+
+

संकटमा वीर अस्पताल,धमाधम सेवा कटौती

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० फागुन १० गते २२:०३

१० फागुन, काठमाडौं । ‘मरे पनि बाँचे पनि श्रीमतीलाई वीर अस्पतालबाटै अन्त लैजाने विकल्प छैन,’ कृष्णबहादुर बलायरले मनको बह पोखे, ‘डाक्टरले केस जटिल भएकाले तत्काल आईसीयूको व्यवस्था गर्नू भनेका छन्, तर हामी जस्ता गरिबका लागि रोग अभिशाप बन्दो रहेछ ।’

डोटी, केआईसिंह-६ का बलायर वीरको आकस्मिक कक्ष (रेड जोन) मा आईसीयू पाउने आशमा दुई दिनदेखि भौतारिरहेका थिए । निजी अस्पतालमा लैजाने उनको सामर्थ्य छैन, निजीको तुलनामा सस्तो सरकारी अस्पताल वीरमा बेड खाली छैन । शुक्रबार दिँउसो रेड जोनमा भेटिएका बलायर गहभरी आँसु पारेर बसेका थिए । बेला-बेलामा स्वास्थ्यकर्मीसँग सोधिरहेका हुन्थे, ‘आईसीयू बेड खाली भयो र ?’

स्वास्थ्यकर्मीले ‘छैन’ भन्दा उनको मनमा चिसो पस्छ, ‘श्रीमतीलाई केही पो भइहाल्ने हो कि !’

अघिल्लो रात मात्रै आईसीयू बेड अभावमा दुई बिरामीको मृत्यु भएको घटनाले उनलाई झन् अत्याएको छ ।

अत्यधिक ज्वरोले गलेकी श्रीमती चन्दा देवीलाई बलायरले बुधबार बेलुकी अस्पताल पुर्याएका थिए । उनका अनुसार शुक्रबारसम्म रोग पत्ता लागेको छैन । चिकित्सकले चार दिनपछि मात्रै परीक्षणको रिपोर्ट आउने बताएका छन् ।

शुक्रबार दिँउसो वीर अस्पतालको आकस्मिक कक्षमा थप दुई बिरामी आईसीयूको पखाईमा थिए । करिब दुई घन्टाकै बीचमा बिरामी लिएर आकस्मिक कक्ष गेटबाहिर आइपुगेको एम्बुलेन्स आईसीयू बेड खाली नभएकाले फर्किन बाध्य भएको थियो ।

आईसीयू बेड उपलब्ध नहुँदा बिरामी छटपटीमै मृत्यु भएको दृश्य टुलुटुलु हेर्न विवश भएको आकस्मिक कक्षका स्वास्थ्यकर्मी बताउँछन् । ‘माथि आईसीयू कक्षमा ताला लगाइएको छ । आकस्मिक कक्षमा बिरामी मृत्यु कुरेर बसेका छन्,’ एक स्वास्थ्यकर्मीले गुनासो गरे, ‘स्वास्थ्य मन्त्रालयले गरिब बिरामीको पीडा कहिले देख्ला र !’

मुलुककै जेठो अस्पताल वीर स्वास्थ्य सेवामा आम नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने थियो । तर दक्ष जनशक्तिको अभाव र आर्थिक संकटबाट गुज्रिरहँदा अस्पतालका आईसीयूदेखि वार्डका कक्षमा ताला झुन्डिएका छन् भने परीक्षणहरु पनि रोकिएका छन् ।

‘ग्यास्ट्रोइन्टरलोजी र हेपाटोलोजी आईसीयू’ कक्ष

सर्जिकल भवनको पहिलो तलामा ९ बेडको ‘ग्यास्ट्रोइन्टरलोजी र हेपाटोलोजी आईसीयू’ कक्षमा तीन महिनादेखि ताला लगाइएको छ ।

चौथो तलामा भएको ‘एनेस्थेसिया आइसीयू’ १८ बेडबाट ८ मा झरेको छ । यस्तै ‘न्युरो आइसीयू’ ९ बेडबाट ६ बेडमा झरेको छ । ९ बेड सञ्चालन भइरहेको ‘कार्डियो आइसीयू’ ४ बेडमा झारिएको छ ।

सुविधासम्पन आईसीयू कक्षमा बेड साइड मनिटर, सेन्ट्रल अक्सिजन पाइपलाइन, भेन्टिलेटर, लगायतका महँगा उपकरण थन्किएर बसेका छन् ।

दोस्रो तलामा रहेको १८ बेडको क्याबिनमा पनि ताला झुन्डिएको छ । सर्जिकल भवनमै रहेको ४८ बेडको अर्थो-प्लाष्टिक वार्ड र १४ बेडको एचडीयू पनि बन्द छ ।

यस्तै, कार्डियोलोजी वार्ड २४ बेडबाट घटेर १६ र ४० बेडको मेडिकल वार्ड २५ मा खुम्चिएको छ ।

पुरानो भवनमा रहेको जेष्ठ नागरिक वार्ड महिनौंदेखि बन्द छ । अधिकांश विभागका सेवा खुम्चिएका छन् । विभागीय प्रमुखहरुका अनुसार वार्ड तथा विभागको सेवा बन्द हुनुको एक मात्रै कारण ठूलो संख्यामा नर्सिङ जनशक्ति हटाउनु हो ।

अस्पताल प्रशासनको तथ्यांक अनुसार ९६० बेड सञ्चालन गर्ने क्षमता भएपनि अहिले मुस्किलले ५६० बेड मात्रै सञ्चालन भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट दिन नसक्ने बताएपछि १५ असोजमा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्को बैठकले २७६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको थियो । तीमध्ये १८५ जना नर्सहरु थिए । एकैपटक १८५ नर्सिङ जनशक्ति हटाउँदा शल्यक्रियादेखि आईसीयूसम्मका सेवा प्रभावित भएको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल स्वीकार गर्छन् ।

ग्रीन कक्षमा ताला, हि्वलचियरमा बिरामी

आकस्मिक कक्षको दृश्य ।

वीर अस्पतालको आकस्मिक कक्षमा अत्यासलाग्दो भीडभाड छ । मध्यम र निम्न आय भएका बिरामीका आफन्त आकस्मिक कक्षमा पुग्नासाथ बेडतिर आँखा लगाउँछन् । बिडम्बना ! एल्लो एरियाका एउटै बेडमा दुई-तीन जनासम्म बिरामी छन् ।

पीडाले छट्पटाइरहेका केही बिरामी हृविलचियरमा समेत छन् । कतिपयलाई भुईंमै राखेर स्लाइन दिइएको छ ।

आकस्मिक कक्षका प्रमुख डा. सुरेश नेपालका अनुसार आकस्मिक कक्षमा दैनिक सरदर दुई सय जनासम्म बिरामी आउने गरेका छन् । तर १२ मेडिकल अफिसर र सोही संख्यामा नर्स कटौती भएपछि ४८ शय्या सन्चालन भइरहेकोमा अहिले घटाएर २५ मा झारिएको छ । ‘जनशक्ति अभावको कारणले बेड घटाउनुपर्ने बाध्यता भयो । अहिलेको जनशक्तिले २५ बेड जसोतसो चलाइरहेका छौं,’ डा. नेपालले गुनासो गरे, ‘पटक-पटक प्रशासनलाई ८ जना नर्स माग गरे पनि सिधै दिन नसक्ने जवाफ दिन्छ ।’

साँझको समयमा अत्यधिक भीडभाडको कारण बिरामीलाई सामान्य अक्सिजन समेत दिन नसकिएको अवस्था आउने उनले सुनाए । डा. नेपाल भन्छन्, ‘जनशक्ति अभावकै कारण ग्रीन एरियामा ताला लगाउँदा उपचार सेवामा ठूलो असर परेको छ ।’
समयमै वार्ड र आईसीयूमा भर्ना हुन नसक्दा दुई-तीन दिनदेखि नै आकस्मिक कक्षमै पालो कुरेर बस्नुपर्ने बाध्यता छ ।

आकस्मिक कक्षमा आमालाई हृविलचियरमा राखेर अक्सिजन दिइरहेका काभ्रेका रमेश अधिकारीले गुनासो गरे, ‘सर्वसाधारण नागरिकले बेड पाउन सकेका छैनन् । मन्त्री भने स्वास्थ्य क्षेत्रमा उथलपुथल भएको दाबी गर्दै हिँडेका छन् ।’
जनशक्ति अभावकै कारण अस्पतालले आईसीयू र एचडीयू बेडको संख्या समेत घटाएको छ ।

६० बेड रहेको आईसीयू अहिले २७ बेडमा खुम्चिएको छ भने ३३ बेडको एचडीयू ८ मा झरेको छ । ‘आईसीयू र एचडीयू गरी ९० बेड सञ्चालन गर्दा बिरामी अन्य अस्पताल जानुपर्ने केस धेरै कम भइसकेका थिए,’ अस्पताल निर्देशक डा. पौडेलले भने, ‘अहिले आईसीयू बेड अभावकै कारण आकस्मिक कक्षमै बिरामीको मृत्यु भइरहेको छ ।’

डा. पौडेलका अनुसार हाल सरदर दैनिक ७-८ जना आईसीयू नपाएर फर्किरहेका हुन्छन् ।

यसअघि १३ वटा अपरेसन थिएटरबाट नियमित भइरहेको शल्यक्रिया सेवा आधाले घटेको छ । अस्पताल प्रशासनको तथ्यांक अनुसार हाल मध्यम र जटिल गरी दैनिक सरदर ४० वटा शल्यक्रिया हुने गरेको छ । पहिला दैनिक ८० वटासम्म शल्यक्रिया हुन्थ्यो ।

‘विभाग नै बन्द गर्नुपर्ने अवस्था आइसक्यो’

वीरमा सबभन्दा बढी चाप युरोलोजी र न्युरोलोजी विभागमा हुन्छ । अप्रेशन गर्न डेढ वर्षभन्दा बढी समय कुर्नुपर्ने अवस्था आएपछि अस्पताल प्रशासनले युरोलोजीतर्फ हप्तामा ६ दिन अप्रेशन गर्ने व्यवस्था मिलाएको थियो । विभागीय प्रमुख डा. रविनबहादुर बस्नेतका अनुसार हप्ताको ६ दिनमा १२५ वटासम्म अप्रेशन हुन्थ्यो ।

यसले बिरामीले पालो कुर्नुपर्ने समय पाँच महिनामा झरिसकेको थियो । तर युरोलोजी अप्रेशन थिएटरका ८ नर्स र एक चिकित्सक हटाएका कारण मुस्किलले हप्तामा तीन दिन मात्रै अप्रेशन हुन थालेको छ । हाल तीन दिनमा ४०/४५ वटा मात्र अप्रेशन हुने गरेको छ ।

डा. रविनबहादुर बस्नेत

पछिल्लो दिनमा अप्रेशन कम हुँदै जाँदा पालो कुर्नुपर्ने समय ९ महिनासम्म पुगिसकेको छ भने युरोलोजी वार्डको बेड संख्या ५० बाट झरेर २२ मा खुम्चिएको छ ।

अप्रेशनमा चाहिने न्यूनतम औजार पनि अस्पताल प्रशासनले उपलब्ध गराउन सकेको छैन । यसबारे जानकारी दिँदा अस्पताल प्रशासनले आर्थिक अभावकै कारण औजार मर्मत गर्न नसकिने जवाफ दिने गरेको छ । आठ वर्षदेखिका जीर्ण औजारको भरमा अप्रेशन गरिरहेको भन्दै उनले भने, ‘कुनै पनि बेला युरोलोजीको अप्रेशन नै बन्द हुने अवस्था छ ।’

हप्ताको दुई दिन गरी चार वटा मिर्गौला प्रत्यारोपण गर्ने योजना समेत असफल भएको डा. बस्नेत बताउँछन् ।

न्युरोलोजीको अवस्था पनि उस्तै छ । महिनामा १२५ हुने वटासम्म अप्रेशन हुने गरेकोमा अहिले ९० भन्दा तल झरेको छ भने ६० बेड चलिरहेको न्युरोलोजी सेवा ४० बेडमा खुम्चिएको छ । वीर अस्पतालका अधिकांश विभाग यस्तै परिस्थितिको सामना गरिरहेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. भुपेन्द्र बस्नेत सेवा बन्दबारे आफू अनविज्ञ भएको बताउँछन् । ‘अस्पतालको सेवा कसरी सञ्चालन भइरहेको छ भन्ने निर्देशकलाई सोध्दा उपयुक्त होला,’ उनले भने, ‘पुरानो भवनका सेवा ठूलो संरचनामा नयाँ भवनबाट सञ्चालन गर्दा केही खाली जस्तो देखिएको हो, बन्द भएको छैन ।’

सर्जिकल भवनको स्वीकृत नर्सिङ दरबन्दी परिपूर्ति नहुँदा सेवा सञ्चालनमा केही असहज भएको उनले बताए । ‘सर्जिकल भवनको ५६६ नर्सिङ दरबन्दीमध्ये २४४ जना आइसकेका छन् । बाँकी जनशक्ति यो वर्ष आएपछि सेवा सञ्चालन गर्न सहज हुनेछ,’ डा. बस्नेतले भने ।

ल्याबमा धेरै सेवा बन्द

वीर अस्पतालमा पछिल्लो समय ल्याब परीक्षण सेवा पनि नराम्रोसँग प्रभावित भएको पाइएको छ । प्रयोगशालाका कर्मचारीका अनुसार रिएजेन्ट नहुँदा रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हार्मोन, भिटामिन डी, बी १२, क्यान्सर सम्बन्धी जाँच, सिए ९०.९ सिएवान २५, एएफपी, पीएसए लगायतको परीक्षण बन्द छ ।

दैनिक आउने करिब दुई हजार बिरामीमध्ये सात सयदेखि एक हजार जनाको ल्याब परीक्षण गर्नुपर्ने हुन्छ । तर आकस्मिक कक्षका बिरामीको समेत आवश्यक परीक्षण गर्न नसक्ने अवस्था रहेको भन्दै प्रयोगशालाका एक कर्मचारीले भने, ‘यस्तै हो भने ल्याब नै बन्द गर्नुपर्ने हुन्छ ।’

जेनेटिक (वंशाणुगत) परीक्षणको हालत उस्तै छ । जेनेटिक ल्याबले क्रोमोजोमभित्र रहेका जिनलाई सूक्ष्म तरिकाले अध्ययन गर्छ । यो परीक्षणबाट कुनै वंशाणुगत रोग छ भने सर्छ वा सर्दैन र सर्ने भए कति प्रतिशतसम्म सर्ने सम्भावना रहन्छ भन्ने पत्ता लगाइन्छ ।

तर रिएजेन्ट नभएका कारण जेनेटिक हुने अधिकांश परीक्षण बन्द भएको डा. निलम ठाकुरले जानकारी दिइन् । उनका अनुसार हेपाटाइटिस बी, हेपाटाइटिस सीको भाइरल लोड, हृयूमन प्यापीलोमा भाइरस (एचपीभी)को पीसीआर, ढाडको दुखाइ अर्थात ब्याक पेन हुँदा गराइने जाँच एचएलए.बी २७ लगायतका परीक्षण बन्द छन् ।

युरिन, मिर्गौलामा हुने टिबीको परीक्षण पनि बन्द हुने अवस्था छ । ‘वीरमा मात्रै हुने जेनेटिक सम्बन्धीका १२/१५ वटा परीक्षण बन्द छन्,’ प्रयोगशालाका एक कर्मचारीले भने, ‘ल्याबबाट राम्रो आम्दानी भएको छ, तर रिएजेन्ट खरिद गर्नका लागि अस्पतालले रकम छैन भन्ने जवाफ दिन्छ ।’

वीरमा परीक्षण नहुँदा कतिपय नमूना अहिले निजी ल्याब तथा भारतमा पठाउनुपर्ने बाध्यता थपिएको छ ।

तलबभत्तामै सकिन्छ आन्तरिक आय

वीरमा परीक्षण तथा उपचार शुल्क निकै कम छ । सरकारले दिने अनुदान नै अस्पतालको मुख्य आयस्रोत हो । तर पछिल्लो वर्ष वीरको बजेटमा भारी कटौती भयो । वीर अस्पताललाई गत वर्ष २६ करोड अनुदान दिइएकोमा चालु आर्थिक वर्षमा एक करोड १६ लाख रुपैयाँमा झारिएको छ । नियमित अस्पताल सञ्चालनका लागि गत वर्ष एक अर्ब ४३ करोड रुपैयाँ छुट्याइएकोमा चालु आर्थिक वर्षमा ७३ करोडमा झरेको छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल ।

अनुदान र बजेट पनि कटौती गर्नुका साथै करारमा राखेका जनशक्ति पनि हटाइँदा वीर अस्पतालको सेवा खस्किँदै गएको निर्देशक डा. पौडेल बताउँछन् ।

उनका अनुसार अस्पतालको आन्तरिक आय तलब भत्तामै सकिने अवस्था छ । अस्पतालले गत वर्ष ५५ करोड आन्तरिक आय गरेको थियो । तर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका ६५० कर्मचारीको तलबभत्तामा ५३ करोड खर्च भएको छ ।

अस्पताल प्रशासनले सेवा सञ्चालन गर्न निकै गाह्रो भएको भन्दै यस वर्ष पटक-पटक गरी ९२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ । तर मुस्किलले १९ करोड मात्रै दिएको छ ।

अस्पतालले माग गरेबमोजिमको रकम दिन नसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी स्वास्थ्य मन्त्रालयसँग बजेट नभएकाले अर्थ मन्त्रालयमै पेश गर्नुपर्ने बताउँछन् । ‘वीर अस्पतालले आवश्यक रकमका लागि डुकुमेन्ट, प्रमाणसहित स्वास्थ्य मन्त्रालय आउनुपर्यो । सँगै अर्थ मन्त्रालय जाऔं,’ डा. बुढाथोकीले भने, ‘सञ्चारमाध्यममा बोलेर मात्रै समस्या हल हुँदैन नि !’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर डटकम

  

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?