+
+

नारायणगढ-मुग्लिन सडकमा थप ३ पुल तयार, दसैंसम्म अरु १० वटा बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते ११:२३

३० जेठ, चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा थप ३ वटा पुल तयार भएका छन् ।

सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र लामो बालुवाका तीन पुल तयार भएका छन् ।

असार मसान्तभित्र तीनवटै पुलबाट सवारी साधानहरु गुड्न थाल्ने कार्कीले बताए । अहिले सेतीदोभानको पुलको कालोपत्रे गर्ने, रेलिङ र फुटपाथको काम सकिएको छ । रंगरोगनको काम जारी छ ।

यस्तैं, डुम्रे र लामो बालुवाको पुलको दायाँबायाँको बेसको काम सकेर कालोपत्रे गर्ने अन्तिम तयारीमा छ । केहीदिन भित्रै कालोपत्रे हुने आयोजना प्रमुख कार्कीले जानकारी दिए ।

यो सडकखण्डमा बनाइने १९ पुलमध्ये हालसम्म ४ पुल बनेर सञ्चालनमा आइसकेका छन् भने बाँकी तीन पुल सञ्चालनको तयारी छ । बाँकी १२ पुल मध्ये ११ वटाको निर्माण धमाधम भैरहेको छ । एउटा पुलको काम सुरू हुन बाँकी छ ।

१० वटा पुलको पनि ढलानको काम सकिएकोले दसैंभन्दा अगाडि नैसञ्चालन गर्ने तयारीका साथ काम भैरहेको आयोजना प्रमुख कार्कीले बताए ।

मुग्लिनबाट नारायणगढतर्फ आउने खहरे खोला पुलमा दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्कको तयारी गरिएको छ । अहिलेको पुलभन्दा तल्लो भागमा बन्ने पुलको नारायणतर्फको मुखमा रहेका घर टहरा हटाउने मुअब्जाको काम नसकिंदा ढिलाइ भएको आयोजना प्रमुख कार्कीको भनाइ छ ।

सडकखण्डमा पुल आसपास बसोवास गरेकाहरुलाई मुअब्जा दिएर मात्रै हटाउनुपर्ने प्रावधान रहेका कारणले केही ढिलाइ भएको हो ।

आयोजनाले ९७ लाख रुपैयाँ सरकारसँग मुअब्जा वापतको रकम माग गरेकोमा ५० लाखको किस्ता आएर रकम बाँडिएको छ ।

एक घर टहराको ४० हजारदेखि १५ लाखसम्म मुअब्जा वितरण गर्नुपर्नेमा पहिलो किस्तावापत ४० प्रतिशत रकम दिइएको बताए । खण्डका २६ घरटहरा हटाउनुपर्ने छन् ।

खहरेमा ३ वटा घर टहरा भत्काएर काम गर्न थालिएको र बाँकी घर टहरा हटाउने काम पनि जारी रहेको बताए ।

सबैभन्दा समस्या तुइन खोलाको पुलको भएको छ । सो खोलाको मुग्लिनतर्फको भागमा रहेको ठुलो ढुंगा कटिङ गरेर फाल्न खोज्दा नसकिए पछि विस्फोट गर्नुपर्ने निष्र्कष निकालेर आयोजनाले विस्फोट पदार्थ खरिदका लागि नेपाली सेनामार्फत भारतीय दूतावासमा फाइल लगेको छ ।

विस्फोटक पदार्थ ल्याउँन जति ढिला हुन्छ पुलको काम त्यति नै लम्बिने आयोजना प्रमुख कार्कीले बताए ।

आयोजनाले झण्डैं ३ महिना दैनिक ४ घण्टा सवारी रोकेर पहाड काट्ने काम गरेपनि तुइन खोलाको मुग्लिनतर्फको भाग भने क्लियर गर्न सकेन ।

नारायणतर्फको भागको कटिङ भने सकिएको छ । १५ बटैं पुल निर्माणको ठेक्का पाएको अनक कन्स्ट्रक्सनले २०८० सालको पुस मसान्तसम्ममा सबै पुल बनाइसक्नुपर्छ ।

विसं २०७६ को चैतमा एक अर्ब २७ करोडको लागतमा १५ पुल बनाउने ठेक्का पाएको अनकको म्याद एक बर्ष थप गरिएको थियो ।

नारायणगढ-मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज-१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज-२ बनाएर काम अघि बढाएको हो ।

प्याकेज-१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज-२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् ।

प्याकेज-१ मा मुग्लिनबाट यताका खहरे, चिसेञ्जी, तुइन, काली, टोपे, न्याम्सी र रिग्दीखोला गरी सात पुल छन् ।

प्याकेज-२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।

प्याकेज-१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज-२ का पुल ५९ करोड ५ लाख ५९ हजार रुपैयाँ लागत रहेको छ ।

यो सडकखण्डमा २५ देखि ७५ मिटर लामा पुलहरू बनिरहेका छन् । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटर बन्दैछन् ।

दैनिक १० हजार हाराहारी सवारी आवतजावत गर्ने अनुमान गरिएको यो सडकखण्डलाई विश्वबैंकको अनुदान सहयोगमा ९ मिटरदेखि ११ मिटरसम्म सडक फराकिलो बनाउने काम ४ बर्ष अगाडि सम्पन्न गरिएको थियो । सडक फराकिलो भएको तर पुल साँघुरो र जीर्ण भएकोले नयाँ पुल बनाउने काम अगाडि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?