+
+

पुटिनले युक्रेनविरुद्ध लड्न प्रयोग गरेको निजी सैन्य समूहले नियन्त्रणमा लियो रुसी शहर

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १६:१३

९ असार, काठमाडौं । रुसको निजी सैन्य कम्पनी वागनर समूहले दक्षिणी शहर रोस्तोव–अन–डनलाई नियन्त्रणमा लिएको छ ।

वागनरका प्रमुख येवगेनी प्रिगोजिनले आफ्ना सैनिकहरुले रुसी शहरको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए । बीसीसीका अनुसार वागनरले रोस्तोव–अन–डन शहरमा रहेको रुसी सेनाको दक्षिणी मुख्यालय नियन्त्रणमा लिएको छ ।

एक भिडियोमा येवगेनी आफैं मुख्यालयमा देखिन्छन् । उनले रुसका रक्षामन्त्री र सेना प्रमुखले आफूलाई नेभेटे आफ्ना सैनिकहरु मस्कोतर्फ अघि बढ्ने बताए ।

उनले भनेका छन्, ‘हामी सेना प्रमुख र शोइगू (रक्षामन्त्री)सँग भेट्न चाहन्छौं । जबसम्म उनी आउँदैनन्, हामी यही रहन्छौं । रोस्तोव शहरलाई घेराबन्दी गर्छौं र फेरि मस्कोतर्फ अघि बढ्छौं ।’

यसैबीच मस्कोको दक्षिणी प्रान्तसँग जोड्ने महत्वपूर्ण राजमार्ग एम ४ बन्द गरिएको छ । लिपेत्स्क प्रान्तका गभर्नरले यसको पुष्टि गरे । साथै उनले प्रान्तका नागरिकहरुलाई शान्त हुन र घरभित्र रहन आग्रह गरेका छन् ।

येवगेनीले भने आफ्नो बाटोमा जो आउँछ, उसलाई समाप्त पार्ने चेतावनी लिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको एक तस्वीरमा रास्तोव शहरको सडकमा वागनर समूहका सैनिकहरु देखिन्छन् । यद्यपि उक्त तस्वीर कुन ठाउँको भन्ने खुलाइएको छैन ।

के हो वागनर समूह ?

वगनार समूह निजी सैन्य समूह हो, जसले युक्रेन युद्धमा रुसी सेनालाई साथ दिइरहेको छ ।

यो समूह पहिलो पटक २०१४ मा सार्वजनिक भएको थियो, जतिबेला युक्रेनमा रुसी समर्थक स्वतत्रता पक्षको समर्थन गरेको थियो । त्यो बेला यो एउटा गोप्य समूह थियो र अफ्रिका तथा मध्यपूर्वमा सक्रिय थिए । त्यो बेला यो समूहमा जम्मा ५ हजार लडाकू रहेको मानिएको थियो । तर अधिकांश रुसको स्पेसल फोर्सका सैनिक थिए ।

क्रमशः यो समूहमा लडाकूहरुको संख्या बढ्दै गयो । बेलायतको रक्षा मन्त्रालयले जनवरीमा बताएअनुसार वागनर समूहका करिव ५० हजार लडाकू युक्रेनमा रुसका लागि लडिरहेका थिए । उसका लागि २०२२ मा ठूलो संख्यामा भर्ती गरिएको थियो किनकी रुसी सेनामा भर्ती गर्न कठिन भइरहेको थियो ।

वागनरका प्रमुख येवगेनी प्रिगोजिन

वर्षको सुरुवातमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले युक्रेनमा लडिरहेका वागनर समूहका करिव ८० प्रतिशत लडाकू जेलबाट निकालेर भर्ती गरिएको दाबी गरेको थियो ।

वागनर समूहका एक पूर्व सैनिकले बताएअनुसार युक्रेनमा युद्ध सुरु हुनुअघि समूहमा आवद्ध हुन ससाना गाउँबाट मानिसहरु आउँथे । किनकी गाउँमा राम्रो तलब भएको जागिर पाइँदैनथ्यो । वागनर समूहमा १५०० डलर मासिक तलब पाइन्थ्यो । यदि कोही युद्धमा गए २००० डलर तलब पाउँथे ।

यद्यपि रुसले निजी सैनिक सेवामा प्रतिबन्ध लगाएको छ । वागनर समूहले २०२२ मा कम्पनीको रुपमा दर्ता गर्‍यो  र सेन्ट पिटर्सबर्गमा नयाँ अफिस खोल्यो ।

किन बढ्यो तनाव ?

युक्रेन युद्धमा वागनर समूहका लडाकूहरु प्रयोग भए । युक्रेनमा वागनार समूहका हजारौं सैनिक रुसका लागि लडिरहेको अनुमान गरिन्छ ।

हालै मात्र वागनार समूहका सैनिकहरुले बखमुत शहरमा युक्रेनी सेनासँग लामो लडाईँ लडेका थिए ।

तर पछिल्लो समय लडाईं को तरिकालाई लिएर वागनर समूह र रुसी सेनाबीच तनाव बढ्दै गएको थियो ।

शुक्रबार वागनरका प्रमुख येवगेनी प्रिगोजिनले रुसी सेनामाथि आफ्ना सैनिकहरुलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको आरोप लगाए । रुसको सैन्य नेतृत्वमा हाबी रहेको खराबी रोक्नुपर्ने भन्दै उनले न्यायका लागि लड्ने बताए ।

टेलिग्राफमा पोष्ट भएको एउटा अडियो सन्देशमा उनले भनेका छन्, ‘जसले हाम्रा लडाकूहरुलाई मारे र युक्रेन युद्धमा दशौं हजार सैनिकलाई मारे, उनीहरुलाई दण्डित गरिनेछ ।’

यो सैन्य कू नभई न्यायको लडाईँ भएको उनले बताए । उनले भनेका छन्, ‘राष्ट्रपति कार्यालय, सरकार, पुलिस र रुसी गार्डले पहिलो जस्तै काम गरिरहने छ । यो सैन्य कू होइन, न्यायको लडाईँ हो । हाम्रो सैनिकहरुलाई कसैले अवरोध गर्ने छैनन् ।’

रुसी अधिकारीहरुले भने यसको खण्डन गरेका छन् र अवैध गतिविधि रोक्न आग्रह गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने पलपलको घटनाक्रमको जानकारी राष्ट्रपतिले लिइरहेको बताएका छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?