+
+

सबस्टेसन र जेनेरेटर बिग्रिएपछि सरकारी सर्भर डाउन

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असार ५ गते २२:०४
सरकारी सर्भरको फाइल तस्वीर

५ असार, काठमाडौं । मंगलबार साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट नखुलेपछि वेबसाइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेका छन् ।

यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ घण्टा सेवा अबरुद्ध भएपछि विमानस्थल अध्यागमनले यात्रुको जाँचपास सेवा ‘म्यानुअल इन्ट्री’ गरेर गर्न सुरू गरेको छ । विमानस्थल अध्यागमनका प्रुमख रामबाबु सेवेदी बुधबार मात्रै यात्रुको डिटेल अनलाइनमा इन्ट्री गर्ने गरी सेवा दिन थालिएको बताउँछन् । ‘लामो लाइन लागेपछि र यात्रुको फ्लाइट नै छुट्ने भएपछि सर्भर कतिबेला चल्ला भनेर कुरेर नबस्ने निर्णय लियौं,’ उनले भने ।

सरकारी सरकारी वेबसाइटहरु डाउन हुनुको कारण भने उदेकलाग्दो छ । सरकारी डेटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलका अनुसार सोमबार दिउँसोदेखि नै नेपाल विद्युत प्राधिकरणले सरकारी सर्भरका लागि बिजुली आपूर्ति गर्न सकेको छैन । सिंहदरबारस्थित सबस्टेसनमा प्राविधिक समस्या आएपछि सूचना प्रविधि केन्द्रमा लाइन नआएको उनले बताए ।

तर, लाइन नभएपछि केन्द्रले डिजेलबाट चल्ने जेनेरटर चलाएर बिजुलीको व्यवस्था गरेको थियो । तर, साँझसम्म चलिरहेको जेनेरेटर तात्दै गयो र चल्न छाड्यो । योसँगै सरकारको डेटा सेन्टरमै विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएर ‘सर्भर डाउन’ हुन पुगे ।

‘प्राधिकरणले अझैसम्म पनि समस्या समाधान गरेर लाइन दिएको छैन,’ पौडेलले भने,‘करिब एक मेगावाटको बिजुली खपत गर्ने जेनेरेटर घण्टौं चलिरहन सक्दैन, तातेपछि समस्या आएर बन्द भयो ।’

पौडेलका अनुसार विहानदेखि बिजुली आउने-जाने समस्या देखिएको थियो । दिउँसो १२-१ बजेबाट सबस्टेसनबाट बिजुली आपूर्ति बन्द भयो ।जेनेरेटर समेत लामो समय चलाउँदा तातेपछि बन्द गरिएको उनको स्पष्टीकरण छ। प्राधिकरणले विद्युत आपूर्ति फेरि सुरू गर्न समय लगाएको उनको गुनासो छ ।

केन्द्रका अन्य अधिकारीहरुका अनुसार स्तरीय ‘कुलिङ सिस्टम’ नहुँदा जेनेरेटर र तारमा समस्या देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणका वितरण विभाग प्रमुख मनोज सिलवाल सिंहदरबारको सबस्टेसनको २ नम्बर फिडरमा दिउँसो एक्कासी ‘फल्ट’ आउँदा ब्रेकर पड्किएपछि सबस्टेसनमा आगलागी भएको बताउँछन् । त्यसका कारण सिंहदरबारमा लाइन आपूर्ति प्रभावित भएसँगै अन्य कार्यालयका लागि वैकल्पिक माध्यमबाट बिजुली आपूर्ति गरिए पनि सूचना प्रविधि केन्द्रलाई बिजुली दिन नसकिएको उनको भनाइ छ ।

‘केन्द्रले सबस्टेसनको प्यानलबाटै डेडिकेटेड लाइन लिएकाले वैकल्पिक माध्यमबाट लाइन दिन सम्भव भएन,’ उनले भने,‘केन्द्रको जेनेरेटरले साँझसम्म धानेको थियो, अहिले जेनेरेटरको केबलमा समस्या देखिएकाले सर्भर डाउन भयो ।’ केहीबेरमा नै सबस्टेसनमा देखिएको समस्या समाधान गरेर लाइन दिन थालिने उनको भनाइ छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?