+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

इजलासमा टेकनाथको आक्रोश : ‘म चोरहरूका कारण फसें’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १९:४९
फाइल तस्वीर

३२ जेठ, काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले शरणार्थीका नाममा पैसा उठाइरहेको बारेमा आफूले प्रमुख दलका शीर्ष नेताहरुलाई जानकारी गराउँदा समेत बेवास्ता गरिएको भन्दै इजलासको ध्यानाकर्षण गराएका छन् ।

कानुन व्यवसायीहरुले बहस गरेपछि उनले उभिएर काठमाडौं जिल्ला अदालतको इजलासमा आफ्नो भनाइ राखेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई आफूले भेटेर शरणार्थीका नाममा पैसा उठाउने र ठग्ने काम भइरहेको छ है भनेर जानकारी गराएको बताए ।

भेटघाटका क्रममा देउवा लगायतका केही नेताहरुले पैसा उठाएको घटनाबारे आफूलाई पनि सूचना आएको बताएको जानकारी उनले इजलासलाई गराए ।

आक्रोशपूर्ण रुपमा आफ्नो भनाइ राख्दै उनले भने, ‘केही चोरहरुका कारण म फसें ।’

उनले आफूले भुटानको प्रजातन्त्रका लागि संघर्ष गर्दा यातना पाएको र त्यसको असर अहिलेसम्म रहेको बताए । उनले बहसका क्रममा आफूलाई अभियोगमा मुछेकोमा सरकारी वकिलहरुको आलोचना गरे ।

उनले आफ्नो भनाइ लम्ब्याउन थालेपछि इजलासबाट न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भनाई टुंग्याउन ध्यानाकर्षण गराए ।

‘आफ्नो भनाइ राख्ने र बोल्ने ठाउँ इजलास बाहेक अन्य नभएको’ भन्दै उनले भने, ‘यहाँ बाहेक अन्य म कहाँ गएर बोल्नु ?’

उनले भुटानी शरणार्थी समस्या समाधान हुन नसकेको भन्दै आफू लामो समयदेखि त्यसमै पिल्सिरहेको बताए । भुटान फर्किने आफ्नो इच्छा रहेको दोहोर्‍याउँदै उनले नेपालमा बसेर आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?