+
+

अक्करे भीरमा मह शिकार (तस्वीरसहित)

विकास रोकामगर विकास रोकामगर
२०८० जेठ २९ गते २१:२२

२९ जेठ, पोखरा । अक्करे काप्रेभीरको सिरानमा उक्लनुपूर्व उमानाथ गौतमले फेदमा बसेर पूजा गरे । आफू भीरमा उक्लन लागेको र कुनै दुःख–कष्ट नदिन पुकारे । गौतमलाई उनीसँगै गएका अन्य पाका उमेरका साथीहरुले साथ दिए ।

पूजास्थलमा चोयाको नमूना भर्‍याङ (स्थानीय पर्‍याङ भन्छन्), डालो, टाँगा बनाएर भेडाको बलि दिइयो । काँचो स्याउला र दाउरा बालियो, जसले रनवनै ढाकिने गरी धुवाँको मुस्लो उड्न थाल्यो । त्यसपछि ६६ वर्षीय गौतम साथीहरुसँगै काप्रेभीरको उकालो उक्लिए ।

आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ को काप्रेभीरमा भीर मौरीको मह निकाल्दाको दृश्य हो । गौतमले यसरी कहालीलाग्दो अक्करे भीरमा डोरीमा झुण्डिंदै भीर मौरीको मह शिकार गर्न थालेको ३५ वर्षभन्दा बढी भइसकेको छ । अझै पनि युवा जोशमा गीत गुन्गुनाउँदै मह काढ्न छाडेका छैनन् ।

पहिले चोया, बाबियोकै भर्‍याङ प्रयोग गरिने भए पनि अहिले प्लास्टिकको डोरी प्रयोग गर्न थालेको गौतम सुनाउँछन् । ‘पहिलेपहिले चोयाकै डोरी बनाउँथ्यौं । हातैभरि काट्थ्यो । पछिमात्रै हो यो डोरी किनेको’ गौतम भन्छन्, ‘सबै सामान, आफैं किनेको हुँ । ४०/५० हजार रुपैयाँ लगाएर किनेको, अहिले सजिलो भएको छ ।’

गौतमले भीर मौरीको मह काढ्न एक पटकको ३५ हजार रुपैयाँसम्म लिने गरेको सुनाउँछन् । उनी मह काढ्न भीरमा चढ्दा परिवारका सदस्य डराउँछन् । ‘नजा, अब छोड्दे भन्छन्’ गौतम भन्छन्, ‘छोरालाई त सँगै लिएर हिंडिराखेको छु ।’

तर, अब विस्तारै यो जिम्मेवारी आफ्नो छोराको काँधमा सुम्पिने मनस्थितिमा छन् गौतम । उनका छोरा ३५ वर्षीय चिमलाल गौतम पनि बाबुसँगै पहरा उक्लिन थालेको ९ वर्ष भइसक्यो । उमानाथ भन्छन्, ‘मैले बुवाहरुबाट सिकें । मैले पनि छोराले सिकोस् भनेर आफूसँग लिएर हिंड्ने गरेको छु ।’

छोरा चिमलाल गौतम बाजे र बुवाकै पछिपछि लाग्दालाग्दा आफूले पनि भीर मौरीको मह काढ्न सिकिसकेको सुनाउँछन् । ‘भीर मौरी काढेको थाहा पाएको ९ वर्षकै उमेरदेखि हो । मेरै बाबाले निकाल्नुहुन्थ्यो । अहिले उहाँ अलि बुढो हुनुभो, छोड्ने भन्नुहुन्छ’ उनले भने, ‘दुई वर्ष भयो, आफैं आउन थालेको छु ।’

काप्रेभीरमा पहिले ९/१० घार मात्रै मौरी हुन्थे । तर, यस वर्ष बढेर १८ घार पुगेको छ । काप्रेभीरमा मह निकाल्ने लामो इतिहास भए पनि अघिल्ला वर्षहरुमा मह काढ्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अनुमति लिनुपर्दथ्यो । तर, यस वर्षदेखि गाउँपालिकाले नै स्वीकृति दिएको हो ।

पोखरादेखि करिब २५ किलोमिटर टाढा भीर मौरी चाका (घार) हेर्न पाइने भएकाले पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले नै सुरुवात गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्री बताउँछन् । भीर मौरीलाई पर्यटनसँग जोडेर पालिकाको आम्दानीमा जोड्न आफू लागिरहेको उनको भनाइ छ ।

‘यो एकदम एड्भेन्चर काम पनि हो । जोखिम पनि उत्तिकै छ । यो एउटा हाम्रो परम्परा पनि हो’, क्षेत्री भन्छन्, ‘मर्दी हिमाल रुटमै पर्ने भएकाले यसलाई राष्ट्रियस्तरमै चिनाउन पनि पालिकाले अगुवाइ गरेको हो ।’

हेर्नुहोस् थप तस्वीरहरु

  

 

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?