+
+

सूर्य नेपाल प्रिमियर कप भोलिदेखि, नेपाल नम्बर एक बन्ने प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १९:१२

२२ जेठ, काठमाडौं। सूर्य नेपाल गल्फ टूरअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ रिसोर्टमा सुरु हुने भएको छ ।

टूरअन्तर्गत यसअघि सम्पन्न सात प्रतियोगितामा जितेको पुरस्कार रकमका आधारमा नेपाल नम्बर एकको उपाधिका लागि व्यवसायिक गल्फरहरुबीच यो प्रतियोगिता निर्णायक हुनेछ।

पुरस्कार रकमकै आधारमा वरीयता छुट्याउने अन्तर्राष्ट्रिय परम्परालाई नै नेपालमा लागू गरिएको आयोजक व्यवसायिक गल्फर संघका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अहिलेसम्म व्यवसायिक (प्रो) गल्फर भुवन नगरकोटी शीर्ष स्थानमा छन्। दुई प्रतियोगिता नखेल्दा पनि थोरै रकमले पछि परेका अर्का प्रो गल्फर शुक्रबहादुर राईले अन्तिम प्रतियोगितामा भुवनलाई चुनौति दिनेछन् ।

सिजनका सातै प्रतियोगिता खेलेका भुवनले अहिलेसम्म ५ लाख १३ हजार ५ सय पुरस्कार रकम जितेका छन् भने सूर्य नेपाल च्यालेन्ज र एनपीजीए टूर च्याम्पियनसिपमा सहभागिता नजनाएका शुक्रले ४ लाख ९४ हजार पुरस्कार जितेका छन् । शुक्र नेपाल नम्बर एक प्रो गल्फर हुन् ।

यो प्रतियोगितामा भुवन र शुक्रसँगै ४१ जना व्यवसायिक र राष्ट्रिय टिममा रहेर आसन्न एसियाली खेलकुदको तयारी गरिरहेका सुवास तामाङ र सद्भाव आचार्यसहित ९ जना एमेच्योर गल्फरको सहभागिता रहनेछ ।

७२ होलमा खेलाइने प्रतियोगितामा प्रदर्शनका आधारमा शीर्ष २१ जना प्रो र ६ जना एमेच्योर गल्फरले मात्र अन्तिम ३६ होल खेल्न पाउनेछन्।

चार दिनसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशी १५ लाख २० हजार छ । उपाधि विजेताले २ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले १ लाख ७० हजार र तेस्रो हुनेले १ लाख २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?