+
+

कर्णालीका मुख्यमन्त्रीले दिए पूर्वराजालाई डाँडा कटाउने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १३:२१

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए ।

सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता जिस्क्याएको र सक्रिय राजनीति गर्न खोजेको भन्दै आलोचना गरेका थिए ।

प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री राजकुमार शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने चेतावनी दिए । ‘यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस्’, उनले भने ।

कांग्रेस नेता जीवनबहादुर शाहीले पनि कुनै हालतमा राजतन्त्र फर्कन नसक्ने दाबी गरे । गणतन्त्रमाथि जतिसुकै प्रश्न उठे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताए । ‘उँधो बगिरहेको कर्णालीमाथि फर्किन्न । यो व्यवस्थालाई बलियो बनायो अग्रसर हुनुपर्छ,’ शाहीले भने ।

 

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न आग्रह गरे । शनिबार पूर्व राजा शाह वीरेन्द्रनगरमा आएर गरेको सम्बोधनलाई प्रतिवाद गर्दै कँडेलले भने, ‘पूर्वराजा पार्टीको अध्यक्ष बनेर बस्दा राम्रो हुन्छ । राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।’

 

कँडेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । ‘सबैलाई एउटै डालोमा हाल्नु, राम्रो हुँदैन । एउटा राजा होइन, धेरै राजा भए भन्ने गरिएको छ’ कँडेलले भने, ‘ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्मका नाममा, कहिले अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेका छन् । त्यो स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?