+
+

अर्थमन्त्रीको स्वीकारोक्ति : सधैं टाइप गर्ने मान्छे नै ‘हायर’ गरिएको हो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २०:१०

२२ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर हेरफेर गर्न मन्त्रालय बाहिरका ब्यक्तिलाई हायर गरिएको (भाडामा लिइएको)  स्वीकारेका छन् ।
निश्चित घरानालाई फाइदा पुग्नेगरी करका दर हेरफेरमा अनधिकृत ब्यक्ति पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठलाई प्रयोग गरिएको समाचार अनलाइनखबरमा प्रकाशन भएपछि अर्थमन्त्री महतले त्यसबारे मुख खोलेका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरहरुमा हार्मोनाइजेसन कोड(एचएस) विगतदेखि जसले टाइप गर्दै आएको हो उसैले टाइप गरेको भन्दै करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको प्रवेश नरहेको दाबी गरेका छन् ।  श्रेष्ठले बिगतदेखि नै करका दर चलाउने काम गरिरहेका भन्दै उनले उनी अनधिकृत नभएको दावी गरेका छन् ।

‘बजेट बनाउँदा अर्थमन्त्री, राजस्व र अर्थको दुई वटा सचिव, राजस्व, आन्तरिक राजस्व विभाग र भन्सार विभाग प्रमुख र त्यसलाई हेर्ने दुई वटा उपसचिव हुन्छ, त्यो मात्रै हुन्छ,’ उनले भने, ‘विगतदेखि नै जसले टाइप गर्ने गरेको हो, उसैले बजेट टाइप गरेको हो । सधैं टाइप गर्ने मान्छे मन्त्रालयले ‘हायर’ नै गरिएको हुन्छ, जो आधिकारिक मान्छे हुन्छ ।’

बजेट र राजस्वको दर चलाउने टिमले हस्ताक्षर गरेर टुंग्याएको विषय नै टाइप गर्नेले इन्ट्री गर्ने उनको दाबी छ ।

काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटीले सोमबार आयोजना गरेको पोष्ट बजेट कार्यक्रममा बोल्दै उनले कसैलाई फाइदा हुने गरी र कसैलाई घाटा हुने गरी बजेट नल्याएको पुनः दाबी गरे ।

अर्थमन्त्री महतले भने, ‘कसैले फाइदा उठाउन नपाएर रिसाएको हुनसक्छ । कसैलाई फाइदा, कसैलाई घाटा हुने गरी गरेको छैन । बरु कर्मचारी, व्यवसायीलाई सोध्नुस्’ उनले इमानदारपूर्वक काम गर्दा हिलो छ्याप्ने काम भइरहेको बताए ।

‘कसैको फाइदाका लागि काम नगर्दा नियोजित रुपमा आक्षेप लागिरहेको छ, इमानदारपूर्वक काम गर्दा पनि हिलो छ्याप्ने हो भने देशमा इमानदार मान्छेको काम छैन’, अर्थमन्त्री महतले भने । उनले बजेट बनाउँदा कतिपय साथीहरुलाई किन आउनुभयो भन्दै गाली गरेको समेत उल्लेख गरे ।

अर्थमन्त्री महतले बजेट निर्माण पूर्व पनि कुनै घरानालाई फाइदा पुग्नेगरी आफुले करका दर नचलाउने दावी गर्दै आएका थिए ।
तर, आगामी आर्थिक बर्षको बजेट निर्माणका क्रममा बिशाल ग्रुप, त्रिवेणी ग्रुप र मुरारका ग्रुपलाई फाइदा पुग्नेगरी करका दर संसोधन गरिएको पाइएको छ ।

राजश्व संकलनमा चाप परेको भन्दै तरकारी र फलफूलमा समेत भ्याट लगाएका अर्थमन्त्रीले विलासी विजुली गाडी र विलासी मोटरसाइकलमा करको दर घटाइएका थिए भने चुरोटमा औसतभन्दा ७ प्रतिशत कम बृद्धि गरी एक चुरोट उत्पादक कम्पनीलाई लाभ पु¥याएका छन् । करमा दरमा संसोधन र त्यसको सूचना चुहिँदा राज्यलाई अरवौं नोक्सानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?