+
+

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा पेरोलमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १३:२३

६ फागुन, काठमाडौं । भ्रष्टाचार र सत्ता दुरुपयोगमा दोषी ठहरिएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पेरोलमा रिहा भएका छन् । ७४ वर्षीय सिनावात्रा रिहा भएपछि बैंककस्थित आफ्नो घर पुगेको बीबीसीले जनाएको छ ।

उनी गत वर्ष अगष्टमा १५ वर्षको निर्वासनबाट थाइल्याण्ड फर्किएका थिए । लगत्तै उनलाई हिरासतमा राखिएको थियो । अदालतले उनलाई आठ वर्षको जेल सजायँ सुनाए पनि त्यहाँका राजाले त्यसलाई घटाएर एक वर्ष कायम गरिदिएका थिए ।

जेल सजायँ सुनाइए पनि स्वास्थ्य समस्याका कारण उनी एक दिन पनि जेलमा थुनिनु परेन । उनी अस्पतालमा भर्ना थिए । त्यहीँबाट उनी पेरोलमा रिहा भएको बीबीसीले जनाएको छ ।

पेरोल के हो ?

पेरोल भनेको कुनै कैदीलाई सर्तको पालना गर्दै समाजमा फर्किन र परिवार तथा साथीभाइसँग मिलजुल गर्न दिइएको विशेषाधिकार हो । यसलाई अस्थायी रिहाइ पनि भनिन्छ ।

पेरोल कैदीको अधिकार होइन । यसमा कैदीको रिहाइ सशर्त हुन्छ । यो आमरुपमा कैदीको व्यवहारमा निर्भर हुन्छ । सामान्यतया राम्रो व्यवहार र चालचलन भएका कैदीलाई सजाय समाप्तिको केही समय अगाडि समाजमा घुलमिल गर्न, परिवार र साथीभाइसँग भेटघाट गर्न दिइन्छ ।

जस्तै परिवारमा कसैको मृत्यु भयो वा नजिकको नातेदारको बिहे छ भने त्यसमा सहभागी हुन दिइन्छ । तर सम्बन्धित अधिकारी त्यो कुरामा सहमत भएमा मात्र कैदीले त्यो छुट पाउँछन् । उनीहरुको गतिविधिप्रति निरन्तर निगरानी भने भइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?