+
+

विदेश घुम्ने नेपालीबीच लोकप्रिय थाइल्याण्ड, ४ महिनामा ९ हजार पुगे

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ ३० गते १९:४५

३० जेठ, काठमाडौं । ‘आउटबाउण्ड टुरिजम (विदेश भ्रमण)’मा नेपालीहरुबीच लोकप्रिय मानिने गन्तव्य थाइल्याण्डको भ्रमणमा जाने नेपालीको संख्या बढ्न थालेको छ । थाइल्याण्डको पर्यटन तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार सन् २०२३ को पहिलो चार महिनामा मात्र ८ हजार ९८८ जना नेपाली नागरिक थाइल्याण्डको भ्रमणमा पुगेका छन् ।

कोभिड–१९ पछि लागेका प्रतिबन्धहरु हट्दै जानु, सिधा हवाई सम्पर्कको पहुँच र तुलनात्मक रुपमा सहज र सस्तो भ्रमण प्याकेजका कारण थाइल्याण्ड जाने नेपालीको संख्या बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन व्यवसायी राजेन्द्र सापकोटा थाइल्याण्ड नेपाली मात्र नभई विश्वभरका यात्रीबीच लोकप्रिय गन्तव्य रहेको बताउँछन् । तथ्यांकले समेत सोही देखाउँछ ।
पछिल्लो चार महिनामा मात्र ८० लाख भन्दा बढी विदेशी नागरिकले यो मुलुक भ्रमण गरेका छन् । जसमा नेपालीको संख्या ९ हजार छ । सन् २०२३ को जनवरीमा १९५७ जना नेपाली थाइल्याण्ड भ्रमणमा पुगेका थिए । फेब्रुअरीमा यो संख्या २४०३ पुगेको छ । मार्चमा २२४१ जना नेपाली यो मुलुकको भ्रमणमा पुगेका छन् । अप्रिल २३८७ नेपालीले थाइल्याण्ड भ्रमण गरेका छन् ।

सहजै भिसा लाग्नु, विदेश भ्रमणको अनुभूति

६ महिनाको बैंक स्टेटमेन्ट, १ लाख रुपैयाँ बैंक ब्यालेन्स र फोटो भयो भने जोसुकैले थाइल्याण्डको भिसा प्राप्त गर्छन् । सोहीकारण नेपालीहरुको भ्रमणका लागि थाइल्याण्ड सहज गन्तव्य रहेको व्यवसायी सापकोटा बताउँछन् ।

‘थाइल्याण्ड पर्यटनलाई मुख्य उद्योग बनाएको मुलुक हो,’ उनी भन्छन्, ‘सोहीकारण उसले संसारका सबै खालका पर्यटकलाई खुला स्वागत गर्छ ।’ सोही अनुसार थाइल्याण्डले लगानी समेत गरेको उनले बताए ।

आकर्षक पूर्वाधार, विश्वप्रसिद्ध समुन्द्री तट, रात्रिकालीन रमझम, खाना र सपिङका कारण समेत यो मुलुक नेपालीबीच लोकप्रिय रहेको उनले बताए । ‘भारत जाँदा नेपालीलाई विदेश गएको अनुभूति हुँदैन, किनकि पासपोर्टमा भिसा लगाउनु पर्दैन,’ उनी भन्छन्, ‘उत्तिकै खर्चमा भिसा लगाएर जान सकिने भएकाले थाइल्याण्ड रोज्ने धेरै नेपाली छन् ।’ अर्कोतर्फ थाइल्याण्ड, मलेसियाजस्ता सहजै भिसा पाइने मुलुकमा भ्रमण भिसामा आउजाउ गर्दा युरोप–अमेरिकाको भिसा लगाउन सहज हुने भएकाले समेत कतिपय नेपाली खर्च गरेरै यी मुलुक पुग्ने गरेको समेत व्यवसायीको भनाइ छ ।

नेपालबाट अहिले व्यवसायीहरुले औसत १ लाख रुपैयाँ प्रतिव्यक्ति हाराहारीमा कम्तीमा ७ साताका लागि प्याकेजहरु बिक्री गरिरहेका छन् । नेपाल र थाइल्याण्डलाई नेपाल एयरलाइन्स र थाइ स्माइलले सिधा हवाई सम्पर्कमा समेत जोडेका छन् । यसले समेत विदेश यात्रामा जाने नेपालीबीच थाइल्याण्ड लोकप्रिय गन्तव्य बनेको व्यवसायी सापकोटा बताउँछन् । पछिल्लो समय कर्पोरेट हाउसहरुले समेत रिफ्रेसमेन्टका रुपमा आफ्ना कर्मचारीलाई यस्तो मुलुकमा प्याकेज खरिद गरी घुमफिरमा पठाउने गर्छन् ।

थाइल्याण्डबाट कति आए पर्यटक ?

थाइल्याण्ड बौद्धमार्गी बाहुल्य भएको मुलुक हो । नेपाल गौतमबुद्धको जन्म भूमि भएपनि यो मुलुकबाट उत्साहजनक रुपमा पर्यटक भित्राउन भने नेपाल असफल हुँदै आएको छ । पछिल्लो समय भैरहवामै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । तर, यो विमानस्थलको मार्केटिङ हुन नसक्दा थाइल्याण्ड पर्यटकबाट नेपालले लाभ लिन सकेको छैन ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार चार महिनामा १३ हनार १५२ जना थाइ पर्यटक नेपाल आएका छन् । जनवरीमा २४१९ थाइ पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा यो संख्या ४८०२ पुगेको थियो । मार्चमा ३८२९ आएकोमा अप्रिलमा २१०२ जना थाइ नागरिकले नेपाल भ्रमण गरेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?