+
+

खामभाषी मगरहरूले मनाए टुँडिखेलमा भूमे पर्व (तस्वीरहरु )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असार १ गते २१:१५

१ असार, काठमाडौं। खामभाषी मगरहरुले आफ्नो मुख्य चाड भूमे काठमाडौँको टुँडिखेलमा धुमधामका साथ मनाएका छन् ।

भूमि तथा प्रकृतिको पूजा गरिसकेपछि विभिन्न पाँच प्रकारको बाजा बजाएर टुँडिखेलमा मगर समुदायका महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाएका हुन् ।

वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । मगर समुदायको बाहुल्य रहेको रोल्पा, रुकुम दाङलगायतका स्थानहरू पनि भूमे (भुम्या) मनाउने गरिन्छ ।

यसैगरी मुसीकोट समाचारदाता अनुसार बहुसङ्ख्यक मगर समुदाय रहेको रुकुमपूर्वमा भूमे पर्वको रौनक बढेको छ । जिल्लामा रहेको मगर बस्तीहरूलाई यति बेला खाम मगरको सबैभन्दा ठूलो चाड भूमे नाच अर्थात् बल पूजाको उत्साह छ ।

जिल्लाभित्रका सिस्ने गाउँपालिका, पुथा उत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकामा यति बेला भूमे नाच चलिरहेको भूमे गाउँपालिकाका चन्द्र रसाइलीले जानकारी दिनुभयो । हरेक वर्षको जेठ १५ गतेका दिन विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने यो नाच जेठ १५ गतेदेखि असार १ गतेसम्म करिब नियमित नाचिन्छ । स्थानअनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।

भूमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन छ ।

भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नास भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ । भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ताको पनि उत्तिकै आकर्षण छ । उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?