+
+
घोषणामै सीमित विकास :

चक्रपथबाहिर कहिले पुग्छ मेलम्चीको पानी ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ २९ गते १९:०१
फाइल तस्वीर

२९ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममै काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन थाल्ने घोषणा गरेको थियो । खानेपानी अभावको समस्याले ग्रस्त भएका स्थानीयहरु यस्तो घोषणा उत्साहित भए पनि काम सुरु भएन ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटले त झन् पाइप बिछ्याइने क्षेत्रहरु नै तोकेर मेलम्चीको वितरण सञ्जाल विस्तारको योजना दोहोर्‍याएको छ । ‘दोस्रो चरणअन्तर्गत कीर्तिपुर, भक्तपुर, ठिमी, जोरपाटी, टोखा, कपन र पेप्सीकोला क्षेत्रमा पाइपलाइन निर्माण कार्य सुरु गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ ।

के यसपटक सरकारको घोषणा अनुसार काम सुरु हुन्छ त ? यसबारे अधिकारीहरु आफैं विश्वस्त छैनन् । सरकारले थप क्षेत्रमा पाइपलाइन विस्तारका लागि अहिलेसम्म स्रोतको टुंगो लगाउन सकेको छैन । यसका कारण आगामी वर्षमा यी कामका लागि ठेक्का प्रक्रिया टुंगो लागेर काम हुने/नहुने निश्चित छैन ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रमुख राजेन्द्र सापकोटा एशियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच यो परियोजनामा लागि गर्नेबारे सम्झौता भएमा वा पछि सम्झौता गर्ने गरी एडीबीसँग एड्भान्स कन्ट्रयाक्टिङ भएमा आगामी आर्थिक वर्षको सुरुवातमै ठेक्का लगाउन सकिने अवस्था छ ।

‘चक्रपथबाहिर बजेटले भनेका क्षेत्रमा पाइप बिछ्याउन वितरण सञ्जालको डिजाइन तयार छ, त्यसका आधारमा ठेक्का लगाउन हामी तयार छौं,’ उनले भने, ‘एशियाली विकास बैंकमार्फत यो परियोजनामा ऋण लगानी गर्ने कुरा छ, अर्थ मन्त्रालयले आवश्यक समझदारी गरेर स्रोत सुनिश्चित गर्नासाथ ठेकेदार छनोटको प्रक्रिया थाल्छौ ।’

उनका अनुसार चक्रपथभित्र एडीबीकै सहयोगमा अधिकांश रिङ्‍गरोडमित्र र त्यसको आसपासको क्षेत्रमा १ हजार १० किलोमिटर पाइपलाइन बिछ्याउने काम यसअघि नै सकिएको छ । र, सरकारले चक्रपथभित्र नै आफ्नै स्रोतबाट खर्च गर्ने गरी ७६५ किलोमिटर पाइपलाइन बिछ्याउन काम गरिरहेको छ । कलंकी, स्वयम्भु महाजगञ्ज, बालुवाटार क्षेत्रमा ५८० किलोमिटर पाइपलाइन बिछ्याइसकेको छ भने बाँकी काम आगामी एक वर्ष भित्र सक्ने लक्ष्य छ ।

‘चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण गर्ने पाइपलाइन विस्तारको माग उच्च छ,’ निर्देशक सापकोटाले भने,‘हामीले दोस्रो चरणमा कसरी काम गर्ने भनेर सबै तयारी सकाएका छौं ।’

दोस्रो चरणको पाइपलाइन विस्तारका लागि लागि पीआईडीले १८ देखि २० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरेको छ । दुई चरणको पाइपलाइन विस्तारमा छुटेका क्षेत्रहरुलाई समेटेर तेस्रो चरणमा पाइपलाइन विस्तार गर्न डिजाइनको काम पनि भइरहेको छ । तर, दोस्रो चरण्को आयोजना नै अनिश्चित रहेको तेस्रो चरण्को आयोजना पनि अनिश्चयको भुमरीमै छ ।

‘करिब ५० अर्ब रुपैयाँको स्रोत जुट्यो भने उपत्यकाका धेरै क्षेत्रमा मेलम्चीको पाइपलाइन विस्तार हुन्छ,’ निर्देशक सापकोटा भन्छन्, ‘यो पाइपलाइनले मेलम्चीको मात्रै हैन, सरकारले भविष्यमा अन्य खोलाहरुबाट पानी ल्याउन अघि बढाउन खोजेका आयोजनाको पानी समेत वितरण गन सकिनेछ ।’

सरकारले आयोजनाको दोस्रो चरणअन्तर्गत मेलम्चीमा यांग्री र लार्के जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाउने बताएको छ । यसमार्फत मेलम्चीको सुरुङ भएर सिन्धुपाल्चोकबाट थप ३४ करोड लिटर पानी काठमाडौं ल्याइने छ । सरकारले यांग्री र लार्केको पानी ल्याउन संरचना नबनिन्जेल हिउँदमा मेलम्चीको विम्मान सुरुङबाटै मेलम्ची खोलाबाट ५१ करोड लिटर पानी ल्याउन सकिने निष्कर्ष निकालेको छ । त्यसकै आधारमा एडीबीको सहयोगमा सुन्दरीजलमा अर्को पानी प्रशोधन केन्द्र स्थापना गर्ने योजना समेत बताएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्व तयारीका काम सम्पन्न गर्ने घोषणा पनि आगामी वर्षको बजेटले गरेको छ ।

यस्ता आयोजनाहरुबाट ल्याएको पानीको लाभ सबै क्षेत्रलाई दिनुपर्ने अवस्था रहेको भन्दै पीईडीका निर्देशक सापकोटाले अधिकांश पानी पोखरी (रिजर्भ्वायर)हरु पनि चक्रपथबहिर नै बनेकाले सो क्षेत्रलाई लाभ दिनुपर्ने अवस्था रहेको बताए ।

निर्देशक सापकोटाका अनुसार परियोजनाले मेलम्चीको पानी आएपछि पुरानो प्रणालीले नथेग्ने निष्कर्ष निकालेर २५ अर्ब रुपैयाँ नयाँ प्रणाली र पूर्वाधारको विकासमा खर्चिएको छ । ७७ किलोमिटरको ‘बल्क लाइन’ (ठूलो पाइपको लाइन)सहित ७४ हजार घनमिटर बराबरका ११ वटा ट्यांकीसहित १ हजार ५ सय किलोमिटरभन्दा बढी वितरणलाइन तयार छ । बालाजुमा २ वटा सहित कीर्तिपुर र आरुबारीमा पनि थप पोखरीहरु बनाइँदै छ ।

चक्रपथ बाहिर पनि मेलम्चीको पानी पुर्‍याउन गृहकार्य त भइरहेको छ, तर त्यसका लागि कहिलेसम्म पाइपलायन बिछ्याउन सुरु हुन्छ भन्ने समेत टुंगो छैन । पाइप बिछ्याएपछि पनि पाइपमा पानी पठाएर परीक्षण गर्दै वितरण गर्न लामो समय लाग्छ । आयोजना अनिश्चित भएकै कारण चक्रपथबाहिर मेलम्चीको पानी बाँड्ने योजनाको ‘टाइमलाइन’ सरकारसँग पनि छैन ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु भएकौ बेलादेखि नयाँ वितरण सञ्जाल बनाउने काम सुरु भएको थियो । तर, गतिका साथ काम नहुँदा यो परियोजनाले अझै विश्राम पाएको छैन । तयार भइसकेको वितरणलाइन पनि सरकारले केयूकेएलको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेको छैन ।

अझ उपत्यकाको ठूलो क्षेत्रमा त मेलम्चीको पानी बाँड्ने गरी नयाँ वितरणलाइन नै तयार भएको छैन । त्यसैकारण विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरु मेलम्चीको पानी खुवाउने प्रबन्ध गर्न माग गर्दै पीआईडीको कार्यालयमा पुग्ने गरेका छन् ।

दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं झरिरहेको छ । त्यसबोहक केयूकेएलले करिब १० करोड लिटरभन्दा बढी पानी पुराना विभिन्न स्रोतबाट वितरण गरिरहेको छ । दैनिक झण्डै ३० करोड लिटर पानी वितरण गर्न सक्ने क्षमता हुँदा पनि काठमाडौंमा पानीको हाहाकार छ ।

अझै पानी नआउने समस्या चक्रपथबाहिरका क्षेत्रमा विकराल छ । ‘हामीलाई चक्रपथबाहरिकका नगरका स्थानीय र जनप्रतिनिधिबाट मेलम्चीको पानी खुवाउने गरी प्रबन्ध गर्न ठूलो दबाब छ,’ निर्देशक सापकोटा भन्छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?