+
+

‘ड्युन २’ को दोस्रो ट्रेलर : गुमेको सत्ता फर्काउन संघर्ष

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १३:३१

काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रोज र लिजेन्ड्रीले प्रतीक्षित हलिउड फिल्म ‘ड्युन : पार्ट २’ को दोस्रो ट्रेलर सार्वजनिक गरेका छन् । दोस्रो ट्रेलरमा शीर्ष कलाकारहरु तिमोथी चालमेट, जेन्डाया, अस्टिन बटलर, फ्लोरेन्स पग, क्रिस्टोफर वाल्केनको चरित्रलाई अझै विस्तृत तुल्याइएको छ ।

ट्रेलरमा तिमोथी र जेन्डायाको प्रेम र गुमेको सत्ता फर्काउन हुने संघर्षको आयामलाई फराकिलो ढंगले चित्रण गरिएको छ । डेनिस भिलेनेउभ निर्देशित ओस्कार मनोनित ‘ड्युन’मा पल एट्रेइड्स (तिमोथी चालामेट) आफ्नो परिवार र मानिसको भविष्य सुनिश्चित गर्न ब्रह्माण्डको सबैभन्दा खतरनाक र बलौटे ग्रह अराकिसको यात्रामा निस्कन्छन् ।

दोस्रो श्रृंखलामा पलले चानी (जेन्डाया) र रहस्यमयी नीलो आँखा भएका फ्रेमेन मूल निवासीहरू हरकोनेन्ससँग बदला लिनका लागि टोली बनाउँछन्, जसले उनको परिवारलाई नष्ट गरिदिएका थिए । ब्रह्माण्डको भाग्य नै अन्योलमा रहेको बेला पलले चानीसँगको प्रेमको लागि सम्झौता गर्नुपर्छ ।

‘यो संसार क्रूरता भन्दा पर छ । हामी दशकौंदेखि हर्कोनेन्ससँग लडिरहेका छौं । मेरो परिवारले शताब्दीयौंदेखि उनीहरूसँग लड्दै आएको छ । उनीहरूलाई मेरो बुबासँगै नरसंहार गरियो,’ ट्रेलरको तनावपूर्ण परिचयमा चालमेट भन्छन् । न्यानो स्वागतपछि पल र चानी नयाँ लडाइँका लागि एक हुन्छन् । त्यसपछि पल चानी र फ्रेमेनसँग लडाइँलाई हार्कोनेन्समा लैजान सामेल हुन्छन् । चानीले यो लडाइँमा जहाजहरु खसाल्न केही उच्च प्रविधिका रकेट लन्चर प्रयोग गर्छिन् ।

पलले अन्ततः बालुवामा ठूलो कीरामा चढेर फ्रेमेनको विश्वास प्राप्त गर्छन् । यो कीरालाई उक्त ग्रहमा विश्वलाई बचाउन सक्ने एक सर्वशक्तिमान र दावेदार प्राणीको रुपमा विश्वास गरिन्छ । नयाँ ट्रेलरमा नयाँ कलाकारहरुको समेत प्रवेश भएको छ । ‘ड्युन : पार्ट २’ आगामी नोभेम्बर ३ मा विश्वव्यापी रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?