+
+

मेरो व्यक्तित्व नै रोडिजजस्ता शोका लागि बनेजस्तो लाग्छ : सुरज सिंह ठकुरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १४:००

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी सातादेखि छायांकन हुँदैछ । रोडिजको यो पाँचौं सिजनमा केही नयाँ विशेषता र अनुहार हामीले देख्न पाउँछौं । निर्देशकको रुपमा सिमोस सुनुवार, होस्टको रुपमा टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीदेखि ग्याङ लिडरको भूमिकामा प्रियंका कार्की नयाँ छन् ।

खासगरी होस्टको रुपमा सुरजको प्रवेशले रोडिजको नयाँ सिजनलाई खास बनाएको छ । छायांकन मिति नजिकिंदै गर्दा अनलाइनखबरसँग कुरा गर्दै सुरजले जीवनमा पहिलोपटक उचित टिभी रियालिटी शो गर्न लागेको बताएका छन् । उनका लागि यो शो किन पनि महत्वपूर्ण छ भने उनले पहिलोपटक आउटडोर टिभी कार्यक्रम होस्ट गर्दैछन् ।

‘यसअघि मैले गरेका टिभी कार्यक्रम स्टुडियोमा आधारित थिए । तर यो चाहिं आउटडोर हुनेछ,’ सुरज भन्छन्, ‘यस्तो टिभी कार्यक्रम जसमा मानिसको सही चित्रण होस् भन्ने मेरो चाहना पहिलेदेखि नै थियो । जुन चाहना रोडिजमा आएर पूरा हुँदैछ ।’ इनडोरमा हुने टिभी कार्यक्रममा प्रवृत्ति र स्वभावलाई लुकाउन सकिने सुविधा हुने गरे पनि रोडिजजस्ता आउटडोर छायांकन हुने कार्यक्रमले मानिसको वास्तविक चित्रण हुने उनले बताए ।

‘तर रोडिजमा कति दिन लुकाउने ? एकातिर साम, दाम, दण्ड भेद अपनाएर जित्ने प्रवृत्तिका प्रतिस्पर्धी एकातिर हुन्छन् भने अर्कोतिर हारे पनि ठीकै छ भन्ने हुन्छन् । कोही लजालु र कोही आक्रामक स्वभावका हुन्छन् । रोडिजमा हामीले यस्ता टाक्स तयार गरेका छौं कि ऊ बाध्य हुन्छ आफ्नो वास्तविक चरित्र गर्नको लागि,’ उनले भने, ‘एकदिन त प्रवृत्तिको खुलासा गर्नैपर्छ ।’

सुरजले जीवनमा पहिलोपटक आफ्ना लागि उचित शो गर्न लागेको बताए । ‘मेरो व्यक्तित्व पनि यसकै लागि बनेको जस्तो लाग्छ । किनभने रोडिज आफूमा मात्र सीमित नभएर टिमसँग सहकार्य गर्ने प्लेटफर्म पनि हो,’ उनले भने, ‘प्रतिस्पर्धामा ग्याङ लिडरले आफ्नो ढंगले जित्न खोज्छन् । उनीहरुलाई चेक एण्ड ब्यालेन्स गर्नुपर्‍यो । यसका लागि मेरो दायित्व पनि हुन्छ ।’

पाँचौं सिजनलाई लिएर आफू उत्साहित रहेको उनले बताए । ‘विभिन्न माइन्डसेटका व्यक्तिको स्वभावलाई सन्तुलनमा राखेर र संयमित भएर कार्यक्रम चलाउन एकदमै उत्साहित छु । प्रियंका, अनुप, दीया र लाउरे सबैको आफ्नो नेचर छ । उनीहरु मभन्दा उमेरमा पनि कनिष्ट नै छन् । ठूलो दाइको नाताले संयमित भएर काम गर्न उत्साहित छु,’ सुरजले भने ।

पछिल्लो समय नेपाली मौलिक रियालिटी शो अन्तर्राष्ट्रिय तहमै उत्कृष्ट बन्न थालेको सुरज बताउँछन् । ‘नेपालमा एकसे एक निर्देशक, होस्ट, प्राविधिक र प्रतिभा छन् । अझै पनि रियालिटी शो थपिएलान् । नेपालमा भएका ट्यालेन्टलाई नजरअन्दाज गर्न मिल्दैन,’ उनी भन्छन्, ‘अब विदेशी जज, प्रतिस्पर्धीको कार्यक्रम हेरेर बस्ने दिन गए । नेपाली अर्गानिक शो नेपालमै बन्न थालेका छन् । हामीले पनि गर्न सक्ने क्षमता बढेको छ । दर्शक र प्रायोजकले पनि नेपाली टेलिभिजनलाई प्रोत्साहन दिन जरुरी छ ।’

रोडिजको पाँचौं सिजन हिमालय टिभी एचडीबाट प्रसारण हुनेछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?