+
+

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पहिलोपटक सहभागिता जनाउन मेनुका चेक गणतन्त्र प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १२:४२

काठमाडौं । आफ्नो पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने सिलसिलामा अभिनेत्री मेनुका प्रधान युरोपेली मुलुक चेक गणतन्त्रतर्फ प्रस्थान गरेकी छन् । उनी अभिनित कथानक फिल्म ‘गुराँस’ बुधबार राजधानी प्रागको दी कार्लोभी भारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदैछ ।

अन्तर्राष्ट्रिय फेस्टिभलमा उनको यो पहिलो अनुभव हुनेछ । उनको सहभागिताको पहिलो अनुभव हो । ‘मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो । त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिं म उत्सुक छु, किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ त्यसतर्फ प्रस्थान गर्नुअघि उनले भनिन्, ‘मलाई त्यहाँ गएर धेरैभन्दा धेरै फिल्म हेर्न मन छ । गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ ।’

फिल्ममा उनले गुराँस नामक पात्रको आमाको भूमिका निर्वाह गरेकी छन् । आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको उनले बताइन् । ‘फिल्म गर्दा म आमा हो कि छोरी हो भनेर हेर्दिन । आफ्नो भूमिका हेर्छु । यसमा पनि मेरो भूमिका रोचक भएकैले गरेकी हुँ । एक महिना दार्जिलिङमा सुटिङ हुँदा पनि एकदमै रमाइलो भएको थियो,’ उनले सुनाइन् ।

मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन् । नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको फिल्मलाई सौरभ राईले निर्देशन गरेका हुन् । फेस्टिभलमा उनीसँगै राई पनि सहभागी हुनेछन् । दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभललाई युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक आयामको कथा प्रस्तुत गर्छ । ‘गुराँस’लाई लोआइक्यु प्रोडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् ।

फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ । फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ । छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’मा पनि काम गरेकी छिन् ।

निर्माता पोखरेलले दि कार्लोभी भारी युरोपको प्रतिष्ठित फेस्टिभल मानिने र त्यसमा नेपालको प्रतिनिधित्व हुने कुराले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘कान्स वा बर्लिन जस्तै यो पनि युरोपका लागि प्रतिष्ठित फेस्टिभल हो । यो फेस्टिभलमा अहिलेसम्म कुनै पनि नेपाली फिल्म सहभागी भएका थिएनन् । गुराँसले खाता खोलेको छ । हामी सम्पूर्ण टिम खुसी छौं,’ उनले भने ।

उनले फिल्मको हल रिलिजको विषयमा भने अहिले नै भन्न नसक्ने जानकारी गराए । उनले भने, ‘फिल्म हलमा पनि लाग्छ तर यसका लागि समय लाग्ला ।’ पोखरेल नेपालबाट ओस्कारका लागि गत वर्ष सिफारिस फिल्म ‘ऐना झ्यालको पुतली’ तथा भर्खरै प्रदर्शन भएको ‘हल्कारा’का पनि निर्माता हुन् । उनको निर्माण रहेको लघु चलचित्र ‘साइलेन्ट इको’ लघु चलचित्र विधामा ओस्कारमा सिफारिसमा परेको थियो भने फिल्मले भारतमा क्रिटिक्स च्वाइस अवार्ड जित्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?