+
+

सनकहरुलाई सहेर बस्ने कि तर्कहरुको पुनर्स्थापना गर्ने ?

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० असार ७ गते २२:२३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह

नेतृत्व भन्नुको अर्थ ऊ कुन पदमा विराजमान छ भन्ने होइन । नेतृत्व भन्नुको अर्थ हो– उसलाई के कुरा गर्नु हुन्छ, के कुरा गर्नुुहुँदैन भन्ने लक्ष्मणरेखाको छर्लङ्ग ज्ञान । त्यो ज्ञानलाई कार्यान्वयन गरिछाड्ने इच्छाशक्ति ।

प्रधानमन्त्री प्रचण्डमा यो ज्ञानको अभाव छ भन्ने तथ्य पटक पटक प्रमाणित भइरहेका छन् । उनी सुध्रिए, उनी परिपक्व भइसके भन्ने कसैलाई लागेको भए उनका हचुवा बोली–व्यवहार हेरे भइहाल्छ ।

प्रचण्डले प्रोटोकलको तर्क दिँदै उज्जैनमा गेरुवस्त्र लगाए । उनले जितको खुसियालीमा बलात्कार आरोपी खेलाडीलाई बालुवाटारमा माला, खादा ओडाए । उनले विश्वविद्यालयभित्र मरणासन्न हुनेगरी कुटेर फ्याँकिएका उपप्राध्यापक लामो उपचारपछि निको भइसकेको सुनेर अभियुक्तको मुद्दा फिर्ता गरे ।

अराजकतालाई प्रश्रय दिनेगरी अनेक काम गरिसकेपछि हामीले तिनै प्रचण्डको भाषण सुन्नुपरिरहन्छ– समाजमा अराजकता बढ्यो ।

राजनीतिकर्मीहरुले समाजको शिक्षक बन्ने नैतिक वैधता गुमाइसके भन्नलाई अरु के दृष्टान्त चाहियो ? दुःखको कुरा यो छ कि यस्ता दृष्टान्तहरु घट्ने क्रममा छैनन्, बरु बढ्दो क्रममा छन् ।

नयाँ पुस्ताका प्रतिनिधिका रुपमा राजधानी सहरले अनुमोदन गरेका मेयर बालेन विधि प्रक्रिया बिर्सेर मनपरी निर्णय गरिरहेका छन् । अदालतलाई विदेशीको गुलाम भन्छन् । मन नपरेका फैसला मान्दिनँ भन्दै हाकाहाकी चुनौती दिन्छन् । ठेलावाला लखेट्छन्, गरिबहरुको उठिबास लाउँछन् । रामेशको गीत ‘गरिबको चमेली बोल्दिने कोइ छैन’ मा र्‍यापको पहिलो वाक्य लेख्छन्– ‘देशका नेताजति सब चु..या छन् ।’

र्‍याप सुन्ने बानी यो पंक्तिकारलाई छ । र्‍यापरप्रति सम्मानभाव पनि छ । एउटा प्रश्न मनमा छ– र्‍यापर बालेनले रामेशको कृतिमा थपेका वाक्य कला थिए कि भत्र्सना ? मेयर बालेनले नगरबासीको भावनामा सम्मान थप्दैछन् कि विध्वंश ?

लोकरिझ्याइँले रोग थप्छ, उपचार गर्दैन । वा भनौं, उपचारका नाममा उसले यस्तो केही ओखतीमुलो गर्छ, जसको बारेमा औषधिविज्ञान नै बेखबर हुन्छ । प्रचण्डले नाबालिकामाथि यौन उत्पीडकबारे देखाएको अनुमोदन, प्रांगणभित्र कुटिएका उपप्राध्यापकबारे देखाएको उपेक्षा सभ्य समाजमा नालायक कृत्य हो ।

त्यस्तै कृत्य गर्दैछन् बालेन । आज उनले उच्च अदालत पाटनलाई एउटा आदेशको विषयमा भारतको गुलाम करार गरे । यसरी उनले विधिको बर्खिलाप गएर पुराना नेता र नयाँ नेताहरुको बारेमा लेखिएको आफ्नै पुरानो फेसबुक स्ट्याटस प्रमाणित गर्न पुगे । काठमाडौंका विगतका मेयरहरुले गरेका गल्तीहरुलाई सबक सिकाएर स्वतन्त्र छनोट गर्ने मतदाताको विवेकलाई लज्जित तुल्याए ।

यी पंक्ति लेख्दैगर्दा देशको सार्वभौमिकताका अगाडि विधि, कानुन तपशील रहेको बालेन वक्तव्यलाई जायज ठहर्‍याउँदै धरानबाट मेयर हर्क साम्पाङको ट्वीट आइसकेको छ । उनले कुन घटनामाथि लक्षित हो भन्ने प्रष्ट नखुलाई ‘मेयर बालेनलाई धन्यवाद, असल काम गर्दै अघि बढ्नुहोला’ भनी लेखेका छन् । समयसारिणी हेर्दा आदिपुरुष सिनेमा नरोक्न अदालतले दिएको आदेशमाथि बालेनले बोलेको धावाप्रति उक्त वक्तव्य लक्षित छ भनी बुझ्न कुनै कठिन छैन ।

आश गरेका भनिएका नेताहरुले देखाएको सुरुवाती संकेत घातक छ । राष्ट्र, समाज र छिमेकसम्म दुष्परिणाम ल्याउन सक्ने बोली–व्यवहार अगाडि उनीहरुका असल कामहरु छायामा परेका छन् । नेतृत्वले गर्न हुने, गर्न नहुने, गर्न सक्ने, गर्न नसक्ने सीमाबोध गराउन सकिने अवस्था छैन । हाम्रो समयको सबैभन्दा ठूलो दुर्भाग्य यो हो ।

अर्का छन्, रवि लामिछाने जसका बारेमा कुनै सवाल उठाउन सकिने अवस्था छैन । नागरिकता, राहदानीजस्ता न्यूनतम वैधानिक प्रक्रियाका विषयलाई विशुद्ध भावनात्मक बनाएर बराल्न उनीजत्तिका वाक्पटु ‘नेता’ लाई नआउने कुरै थिएन । ‘भ्रष्टाचारीलाई किरा परोस्’ देखि ‘बाबुरामलाई काम गर्न देऊ’ सम्म बेहोरेर आएको नेपाली समाजमा रविको गिनिज बुक रेकर्ड, अनि ‘नेपाली भावना’को असम्मान हुने कुरै थिएन ।

हामी नायकको खोजीमा तड्पिएको पुस्ता हौं, जसलाई सिनेमाको पटकथामा बिलकुलै चासो छैन । यो अधीरताले हामी आफैंलाई बाहेक अरु कसैलाई पनि हानि गर्नेछैन भन्ने विवेक हाम्रो अन्तर्चेतनामा आइसक्दा ढिलो भइसकेको हुनेछ भनेर सम्झाइदिन कोही नबच्ने हो कि भन्ने डर छ ।

पुराना हुन् कि नयाँ– शासकहरुलाई सवालहरुसँग सख्त नफरत छ । सवालहरु हारेको समाजमा तर्कहरुको पुनस्र्थापना दुर्गम कुरा हो ।

दुर्भाग्य यो पनि हो– कुनै त्यस्तो आँटी सल्लाहकार छैन, जसले प्रचण्डदेखि बालेनसम्मलाई, रविदेखि हर्कसम्मलाई पर्ख, हेर, जाऊ भन्ने हिम्मत राख्दैन । निरंकुशहरुसँग त सल्लाहकार पनि डराउँछन् ।

यद्यपि यो आजैको परिघटना होइन, विगतका प्रधानमन्त्रीहरुमा पनि यही खालको प्रवृत्ति थियो । सत्ताले नेताहरुलाई भ्रष्ट बनाइदिएको छ, नागरिकहरुलाई भयभीत । भयग्रस्त समाजमा भ्रष्टाचार थप मौलाउँछ ।

यो दुस्वप्न सहजै रोकिने छाँट छैन । व्यवहारिक भएको भए प्रचण्ड व्यवहारवादी हुँदैनथे । उनीभित्र व्यवहारवाद सबै सीमाहरु नाघ्नेगरी प्रकट हुनेगर्छ । यस्तो नहुँदो हो त त्रिविका उपप्राध्यापक प्रेम चलाउने निको भइसकेकाले मुद्दा फिर्ता लिएको असंवेदनशील र आपत्तिजनक टिप्पणी उनीबाट हुने थिएन ।

उज्जैनको महाकालेश्वरमा सन् २०२२ बाट सुरु भएको भनिएको प्रोटोकल कडाइका साथ पालना गर्दै कुटनीतिक भ्रमणको औपचारिक लुगा फुकालेर गेरुवस्त्र लगाउन तयार प्रचण्डले दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग हिम्मतसाथ सोध्ने थिए– महामहिम, विगतका भ्रमणहरुमा प्रमुख विपक्षी दलका नेता भेट्ने प्रोटोकल थियो । यसपालि किन छैन ?

तर प्रचण्डलाई लाग्छ– मोदीलाई छिरिक्क केही सोध्नु अपराध बराबर छ । उनकै भाषामा त्यसले भ्रमणको माहोल भाँड्छ । उपप्राध्यापक कुटिएर के भो त, बाँचेकै छन् । दुई छाक खाएकै छन् । विद्यार्थीहरुलाई थुनेर किन दुःख दिने ?

बालेनलाई लाग्छ– गरिबको चमेली बोल्दिने कोइ छैन गीतमै ठीक छ । हैसियत नहुनेहरुले शहर पस्नु अपराध हो । अदालतका ती आदेश मान्छु, जो मेरा हितमा छन् । अदालतका ती आदेश च्यात्छु, जो मेरो खिलाफ छन् ।

यस्तो अवस्था उत्पन्न भएको छ कि हामी अव्यवस्थामा बाँच्न बानी परेकै थियौं । अब अव्यवस्था सकिनेछ र अराजकता सुरु हुनेछ । हामी तावामा तात्तिएकै थियौं । अब भुंग्रोमा खस्नेवाला छौं । संघदेखि स्थानीय तहसम्मका कतिपय शासक भनिरहेछन्– तावा रोज्छौ कि भुंग्रो ?

के लोकतन्त्र यति सीमित छनोटहरुमा आधारित छ ?

आदिपुरुषजस्तो वाहियात सिनेमाको लेखकका छुद्र अभिव्यक्तिमा आधारित भएर बालेन सबै भारतीय सिनेमा प्रतिबन्ध लगाउँदैछन् । अर्थात् यसरी भनौं, उनी औंलाको उपचार गर्नुसाटो खुट्टै काटेर फाल्ने अधम गर्दैछन् । यो पंक्तिकारले काठमाडौं आएका भाजपा नेता विजय जोलीलाई आज बिहान ह्वाट्सअपमा सोधेको थियो– ‘आदिपुरुष’ जस्तो तथ्यविहीन सिनेमालाई किन प्रवर्द्धन गर्छ भारतीय सत्ताले ?

जोलीले दिल्ली फर्केर त्यसमा उल्टै प्रतिप्रश्न गरेका थिए, ‘त्यो एउटा प्राइभेट कम्पनीको सिनेमा । कसले किन कसरी बनायो केही थाहा हुँदैन । त्यो सरकारले बनाएको हुँदा पनि होइन । त्यसैले तपाईंको प्रश्नको जवाफ कसरी दिन सकिन्छ ?’

कलासँग जोडिएका प्रश्नहरुमा संवेदनशीलता देखाउनु राम्रो हो । भारतीय संसद भवनमै अखण्ड भारतको मुरल छाप्ने क्रियामा प्रतिवाद स्वभाविक थियो । जबकि आदिपुरुषको प्रसंग त्यस्तो होइन । त्यसैले नेपालको अदालतले काठमाडौंका हलमा प्रदर्शन फुक्का गरिसक्दा पनि वितरक हिम्मत गर्न सकिरहेका छैनन् । आदिपुरुषका एक वितरकले हलवाला अझै पनि सिनेमा देखाउन तयार नभएको भन्दै निराशा व्यक्त गरे ।

हामीलाई उद्योगधन्दाहरुको स्थापना गर्नु छ । हामीलाई व्यवसाय चलायमान बनाउनु छ । त्योभन्दा पनि ठूलो कुरा हामीलाई यो वर्तमान समयमा तर्कहरुको पुनर्स्थापना गर्नु छ । शहर होस् या देश, नागरिकहरुको मैत्री बनाउनु छ । विगतमा राजा, राणादेखि निर्वाचित निरंकुश बन्ने चाहना राख्ने अनुहारसँग त नडराएका हामी के अहिले फैलिँदो लोकप्रियतावादी निरंकुशताको जरा काट्न इच्छाशक्ति राख्छौं ? के हामी सन्की शासकहरुलाई आफ्नो लक्ष्मणरेखा सम्झाउन तयार छौं ?

यो इच्छाशक्ति राख्नैपर्छ । नत्र हाङ्युग अज्ञातको कविता ‘नङ र निरंकुशता’ अंशमा जस्तै नियति दोहोरिइबस्नेछ – ‘काट्छौं, तर नङ फेरि पनि आइबस्छ ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?