्छ । तर ‘किलर्स अफ द फ्लावर मुन’ले अमेरिकाको उत्तरपूर्वी ओक्लाहोमालाई पेश गर्छ, जहाँ ओसेज राष्ट्रका सदस्यलाई भयावह तरिकाले श्रृंखलावद्ध रुपमा हत्या गरिएको वास्तविक कथावस्तु फिल्ममा प्रस्तुत गरिएको छ । रेडकार्पेटमा ओसेज समुदायका सदस्य पनि मौलिक पोशाकसहित उपस्थित रहे ।

डिक्याप्रियो, डी नीरो र जेसी प्लेमोन्स प्रिमियरअघि स्कोरसेजसँगै रातो कार्पेटमा हिंडे । यो टोलीलाई ‘द एभिएटर’ मा क्याथरिन हेपबर्नको भूमिकामा ओस्कार जित्ने केट ब्ल्यान्चेटले स्वागत गरेकी थिइन् ।

फिल्मको प्रदर्शन सकिएपछि हलमा अभिनेत्री ग्लाडस्टोनको खोजी भयो । फिल्ममा उनले ओसेज महिलाको भूमिका निर्वाह गरेकी छन्, जसलाई धनको लागि लोभी पतिले धोका दिएको छ । सकारात्मक समीक्षा प्राप्त गर्दा उनले आँसु बगाइन् । सामाजिक सञ्जालमा ओस्कार ब्लगहरुले अहिले नै आगामी ओस्कार अवार्डको दाबेदारको रुपमा यसलाई पेश गरेका छन् ।

डेभिड ग्रानको सन् २०१७ को पुस्तक ‘किलर अफ द फ्लावर मुन : द ओसेज मर्डर्स एन्ड द बर्थ अफ द एफबीआई’मा आधारित यो फिल्मलाई ओक्लोहामामा सेट गरिएको छ । फिल्म आगामी अक्टोबर २० मा विश्वव्यापी प्रदर्शन हुने तयारीमा छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?