+
+

एन्फामा पंकज नेम्वाङको एक वर्ष : बिग्रेका काम सपार्न लागिरहेको छु

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार ७ गते २०:२९

७ असार, बैंगलुरु । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले नेतृत्व सम्हालेको एक वर्षको अवधि सन्तोषजनक रहेको बताए ।

साफ च्याम्पियनसिप फुटबलका लागि भारतको बैंगलुरुमा रहेका उनले पत्रकारहरुसँगको कुराकानीमा आफ्नो मात्र प्रयासले नेपाली फुटबलको विकास गर्न सम्भव नरहेको बताए ।

‘नेपालको फुटबललाई माथि उकास्न एन्फा मात्रै लागेर सम्भव छैन । फुटबलसँग सम्बन्धित क्लबहरु, प्रशिक्षकहरु सबैको सहयोग हुनपर्छ’,  उनले भने, ‘पंकज हुँदासम्म नेपाली फुटबल माथि नजाओस् भनेर हेर्न भएन ।’

उनले फुटबलसँग सरोकार राख्ने सबै पक्ष एकजुट नहुँदा सरकारबाट पाउने सहयोग पनि पाउन नसकिने धारणा राखे । ‘खेलाडी, प्रशिक्षकहरुको मेहनत र क्लबहरुको प्रयासले धानिराखेको देख्छु । हामी एकजुट हुन सकिरहेको छैन । हाम्रो प्रयास एकजुट हो’, नेम्बाङले भने ।

६ असार २०७९ मा भएको निर्वाचनबाट पंकज एन्फा अध्यक्ष बनेका थिए । निर्वाचित भएपछि नेम्वाङले बोलेकै धेरै कुरा गर्न बाँकी छ । तर उनले यो एक वर्षमा नयाँ काम गर्ने भन्दा पनि पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएर बिग्रेका कामहरु सुधार गर्ने प्रयास गरेको दाबी गरे ।

‘हामी बिग्रेको कुराहरु सपार्न लागेका छौं । यी भइराख्ने कामहरु भइराखेकै छन्’, अध्यक्ष नेम्वाङले भने, ‘धेरै त होइन तर हामी अहिलेको नतिजा सहभागिता र कार्यक्रमबाट सन्तुष्ट छौं ।’

अध्यक्ष नेम्वाङले कुनै पनि संस्थामा नेतृत्वमा पुगिसकेपछि मात्रै धेरै कुरा थाहा हुने बताए । ‘संस्थामा अध्यक्ष भइसकेपछि मात्रै सबै कुरा थाहा हुने रहेछ । लामो समय सदस्य र वरिष्ठ उपाध्यक्ष हुँदा पनि थाहा नहुने रहेछ’ उनले भने ।

ढिलै र हतारमा भए पनि शहीद स्मारक ए डिभिजन लिग डबल राउण्ड रोविनमा गर्न सकेकोमा नेम्वाङले खुशी व्यक्त गरे ।

कन्ट्रोल फण्डिङ हटाउन पहल

एन्फा अध्यक्षमा नियुक्त हुँदा नेम्वाङले केही समयभित्रै श्वेत पत्र जारी गर्ने बताएका थिए, तर अहिलेम्म गरेका छैनन् ।

एन्फाले राम्रोसँग आर्थिक पक्ष सम्हाल्न नसक्दा फिफाले कन्ट्रोल फण्डिङ लगाएको छ । अध्यक्ष नेम्वाङले कन्ट्रोल फण्डिङ हटाउनका लागि आफूहरुले प्रयास गरिरहेको र यो छिटै हट्ने विश्वास समेत व्यक्त गरे ।

‘कन्ट्रोल फण्डिङलाई कसरी हटाउने भन्नेमा लागिरहेका छौं । त्यसका लागि हामीले फाइनान्समा मिहीन रुपले काम गरिरहेका छौं,’ नेम्वाङले भने ।

कन्ट्रोल फण्डिङमा रहँदा एन्फाले आफ्नो स्रोतको रकम चलाउन सक्छ तर फिफाले दिएको रकम चलाउन पाउँदैन । कन्ट्रोल फण्डिङका कारण आर्थिक रुपमा एन्फा समस्यामा परेको नेम्वाङले बताए ।

पछिल्लो पटक फिफाकै लेखा परीक्षक आएर लेखा परीक्षण गरेको र उनीहरु सन्तुष्ट रहेकाले छिट्टै कन्ट्रोल फण्डिङ हट्ने नेम्वाङले विश्वास व्यक्त गरे ।

‘अहिलेको अवस्थामा उनीहरु केही कुरामा सकारात्मक छन् । मलाई लाग्छ अब यो फिफाको रिपोर्ट राम्रो भए हामीलाई अलि सहज हुन्छ । फिफाको अर्को अडिट हुँदा कन्ट्रोल फण्डिङ लिफ्ट हुन्छ भन्ने विश्वास छ’, नेम्वाङले भने ।

अध्यक्ष नेम्वाङले विगतको एन्फा नेतृत्वले फिफाले दिएको रकम विधिसम्मत रुपमा खर्च गर्न नसक्दा कन्ट्रोल फण्डिङ लागेको बताए । ‘पहिला आन्तरिक अडिटको जुन रिपोर्ट छ हामीले यहाँ यहाँ गल्ती छ त्यसलाई सुधार गर्नुपर्छ भनेको हो । पटक पटक सुझावलाई एन्फाले त्यतिखेर मानेन । हाम्रो आर्थिक नियमावली फलो गरेन’, नेम्वाङले भने ।

अबको योजना

एन्फाले राष्ट्रिय टिमदेखि उमेर समूहको फुटबललाई अझ प्राथमिकता दिने अध्यक्ष नेम्वाङले बताए । ‘हाम्रो उदेश्य राष्ट्रिय टिमलाई नै प्राथमिकता दिने हो । हामीले नेपाली टिमका लागि खेलाडीहरुको स्काउटिङ गर्ने योजना बनाएका छौं’, उनले भने ।

यस्तै महिला र पुरुषको टिमको प्रायोजक खोज्ने पनि उनले बताए । नेपालको महिला टिमले विश्वकप खेल्ने सम्भावना रहेकाले त्यसका लागि विशेष योजना बनाएर अघि बढ्ने उनले बताए । ‘महिलामा हामी छिटै विश्वकप खेल्न सक्छौं भन्ने लाग्छ । त्यही भएर हामीले महिला फुटबलको लागि मिसन विश्वकप २०२७-३१ बनाएर उपाध्यक्ष (दीपक खतिवडा) लाई जिम्मा दिएका छौं’, उनले भने ।

पुरुष विश्वकपकमा ४८ टिम पुर्‍याउने निर्णय भएकोले महिला विश्वकपमा पनि टिम बढ्न सक्ने र नेपालको अवसर पनि चाँडै आउन सक्ने नेम्वाङको भनाइ छ ।

यस्तै महिला फुटबलको लागि तीन ठाउँमा एकेडेमी बनाउने योजना समेत उनले सुनाए । ‘रौतहटको एकेडेमीको विवाद छ । हामीले छलफल गरेर मुद्दा हाल्ने मानिसलाई फिर्ता लिन भनेका छौं । अर्को च्यासलमा र अर्को हेटौंडामा गरी तीन महिला एकेडेमी बनाउने योजना  छ ।’

यस्तै उमेर समूहमा एन्फाले यू-१६ लिग गर्ने घोषणा गरिसकेको छ । यसैगरी ललित स्मृति यू-१८ च्याम्पियनसिपको सट्टा यू-१६ प्रतियोगितालाई त्यो स्वरुपमा गर्ने कि भनेर पनि कुरा भइरहेको उनले बताए ।

नेपाली खेलाडीहरु नेपालमा फुटबल प्रतियोगिता नभएर भन्दा पनि राम्रो भविष्य सोचेर विदेशिएको नेम्वाङको बुझाइ छ । ‘खेलाडीहरु सुन्दर भविष्यका लागि बाहिर जान चाहिरहेका छन् । नेपाल फुटबल भएन भनेर भन्दा पनि उहाँहरुको सुन्दर भविष्यका लागि गइरहनुभएको छ । उता पनि फुटबल खेलिरहनु भएको छ’ नेम्वाङले भने ।

खेलाडीहरु विदेशिनबाट रोक्न लामो समय फुटबल प्रतियोगिता गराउनुपर्ने उनले बताए । ‘लिगलाई व्यवस्थित गर्ने, डबल लिगमा लामो समयसम्म गर्ने, नेपाल सुपर लिग गर्ने, मोफसलका प्रतियोगिताहरु आयोजना हुन्छन्, त्यसलाई व्यवस्थित गर्ने योजना छ’ नेम्वाङले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?