+
+

एलिना चौहानले गरिन् रेखा थापाको फिल्मबाट पार्श्वगायनमा डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १२:०१

काठमाडौं । रेखा थापाले निर्माण गर्न लागेको फिल्मबाट गायिका एलिना चौहानले पार्श्वगायनमा डेब्यु गरेकी छन् । गुरुपूर्णिमाको अवसरमा सोमबार एलिना र बाबुल गिरीको स्वरमा गीत ‘ओए काली ओए काली’ रेकर्ड भएको छ । गीतमा बाबुलको संगीत र शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

निर्देशक ज्ञानेन्द्र देउजाले गीत रेकर्डसँगै फिल्मको निर्माण कार्य सुरु भएको बताए । रेखा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिने तयारी छ । रेखा र पूजा शर्माको शीर्ष भूमिका हुने यो फिल्मको छायांकन भदौ पहिलो सातादेखि सुरु हुने जनाइएको छ ।

सामाजिक र प्रेमको कथावस्तुमा बन्न लागेको यो फिल्मको पटकथा अभिमन्यू निरवीको छ । दुई महिला पात्रलाई शीर्ष भूमिकामा लिएर बनाउन लागिएको यो फिल्मका अन्य कलाकार तय गर्न बाँकी छ । केही महिना पहिले नै यो फिल्म निर्माणबारे चर्चा चलेको थियो । सबै छायांकन काठमाडौं र उपत्यका आसपासका क्षेत्रमा गर्ने तयारी छ ।

गीत रेकर्डको अवसरमा रेखा र उनका पति बलराम शाही पनि उपस्थित थिए । एलिनाको गीतलाई दर्शकले रुचाउनेमा निर्देशक देउजा र निर्मात्री तथा अभिनेत्री थापा दुवै विश्वस्त सुनिए । रेखा फिल्म्सको ब्यानरबाट यसअघि दीपक लिम्बू र भारतीय गायक अभिजित सावन्तले पनि पार्श्वगायनमा डेब्यु गरेका थिए ।

‘पहिलोपटक फिल्ममा गीत गाउने अवसर पाउँदा म उत्साहित र नर्भस दुवै छु,’ एलिनाले भनिन् । एलिनाले गाएका पछिल्ला गीतहरु चर्चित छन् । ‘धोकेबाज हौ तिमी’ उनीद्वारा स्वरबद्ध पछिल्लो हिट गीत हो । बाबुल गिरीद्वारा स्वर र संगीतबद्ध ‘सिरुपाते जुँगामा’ पछिल्लो समयको हिट गीत हो, जुन ‘छक्कापञ्जा ४’ मा समावेश छ । यसअघि रेखा थापाले शंकर अधिकारी घायलसँग फिल्म ‘अन्दाज’मा सहकार्य गरेकी थिइन् । उक्त फिल्मको ‘सिम्पल सिम्पल कान्छीको, डिम्पल पर्ने गाला’लाई घायलले रचना गरेका हुन् ।

फिल्मका बाँकी तीन गीतलाई अर्जुन पोखरेलले संगीत भर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?