+
+

ट्याटु पूरै हटाउन सकिन्छ ?

डा. रुपक घिमिरे डा. रुपक घिमिरे
२०८० जेठ ११ गते १४:०८

शरीरका विभिन्न अंगमा खोपेर ट्याटु बनाउने चलन नेपालमा आज मात्र नभई पहिलेदेखि नै थियो । विशेषगरी नेवार, थारुलगायत समुदायमा ट्याटु बनाउने परम्परा नै छ । तर पछिल्लो समय ट्याटु फेसनको रुपमा बढ्दो छ । अझ अहिलेका युवापिंढीमा त ट्याटुको एउटा क्रेज नै छ ।

ट्याटु मनपर्दा त आकर्षक लाग्छ तर कहिलेकाहीं आफूले भनेको जस्तो भएन, कुनै पेशामा लगाउन नमिल्ने अवस्था आएमा वा हेर्दा हेर्दा वाक्क लागेको खण्डमा भने त्यही ट्याटु समस्या बन्न सक्छ । ट्याटु समस्या बनिरहेको छ भने चिन्ता लिनुपर्ने अवस्था छैन । किनभने ट्याटु हटाउन सकिने प्रविधि भित्रिसकेका छन् ।

लेजर प्रभावकारी माध्यम

हाम्रो छालामा तीनवटा तह हुन्छन् । त्यसमध्येको बाहिरी भाग परिवर्तनशील हुन्छ । तर स्थायी प्रकृतिको ट्याटु खोप्दा तीनवटै तहको भित्रसम्म पुर्‍याइन्छ । जसकारण त्यो आजीवन रहनेगरी बस्छ ।  यसरी बसेको ट्याटु हटाउन लेजर सबैभन्दा प्रभावकारी माध्यम हो । लेजरले ठूलोदेखि स-सानो ट्याटुमा भरिएको स्थायी रुपमा बसेको रङलाई पनि टुक्रा–टुक्रा गरिदिन्छ । जसलाई त्यहाँ भएका रगतले बिस्तारै सोस्न थाल्छ र बिस्तारै हराउन थाल्छ ।

कसरी हटाइन्छ ?

सर्वप्रथम कुन ठाउँमा छ, त्यसको आकार र रङ गाढा छ कि फिक्का भनेर हेरिन्छ । त्यसपछि नदुख्ने खालको क्रिम ट्याटु हटाउनुपर्ने भागमा लगाएर सुरु गरिन्छ । जसले कुनै किसिमको दुखाइ हुँदैन । त्यसपछि  लेजरको प्रकाशले आँखामा असर गर्ने हुँदा चिकित्सक र हटाउन लागिएको व्यक्तिलाई सुरक्षाको लागि ग्लास लगाउन दिइन्छ ।

त्यसपछि छालामा लेजर प्रविधिको मेसिनबाट हटाउन सुरु गरिन्छ । यदि सानो ट्याटु छ भने ५–१० मिनेटमा नै हटाउन सकिन्छ । ठूलो आकारको ट्याटु भए एक घण्टा वा त्यसभन्दा बढी समय लाग्छ ।

एकैपटक ट्याटु हट्दैन

स्थायी रुपमा बसिसकेको ट्याटु एकपटकमा जान सक्दैन । यसको साइज र के–कस्ता रङ भरिएका छन्, त्यसअनुसार यसको सेसन हुन्छ । ट्याटु राम्रोसँग हट्न ६ देखि ८ चरणसम्म लाग्न सक्छ ।

यदि कालो रङको ट्याटु र घरमै खोपिएको ट्याटु जुन वृद्धाहरुमा देख्न पाइन्छ, त्यस्ता ट्याटु निकाल्न सजिलो र समय कम लाग्छ । तर गाढा खालको र धेरै किसिमको रङ भरेको ट्याटु हटाउन कठिन हुन्छ । त्यसैले जति गाढा ट्याटु त्यति छिटो जान मुश्किल हुने हुँदा त्यहीअनुसारको चरण पार गर्नुपर्छ । त्यति मात्र होइन एकपटक गराएको चारदेखि ६ साताभित्र अर्को चरण गरिसक्नुपर्छ । एकपटक गराउँदा २० प्रतिशतसम्म ट्याटु हटेको अनुभव गर्न सकिन्छ ।

ट्याटु शतप्रतिशत हट्छ ?

धेरै गाढा नभएको र घरमै मेसिनले बनाएको ट्याटुहरु शतप्रतिशत थेरापीबाट जान सक्छ । तर धेरै नै गाढा खालको र हरियो खालको ट्याटु शतप्रतिशत जान कठिन हुन्छ तर जाँदै नजाने भन्ने हुँदैन । यसको लागि थप सेसन लाग्न सक्छ ।

उपचारपछि

लेजर गरेको एक दिनभरि त्यसभागमा पानी पार्नु हुँदैन । लेजर गर्ने बित्तिकै त्यो छाला केही दिनसम्म संवेदनशील हुने हुँदा पौडी खेल्न वा मसाज गर्नु हुँदैन । त्यस्तै घामको किरणमा केही दिनसम्म छालालाई जोगाउने, फोका आएमा त्यसमा कुनै खालको घर्षण नगराउने, त्यसमा १० दिनसम्म एन्टिबायोटिक क्रिम लगाउनुपर्छ । यदि घाउमा पानी परेको खण्डमा पनि सो क्रिम लगाइहाल्नुपर्छ । त्यस्तै सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा के छ भने गर्भवतीले भने हटाउन मिल्दैन ।

खर्च कति ?

यसको शुल्क ट्याटुको आकार, रङ र त्यसमा प्रयोग गरिने मेसिनअनुसार फरक–फरक हुन सक्छ । एकपटकको चरणमा पाँचदेखि १० हजार रुपैयाँसम्म शुल्क लाग्न सक्छ ।

ध्यान दिनुपर्ने कुरा

अनुभवी चिकित्सकबाट मात्र ट्याटु हटाउनु उपयुक्त हुन्छ । किनभने कुन रङको ट्याटुलाई कस्तो खालको लेजर मेसिन चलाउने भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ । दक्ष र अनुभवी चिकित्सकलाई मात्र यसबारे राम्रो जानकारी हुन सक्छ ।

थोरै गल्तीले अन्य समस्या निम्त्याउने हुँदा जथाभावी ठाउँमा गएर गराउनुभन्दा एकपटक मेसिनदेखि कस्तो व्यक्तिबाट सेवा लिने हो बुझेर मात्र गर्नुपर्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. घिमिरे काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालक समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?