+
+

विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर आर्टमाण्डुले फिल्म ‘ऊनको स्वीटर’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १४:१२
अभिनेता विपिन कार्की । फाइल तस्वीर

काठमाडौं । अभिनेता विपिन कार्की एक महिनादेखि घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । थप एक महिना उनी घरमै हुनेछन् । ‘फिल्ममा व्यस्त मान्छे घरमा बसिरहँदा उकुसमुकुस हुने रहेछ । काममा फर्किन हतार भइसक्यो,’ कार्कीले अनलाइनखबरसँग भने, ‘अझै एक महिना घरमै हुन्छु ।’

केही वर्षअघि मोटरसाइकल दुर्घटना भएपछि उनको खुट्टामा स्टिल हालिएको थियो । फिल्मको व्यस्तताले उनले यसलाई झिक्न सकेका थिएनन् । तर यसपटक भने झिक्नैपर्ने दबाबपछि उनी घरमै बसिरहेका हुन् । घरमै बसिरहँदा पनि विपिनले नयाँ फिल्म गर्ने पक्का भएको छ ।

आर्टमाण्डु नेपाल प्रालिको कथानक फिल्म ‘ऊनको स्वीटर’को शीर्ष भूमिकामा विपिन अनुबन्धित भएका छन् । नवीन चौहानले निर्देशन गर्ने यो फिल्म गत जेठ ३१ गते चलचित्र विकास बोर्डमा पनि सोही टाइटलमा दर्ता भइसकेको छ । आगामी चिसोयामबाट छायांकन हुने यो फिल्म चौहानको डेब्यु निर्देशन पनि हो ।

यो सोसल ड्रामा फिल्मले समाजमा मिलेर बस्नुपर्छ भन्ने सन्देश दिने विपिनले बताए । ‘पहिलेदेखि नै यो फिल्म गर्ने तयारी थियो । खै के के कुराले ढिला भयो । अब भने पुस–माघमा सुटिङ गर्ने तयारी छ,’ उनले भने, ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने कुरालाई यसले सन्देश दिनेछ ।’

विपिनसँग प्रदीप भट्टराईले निर्देशन गर्ने फिल्म ‘महाजात्रा’ र अर्को फिल्म ‘चलचित्र’ लाइनअपमा छन् । सम्भवतः भदौदेखि सुरु हुने महाजात्राको छायांकन दशैंअघि सक्ने तयारी रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए । सोहीअनुसार विपिनले ‘लाइनअप’का फिल्ममा काम गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?