+
+

सुदूरपश्चिममा ४० प्रतिशत मात्र रोपाइँ

धान खेती हुने क्षेत्र ४ हजार हेक्टरले घट्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १८:५९
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को बिजौरामा कृषि ज्ञान केनद्रले आयोजना गरेको रोपाइँ

१५ असार, धनगढी । हरेक वर्ष मनाइदै आएको राष्ट्रिय धान दिवस शुक्रबार सुदूरपश्चिम प्रदेशमा पनि खेतमा धान रोपेर मनाइएको छ ।

१५ असारमा मनाउने गरिएको राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न सरकारी निकाय, गैरसरकारी संघसंस्था, राजनीतिक दलहरुले समेत धान रोपेका हुन् ।

तर ढिलोगरी मनसुन भित्रिएका लगायतका विभिन्न कारण सुदूरपश्चिम प्रदेशमा असार १५ सम्म आइपुग्दा धान खेती हुने कुल क्षेत्रफल मध्ये आधामा पनि रोपाइँ सकिएको छैन ।

प्रदेश कृषि विकास निर्देशनालयकाअनुसार प्रदेशका ९ वटै जिल्लामा शुक्रबार साँझसम्म करीब ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

‘यकिन तथ्याङ्क त प्राप्त भइसकेको छैन तर आज साँझसम्म प्रदेशभर करिब ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ,’ निर्देशनालयका निर्देशक यज्ञराज जोशीले अनलाइनखबरसँग भने, ‘आइतबारसम्म सबै तथ्यांक आउँछ । त्यो बेलासम्म अहिलेकोभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको हुनेछ ।’

निर्देशक जोशीले ढिलोगरी मनसुन सक्रिय हुनु, सिचाइँ सुविधाको अभाव, मलखादको अभाव लगायतका कारणले किसानले समयमै धान रोप्न नसकेको बताए तर पछिल्लो चार दिनको अवधीमा मात्र कम्तीमा पनि १७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उनको भनाइ छ ।

जोशीका अनुसार ११ असारको तथ्यांकअनुसार प्रदेशमा २३ प्रतिशत मात्र रोपाइँ भएको थियो । तर पछिल्लो चार दिनमा लगातार वर्षा भएपछि थप १७ प्रतिशत क्षेत्रमा पनि रोपाइँ सम्पन्न भएको हो ।

सबैभन्दा धेरै दार्चुलामा ७२ प्रतिशत र सबैभन्दा कम कैलालीमा २८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। कैलालीपछि सबैभन्दा धेरै धानखेती हुने कञ्चनपुरमा भने ४० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।

धान खेती हुने क्षेत्र ४ हजार हेक्टरले घट्ने

सुदूरपश्चिम प्रदेशमा गत वर्ष एक लाख ७९ हजार ८९८ हेक्टर क्षेत्रमा धान खेती गरिएकोमा यो वर्ष भने क्षेत्रफल घट्ने भएको छ ।

कृषि निर्देशनालयका निर्देशनक यज्ञराज जोशीले यो वर्ष एक लाख ७५ हजार हेक्टर आसपासमा धान खेती हुने जानकारी दिए ।

उनले धान खेतीयोग्य जमिनको क्षेत्र घट्नुको एकिन कारण नभएपनि किसानहरु तरकारी खेती, माछा पालन जस्ता व्यवसाय गर्न थालेका कारणले पनि अघिल्लो वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ हुन लागेको हुनसक्ने बताए । तर कुन जिल्लामा के–कति क्षेत्र घट्ने हो ? भन्ने यकिन तथ्यांक भने छै्रन ।

सुदूरपश्चिम प्रदेशमा अन्नको भण्डारका रुपमा चिनिने कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी धान खेती गरिदै आएको छ । कैलालीमा ६७ हजार २९७ हेक्टर क्षेत्रफल र कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रमा धान खेती गरिदै आएको छ ।

अछाममा १६ हजार ५९० हेक्टर, डोटीमा १० हजार ७ सय हेक्टर, बझाङमा १० हजार ३ सय हेक्टर, बैतडीमा ९ हजार हेक्टर, बाजुरामा ६ हजार ९१५ हेक्टर, डडेल्धुरामा ६ हजार १२० हेक्टर र दार्चुलामा  ४ हजार ४८० हेक्टर क्षेत्रमा  धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?