+
+

भैरहवामा आईएलएसबारे भारतसँग सहमति भयो, तर कार्यान्वयनको टुंगो छैन

आइएलएस कार्यान्वयन गर्न नेपालको सीमाभन्दा पारि १ देखि ३ कि भारतीय भूमिलाई हवाई क्षेत्र घोषणा गर्नुपर्छ

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ २५ गते १७:३०

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) सम्बन्धी सहमति कार्यान्वयनको टुंगो अझै लागेको छैन ।

प्रधानमन्त्री प्रचन्डले भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा आइएलएसबारे सहमति भएको बताएका थिए । तर, यस विषयमा प्राविधिक तहमा सम्झौता हुनुपर्ने तर त्यो कहिले हुने भन्ने विषयमा टुंगो नलागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

सम्झौता नभएका कारण भारतले आइएलएस सञ्चालनका लागि भएको सहमति कार्यान्वयन गर्छ वा गर्दैन भन्ने अन्यौल अझै हटेको छैन । अर्कोतर्फ कति समयसम्म सहमति कार्यान्वयनमा आउँछ भन्ने पनि निश्चित छैन । तर, साथमा भारतले यो उपकरण सञ्चालनको अनुमति नदिएमा के हुन्छ भन्ने प्रश्न पनि छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएसका उपकरणहरु भने जडान भइसकेका छन् । भारत भ्रमणकै क्रममा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले समेत आइएलएस विधि एरोनटिकल इन्फरमेशन पब्लिकेशन (एआइपी)मार्फत सार्वजनिक गर्न सहमति भएको जानकारी सञ्चारमाध्यमलाई दिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरुका अनुसार आइएलएस जहाज अवतरणका दौरान प्रयोगमा आएको एक परम्परागत प्रणाली हो, जसलाई पछिल्लो ५० वर्षयता निरन्तर उपयोग गरिएको छ ।

पाइलटलाई तालिम दिने क्रममा जहाज अवतरण गराउने यसै विधिलाई सबैभन्दा पहिला पढाइन्छ । सोहीकारण आइएलएस जडान भइ सञ्चालनमा आएका विमानस्थलमा जहाज अवतरण गराउन थप अर्को कोर्ष पूरा गरिराख्नु पर्दैन । तर, काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भने यो प्रणाली जडान छैन । सोहीकारण यहाँ पछिल्ला प्रविधिमा अभ्यस्त पाइलटले मात्र जहाज उडान/अवतरण गर्न सक्छन् ।

आइएलएस जडान भएका विमानस्थलमा पुराना जहाजहरुले समेत सजिलै अवतरण गर्न सक्ने गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डे बताउँछन् ।

के हो आइएलएस प्रणाली ?

यो प्रणाली सञ्चालनमा आएसँगै निश्चित उचाइ कायम गरी आएको जहाज अवतरणका लागि आउँदै गर्दा धावनमार्गको केन्द्रविन्दुबाट सिधा छ वा फरक दिशामा छ भन्ने इण्डिकेटरमै देखिन्छ ।

जहाज डिसेन्ट (तल झर्दा) कुन विन्दुबाट सुरु गर्ने भन्ने जनाउ जहाजले दिन थाल्छ । जहाजलाई धावनमार्गको बिचमा रहने सिधा रेखामा अवतरण गराइन्छ । त्यस दौरान जहाजको डिसेन्ट एङ्गल ३ डिग्रीको कोणमा हुनुपर्छ ।

जहाज धावनमार्गको नजिक आउँदै गर्दा जमिनबाट कति उचाइमा छ भन्ने जानकारी समेत यो प्रणालीबाट जानकारी हुन्छ । यस अवस्थामा कम दृष्य (भिजिविलिटी)भएको बेलामा समेत पाइलटले धावनमार्गमा जहाज सजिलै अवतरण गराउन सक्छन् ।

महाप्रवन्धक पाण्डेका अनुसार जब मौसमी अवस्था सामान्य छ, आकासमा धेरै जहाजको मुभमेन्ट छैन, त्यस्तो बेला जुन सिधा रेखामा उडान विधि कोरिएको हुन्छ, जहाज सोही रेखामा उड्छ र अवतरण गर्छ । यो प्रणाली जडान भएपछि ८ सयदेखि १२ सय मिटरको भिजिविलिटी भएमा जहाज अवतरण गर्न सक्छन् ।

तर, सधैभरी उस्तै अवस्था रहँदैन । कारणवश जहाजलाई तोकिएको विधिभन्दा दायाँ/बायाँ, तल/माथि लगेर पनि अवतरण गराउनु पर्ने हुनसन्छ । सोहीकारण जहाज ल्याण्डिङलाई सुरक्षित बनाउन ‘सुरक्षित उडान क्षेत्र’ घोषणा गर्ने प्रचलन छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा यसरी सुरक्षित उडान क्षेत्र घोषणा गर्दा १ देखि ३ किलोमिटरको त्रिकोणात्मक भूमि भारतीय क्षेत्र पर्ने पाण्डेले बताए । सोहीकारण नेपालले भारतसँग सो भूमिलाई हवाई क्षेत्र घोषणाका लागि सहमति गर्नु परेको हो । ‘नेपालभित्र उडान क्षेत्र भित्र के के संरचना बनाउने, के नबनाउने भन्ने विषय हाम्रो कानूनी अधिकारको विषय भयो, उनले भने, ‘भारतीय भूमिमा हामीले त्यो गर्न सक्दैनौं, त्यसकारण भारतसँग यस्तो सम्झौता गर्नुपर्छ ।’

उडान क्षेत्र घोषणा भएका भूमिमा तोकिएको उचाइभन्दा अग्ला संरचना निर्माण गर्न पाइदैन । अहिले भैरहवा क्षेत्रभित्र रहेको अर्घाखाँची सिमेन्टको चिम्नी नेपाली उडान क्षेत्र भित्रको एक अवरोध हो ।

अहिले कसरी भइरहेको छ उडान ?

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सिस्टम जडानमा छैन । तर, जहाजहरु नियमित, निर्वाध, सहजै उडान/अवतरण भइरहेका छन् । सोही प्रकारले भैरहवामा समेत जहाजहरु नियमित उडान/अवतरण भइरहेका छन् ।

यसरी जहाजहरु सहजै अवतरण गराउन जहाज भित्र जडान भएको ‘रिक्वायर्ड नेभिगेशन पर्फमेन्स (आरएनपी) सिस्टमले भूमिका खेलेको पाण्डेले बताए । ‘यो सुरक्षित अवतरणको लेटेस्ट प्रविधि हो,’ उनले भने, ‘सन् २००७ यता बनेका जहाज सबैजसोमा यो प्रणाली जडान गरिएको छ ।’ यसको भू-उपग्रह (स्याटालाइट)मा आधारित छ ।

नेपालभित्र उड्ने आन्तरिक उडानका एटीआर, ड्यास ८०० देखि अन्तर्राष्ट्रिय उडानका एयरबस जहाजहरुमा यो सिस्टम जडान छ । सोही प्रणालीका कारण आइएलएस सिस्टम जडान नभए पनि चन्द्रगढीदेखि धनगढीसम्म रात्रिकालीन उडान सम्भव भएको उनले जानकारी दिए ।

भैरहवामा अहिले जेट स्ट्रीम जहाजहरु तुलनात्मक रुपमा बढी भिजिविलिटीमा अवतरण गर्न सक्छन् । यसो हुनुमा यी जहाजमा आरएनपी सिस्टम जडान नहुनु हो ।

आइएलएस प्रणाली जडान भएपछि यी जहाज समेत कम भिजिविलिटीमा अवतरण गर्न सक्छन् । आरएनपी प्रणालीमा मात्र उडान गर्ने हो भने सबै एयरलाइन्सले आफ्नो जहाजमा यो प्रणाली राख्नु मात्र होइन, पाइलटलाई अतिरिक्त तालिम दिएर सोका लागि अभ्यस्त पनि बनाउनु पर्छ ।

आइएलएस जडान भएका दुई विमानस्थल भैरहवा र पोखरा

नेपालमा आइएलएस प्रणाली भएका दुई वटा विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मात्र हुन् । पोखरामा यसको सञ्चालनमा कुनै अवरोध छैन ।

भैरहवामा भने भारतीय भूमि नजिक भएका कारण द्विपक्षीय सम्झौता गर्नु परेको हो । सोहीकारण भारतसँग प्रधानमन्त्री स्तरमा सहमति भएपनि सम्झौता कार्यान्वयनमा भने समय लाग्छ । किनकि भारतले हवाई क्षेत्र तोकिने सीमा क्षेत्रमा आफ्नो कानून अनुसार प्रक्रिया पूरा गर्नुपर्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?