+
+

प्रेमराजा महतले बर्सेनि कुनै एक पर्यटकीय थलोबारे गीत बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते ११:३२

काठमाडौं । गायक प्रेमराजा महतले संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने बताएका छन् । मुलुकका विभिन्न पर्यटकीय थलोमा गीतको छायांकन गरेर यसबारे देशविदेशमा प्रचार गर्ने उनको योजना छ । यही योजनाअनुसार उनले केही दिनअघि ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत रिलिज गरे ।

गीतको छायांकन पनि नेपाली भाषाको उत्पत्ति थलो मानिने कर्णालीको जुम्लामा गरिएको छ । आफ्नै संगीतमा ल्याएको गीतमा उनी मोडल रीना थापामगरसँग फिचर्ड छन् । २८ वर्षअघि लेखेर राखेको यो गीतलाई बल्ल मात्र उनले गीतको स्वरुप दिएका हुन् । २० वर्षअघि नै एरेन्ज गरेको भए पनि गीत तयार पार्न ढिलाइ भएको उनको भनाइ छ ।

‘गीतको भिडियो काठमाडौं, तनहुँ, पोखरामा गरेर हुने थिएन । कर्णाली अञ्चल, कर्णाली नदीको र जुम्ला–हुम्लाको सेरोफेरोमा सुटिङ गर्ने इच्छा थियो,’ उनले भने, ‘अहिले त्यो माहोल मिलाएर जुम्ला पुगेर छायांकन गरे । सानो टिम लगेर सुटिङ गरिएको थियो ।’ जुन ठाउँका लागि सोचेर गीत लेखियो, त्यहीं छायांकन गर्दा आनन्द आएको उनले बताए ।

सुटिङ गरिएकै ठाउँका मानिस यसलाई लिएर हर्षित रहेको उनको भनाइ छ । डेढ वर्षअघि उनले ल्याएको ‘बन्दिपुरैमा’ समेत चर्चित भएको थियो । बर्सेनि भिन्न ठाउँमा आधारित रहेर गीत ल्याउने उनको योजना छ । ‘अघिल्लो वर्ष बन्दीपुरलाई प्रवद्र्धन गरेर गीत ल्याएँ । यसपटक जुम्लाको ल्याएको छु । आउने वर्ष धनकुटा र त्यसपछि मुस्ताङको ल्याउने योजनामा छु,’ उनले भने ।

अमेरिका र नेपाल आउजाउ गरिरहने गायक महत पछिल्लो समय नेपालमा सक्रिय छन् । उनी पछिल्लोपटक हिमालय टिभी एचडीको कार्यक्रम ‘हिमालय लोकस्टार’को सिजन २ को फिनालेमा अतिथि जजको रुपमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?