+
+
नक्कली शरणार्थी प्रकरण :

रिजालका वकिलको जिकिर : सरकारी सिदाबाट जीवन चलाउनेले कसरी चलखेल गर्नू ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १५:१८

३२ जेठ, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालका वकिलहरुले ठगी कार्यमा उनको संलग्नता नभएको दाबी गरेका छन्।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेकाे एकल इजलासमा भएको बहसका क्रममा अधिवक्ता रामकुमार सुवालले रिजालले नेताहरुलाई भेटेको स्वीकार गरे। तर ठगीमा उनको संलग्नता नभएको जिकिर गर्दै उनले भने, ‘मेरो पक्षले नेताहरुलाई पटकपटक भेटेको साँचो हो, त्यो भेटघाट भुटानी शरणार्थी समस्या समाधानका लागि हो।’

‘सिंहदरबारभित्र पस्ने हैसियत समेत नभएका उनले कसरी किर्ते कागजात बनाउनु ?’ उनले अघि भने।

यो प्रकरणमा पैसा उठाउनेहरुले रिजालको नाम मुछेको भन्दै उनले गृहमन्त्रालयमा पेश भएको शरणार्थीसम्बन्धी प्रतिवेदनमा प्रश्न उठाए। उनले अघि भने, ‘दुवै प्रतिवेदनमा कार्यदलका पदाधिकारीहरुको हस्ताक्षर भएपछि त्यो प्रतिवेदन कसरी किर्ते भयो ?’

अधिवक्ता डा.राजेन्द्र घिमिरेले भुटानी नागरिकलाई तेस्रो मुलुकमा व्यवस्थापन होइन, भुटान फिर्ती हुनुपर्छ भनेर वकालत गरेको व्यक्तिलाई सरकारले नेपालीलाई भुटानी बनाउन खोजिस् भनेर अभियोग लगाएको बताए।

भुटानमा रहँदा यातनाका कारण रिजालमा शारीरिक तथा मानसिक समस्या देखिएको भन्दै उनले उनमा बारम्बार होस गुम्ने र फेरि आउने समस्या देखिएको बताए। ‘यातनाका कारण उहाँमा दीर्घकालीन असर देखिएको छ’ उनले भने, ‘नेपाल सरकारले सिदा दिएर जीवनयापन गरेको मान्छेले कहाँबाट स्वकीय सचिव राख्नु र उनीमार्फत चलखेल गर्नु ?’

अधिवक्ता डोरविक्रम थापाले गृहका कर्मचारीहरुले रिजालको नाम नपोलेको, किटानी जाहेरी पनि नपरेको अवस्थामा उनीविरुद्ध मुद्दा चलाउनु गलत भएको बताए।

बहसका क्रममा उनले अघि भने, ‘उहाँको अन्तिम इच्छा भुटान फर्कने हो। अहिले इजलासबाट न्याय भयो भने बाहिर बसेर यो मुद्दा लडौंला भन्ने उहाँको इच्छा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?