+
+

भुटानी शरणार्थी प्रकरणमा जाहेरीकर्ताका वकिलले भने : आरजु, प्रेम राईहरुको बयान किन नलिने ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १७:४५

२३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आरोपितहरु विरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको छ । मंगलबार अपराह्न जाहेरीकर्ताहरुको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपितहरुले बयानमा नाम लिएकाहरुको पनि बयान लिनुपर्ने माग गरे ।

उनले जिल्ला अदालत काठमाडौंमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिंदै आरोपितले बयानमा नाम लिएकाहरुलाई पनि अदालतमा झिकाउन माग गरेका हुन् ।

‘जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने ?’ अधिवक्ता कट्टेलले प्रश्न गरे ।

उनले प्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले पोलेका व्यक्तिहरुले उन्मुक्ति पाउन नहुने बताए ।

अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताए । त्यसैगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै उनीहरुमाथि समेत बयान हुनुपर्ने माग गरे ।

खासगरी अडियोमा नाम जोडिएका, आरोपितहरुले पैसा बुझाएको भनी नाम पोलेकाको हकमा बयान हुनैपर्ने भन्दै उनले यो प्रकरणमा भएको प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठाए । उनले रकम लिएको आरोप खेपेका आरजु देउवा, मञ्जु खाँण, नैनकला थापा, प्रेम राई लगायतको बयान लिनैपर्ने माग गरे ।

आरोपितले नाम लिएकाहरुलाई पनि बयान लिएको नजीरका रुपमा कट्टेलले उमेश रेग्मीविरुद्धको मुद्दा सम्झाएका थिए ।

मामाले ‘पोलेका’ भाञ्जा

रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीका सौगात सुनुवार लगायतले जाहेरी दिएको र अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको ठगीसम्बन्धी मुद्दा अधिवक्ता कट्टेलले इजलासमा उल्लेख गरेका हुन् ।

जिल्ला अदालतमा रहेको मुद्दाको मिसिल अनुसार, काठमाडौं बूढानीलकण्ठ बस्ने उमेश रेग्मीले इटालीमा कामको अवसर छ, मैले मिलाइदिन्छु भनी सुनुवारसँग मात्रै १७ लाख रुपैयाँ उठाएका थिए । इटली पठाउने भनेर अजरबैजान पुर्‍याएर १० महिना अलपत्र पारेपछि रेग्मीविरुद्ध सुनुवार, दार्चुलाका रवीन्द्रसिंह ऐरी, उदयपुरका शिलाञ्च चाम्लिङ समेतले जाहेरी दिए ।

पछि अनुसन्धानका क्रममा रेग्मीले आफू मात्रै नभई भाञ्जा नवराज ढकाल पनि संलग्न भएको बयानमा खुलाए । आफ्ना भाञ्जा अजरबैजानमा रहेको र उनले पीडितहरुलाई त्यहाँ रहने बस्ने क्रममा सहयोग गरेको भन्दै रेग्मीले आफू ठगी काममा संलग्न नभएको बयान दिए ।

त्यसपछि प्रहरीले उमेश रेग्मी मात्रै होइन, अजरबैजानमा रहेका उनका भाञ्जा नवराज ढकालविरुद्ध समेत विश्वासघात गरेको अभियोगमा ७ साउन २०७८ मा उनीहरुविरुद्ध ४१ लाख रुपैयाँ विगो मागदावी सहित ठगी मुद्दा चलाएको थियो ।

जिल्ला अदालतले उमेश रेग्मीलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा पठायो भने पछि अदालतमा हाजिर भएका नवराज ढकाललाई ८ लाख रुपैयाँ धरौटीमा छाडेको छ । यो मुद्दा जिल्ला अदालत, काठमाडौंमा अहिले पनि विचाराधीन छ ।

कट्टेलले भने, ‘त्यो मुद्दामा पोलेको भरमा नवराज ढकाललाई गिरफ्तार गरेर प्रतिवादी बनाइएको छ, यहाँ बयानसम्म भएको छैन, यस्तोमा इजलासले आदेश समेत दिनसक्छ, झिकाउने आदेश होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?