+
+

प्रहरीको गोलीले घाइते वीरेन्द्र १९ दिनदेखि अनशनमा

उपचारको बिल पेश गरे खर्च व्यहोर्ने गृहको अडान

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते २०:०९

१९ असार, काठमाडौं । सात वर्षअघि प्रहरीको गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैशी उपचार खर्च र राहत माग्दै १९ दिनदेखि अनशनमा छन् । १ असारमा माइतीघर मण्डलमा अनशन सुरु गरेका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि १२ असारदेखि वीर अस्पतालमा छन् ।

३ फागुन ०७३ मा कैलालीको जानकी गाउँपालिकाको पथरैयामा काठ तस्करले प्रहरीमाथि गोली चलाएर निर्घात कुटपिट गरे । गस्तीमा खटिएका प्रहरी असई बृजलाल अधिकारीलाई तस्करले मरणासन्न हुनेगरी कुटपिट गरेपछि प्रहरी जवान गणेश सेट्टी गुहार माग्दै गाउँ छिरे । ‘बचाऊ भन्दै पुलिस आएपछि हामी पनि बचाउन गयौं’, जैशीसंगै अरु गाउँले पनि घटनास्थलतिर लागे । यतिखेर रातको करिब ९ बजेको थियो ।

काठ तस्करको कुटाइले सडकमा लम्पसार परेका असई बृजलाल चौधरीले आफूलाई जोगाउन आएका गाउँलेलाई तस्करको समूह ठानेर गोली चलाए । कैलाली जिल्ला प्रहरी कार्यालयले बनाएको यो घटनाको मुचुल्कामा ‘सुरक्षित स्थानतर्फ भाग्ने क्रममा केही मानिसहरु आफूतिर आइरहेको देखि पुनः आक्रमण गर्न आएका हुन् भन्ने शंका लागी पुनः दुई राउण्ड फायर गर्दा जिल्ला कैलाली पथरैया-६ बस्ने वर्ष १९ को वीरेन्द्र जैशीको दायाँ पेटमा गोली लागि घाइते भएको’ लेखिएको छ ।

प्रहरीलाई जोगाउन जाँदा प्रहरीकै गोली लागेका जैशीलाई तत्काल टीकापुर अस्पताल लगियो । प्राथमिक उपचार गरेपछि उनलाई बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगियो । ‘कोहलपुरमा उपचार नभएपछि काठमाडौंको शिक्षण अस्पताल ल्याए’, जैशी सुनाउँछन् ।

करिब २ महिना शिक्षण अस्पतालमा उपचार गरेपछि उनी घर फर्किए । उपचारमा लागेको १ लाख ९२ हजार रुपैयाँ गृह मन्त्रालयले नै तिरिदियो । तर, उनले अहिले पनि निरन्तर औषधि खानुपर्छ । हरेक दुई महिनाको अन्तरालमा चिकित्सकलाई देखाउनुपर्छ । पछिल्ला ७ वर्षमा उपचार, औषधि गर्दागर्दै उनको समय र पैसा खर्च भइरहेको छ ।

अस्पतालको शय्याबाटै अनशन जारी राखेका वीरेन्द्रलाई उनकी श्रीमती राधिकाले सघाइरहेकी छिन् । बाबुआमाका तीन छोरामध्ये जेठा हुन् वीरेन्द्र। गोली लागेकै कारण काम गर्न नसक्दा परिवारको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको पत्नी राधिका बताउँछिन् । ‘पहिला ससुरा भारत जानुहुन्थ्यो । अब सक्नुहुन्न’, बेडमा निस्लोट पल्टिरहेका श्रीमानलाईदेखाउँदै राधिका सुनाउँछिन्, ‘एकजना त उहाँलाई स्याहार गर्ने मान्छे चाहिन्छ ।’

सरकारले उपचार खर्च वापत १ लाख ९२ हजार तिरेपनि जैसीले भने गृहमन्त्रालयमा आफ्नो दयनीय आर्थिक अवस्था देखाउँदै ०७८ मा ८ लाख ५० हजार रुपैयाँ माग गरेर निवेदन दिएका थिए ।

उनको निवेदनलाई आवश्यक कारबाहीका लागि भनेर गृहमन्त्रालयको राहत शाखामा समेत पठाइएको थियो । ८ चैत ०७३ मा तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिले नै जैशीलाई राहत दिलाउन मन्त्रालयको राहत शाखालाई निर्देशन दिएका थिए । तर, उनले राहत पाएनन् ।

त्यस्तै २ असोज ०७४ मा मन्त्रिपरिषदले उनलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो । ‘तर, मैले अहिलेसम्म केही राहत पाएको छैन’, जैसी भन्छन्, ‘गृहमन्त्रालयले नै भनेर कैलालीको (जिल्ला प्रशासन कार्यालय) ले पनि सिफारिस गरेको थियो ।’

गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी भने जैसीले पेश गरेको बिलका आधारमा उपचार खर्च तिर्न सकिने बताउँछन् । यसअघि ०७४ मा १ लाख ९२ हजार रुपैयाँ तिरेको  भन्दै अधिकारी भन्छन्, ‘उहाँले फेरि उपचार खर्च चाहियो भन्नुभएको छ । हामीले पहिला तिरिसकेका छौं । त्यसपछि पनि उहाँले उपचार गराउनुभएको हो भने बिल पेश गर्नुहोस् हामी दिन्छौं भनेका छौं ।’

जैशी भने आफ्नो उपचारका खर्च भएको सबै रकमको बिल नभएको बताउँछन् । ‘पुराना बिल जति सबै गृह मन्त्रालयमा छन् । ७ वर्षसम्मको त बिल कसले जम्मा गर्छ र ?’ जैशी भन्छन् ।

गृह मन्त्रालयका उपसचिव अधिकारी जैशीले दिएको बिलका आधारमा उपचार खर्च र भविष्यमा उपचार गर्दा खर्च नलाग्ने व्यवस्था गर्न सकिने बताउँछन् । ‘अब भविष्यमा हुने उपचारको पनि हामी व्यवस्था मिलाउँछौं’, अधिकारी भन्छन्, ‘उहाँले राहत र जागिर पनि चाहियो भन्नुभएको छ । राहत र जागिर त हामी दिन सक्दैनौं ।’

जैशीले भने सरकारबाट रोजगारीको व्यवस्था होस् भन्ने चाहेका छन् । घटना भएको समयमा जैशी १० कक्षा पढ्दै थिए । अहिले उनले स्नातक उतीर्ण  गरिसकेका छन् । शैक्षिक रुपमा पनि योग्य भएको बताउँदै जैशी भन्छन्, ‘जागिर भएन भने त सधैं म सरकारको भर परिरहनुपर्छ ।’ वीर अस्पतालको शय्यामा समेत अनशनमै रहेका जैशीको स्वास्थ्य अवस्था समेत कमजोर हुँदैछ ।

सरकारले आफूलाई राहत र उपचार खर्च नदिएसम्म अनशन नत्याग्ने उनको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?