२९ असोज, काठमाडौं । मंगलबार राति ९ बजे । वीर अस्पताल सर्जरी भवनको चौथो तला । एचडीयू, पोस्टअप र एआईसीयू बाहिर लस्करै बिरामी कुरुवाका बेडहरू छन् ।
कोही बेडमै बसेर खाना खाँदैछन् त कोही सुत्नका लागि ओछ्यान मिलाउँदैछन् ।
यो वीर अस्पतालको फेरिएको परिदृश्य हो ।
‘पहिला भुइँमै सुत्नुपर्थ्यो । अहिले बेड पाएपछि धेरै राहत भएको छ,’ अर्घाखाँचीबाट दिदीको उपचारका लागि आएका महेन्द्र गौतम भन्छन्, ‘यो सानो कुरा जस्तो लाग्ला, तर बिरामी कुरुवाका लागि ठूलो राहत हो ।’
केही महिनाअघिसम्म स्वास्थ्य सेवाको इतिहास बोकेको वीर अस्पतालमा रात बिताउनु बिरामी कुरुवाका लागि आफैंमा परीक्षाजस्तै थियो ।
धुलो, फोहोर र चिसो भुइँमा टाट बिछ्याएर सुत्नुपर्दा कुरुवा आफैं बिरामी पर्थे । अब भने अहिले बिरामी कुरुवा भुइँमा सुत्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । कुरुवाले बेडमा सुत्न पाउनु सरकारी अस्पतालको सकारात्मक परिवर्तन हो ।
सानो कदम, ठूलो राहत
वीरमा दिनहुँ हजारौं बिरामी उपचारका लागि आउँछन् । दूरदराजबाट आएका सर्वसाधारण बिरामी कुरेर महिनौं अस्पताल बस्नुपर्ने हुन्छ ।
अनलाइनखबरको टोली मंगलबार राति वीर अस्पताल पुग्दा कुरुवाहरूको अनुहारमा सन्तुष्टि देखियो ।
कसैलाई ठिकसँग सुत्न पाउनु, कसैलाई आफ्नो सामान सुरक्षित राख्न पाउनु, यी साधारण देखिने कुराले कठिन समयलाई केही सहज बनाएको देखिन्थ्यो ।
अस्पतालमा स–साना सुधारले पनि आम नागरिकलाई ठूलो राहत दिन सक्छ भन्ने यो एउटा उदाहरण हो ।
अर्घाखाँचीबाट दिदीको पत्थरीको उपचारका लागि वीर आएका महेन्द्र गौतमको विगतको सम्झना ताजै छ ।
‘पहिला भुइँमा टाट बिछ्याएर सुत्नुपर्थ्यो । चिसोले गर्दा कुरुवा आफैं बिरामी हुने अवस्था थियो । धुलो र असहज सुताइले रात निकै कष्टकर हुन्थ्यो,’ गौतम भन्छन् ।
चार दिनदेखि अस्पतालमा रहेका गौतमका लागि अहिलेको अनुभव भने फरक छ । उनी भन्छन्, ‘प्रत्येक बेडमा सामान राख्ने बक्स छ । एकजना कुरुवा आरामले सुत्न मिल्छ । यो सुधारले धेरै राहत भएको छ ।’
उदयपुरबाट जेठा दाइको निमोनिया र लिभरको उपचारका लागि आएका हरि कार्कीको अनुभव पनि उस्तै छ । ‘पहिला चिसो भुइँमा सुत्नुपर्थ्यो । धुलोले गर्दा गाह्रो हुन्थ्यो । कुरुवा आफैं बिरामी हुने डर हुन्थ्यो,’ उनी सम्झन्छन् ।
काठमाडौंका राजेश महर्जन श्रीमतीको पत्थरीको शल्यक्रियाका लागि अस्पतालमा बिरामी कुरुवाको रूपमा छन् ।
‘पहिला त भुइँमा सुत्नुपर्दा निद्रा पनि राम्रोसँग लाग्दैनथ्यो,’ राजेशले विगत सम्झिँदै भने, ‘बिहान उठ्दा शरीर दुखिरहेको हुन्थ्यो ।’
तर, अहिले बेडसँगै म्याटको व्यवस्था छ । सामान सुरक्षित राख्नका लागि बेडमा लकरको व्यवस्था छ । टीभीसँगै छेउमा तातो, चिसो पानीको प्रबन्ध मिलाइएको छ ।

‘राति १०–११ बजे सुत्छु, बिहान ५ बजे उठ्छु । निन्द्रा राम्रोसँग पुग्छ,’ हरिले अस्पतालको पहलको प्रशंसा गर्दै भने, ‘सामान राख्न बेड सानो लकर जस्तो पनि छ । यो सुविधाले बिरामी कुरुवालाई धेरै सहज भएको छ ।’
बेडको व्यवस्था मात्र होइन, अस्पतालको सरसफाइमा पनि सुधार आएको कुरुवाहरू बताउँछन् । गौतम भन्छन्, ‘पहिला ट्वाइलेट फोहोर हुन्थे । अहिले सफा छन् । कर्मचारीहरूको रेस्पोन्स पनि राम्रो छ ।’
हरि कार्कीले पनि कर्मचारीहरूको व्यवहारमा आएको सकारात्मक परिवर्तनको चर्चा गरे । कुरुवा बेड हुँदा केही सहज भए पनि अस्पतालमा अझै सम्बोधन गर्नुपर्ने धेरै समस्या छन् ।
गौतम औंल्याउँछन्, ‘बिरामीको चाप धेरै छ । टिकट र टोकन लिन लामो समय लाग्छ । यदि धेरै बिरामीलाई एकै दिन ओपीडीमा देखाउनुपर्यो भने छुट्टाछुट्टै टिकट काट्नुपर्छ, जुन झन्झटिलो छ । बीमाको सुविधा लिन लामो समय लाइनमा बस्नुपर्छ ।’
वीर अस्पतालबारे विभिन्न नकारात्मक कुरा सुनिन्छन् । सार्वजनिक अस्पतालको छवि प्रायः राम्रो हुँदैन ।
‘उडुसले टोक्यो रे, फोहोर भयो रे भन्ने सुनिन्थ्यो,’ श्रीमतीको उपचारमा गराउँदै आएका आयुष सिंह भन्छन्, ‘आरामदायी सुताइ भएको छ । अस्पताल पनि सफासुधर नै देखिन्छ ।
दुई महिनादेखि घरैजस्तो बसेका उनलाई अस्पतालको सबै कुरा थाहा छ । कुन तलामा के–सेवा छ, कतिबेला डाक्टर राउन्ड हुन्छ, डाक्टर, स्वास्थ्यकर्मीले कस्तो व्यवहार गर्छन् । सिंहका लागि वीर दोस्रो घर बनिसकेको छ ।
पाँच महिनादेखि श्रीमतीको उपचारमा खटिएका सिंहले वीर अस्पतालमा आएको सुधारलाई प्रत्यक्ष महसुस गरेका छन् । स्वास्थ्यकर्मीको व्यवहार पनि ठिकै लागेको छ उनलाई ।
१७ पटकसम्म शल्यक्रिया, डेढ वर्षदेखि अस्पतालमा
कमला आले मगर बुधबार एचडीयू बाहिर सुत्ने तरखर गर्दै थिइन् । डेढ वर्षदेखि अस्पतालमा उपचाररत उनका बुवालाई घुँडाको जटिल घाउको समस्याले सताइरहेको छ ।
१७ पटकसम्म शल्यक्रिया भइसकेपछि पनि समस्याको समाधान हुन सकेको छैन । त्यसमाथि हालसालै मुटुको समस्या देखिएपछि उपचार थप जटिल बनेको छ ।
तर, यी सबै कठिनाइका बीचमा कमलाको अस्पतालले सुत्नका लागि बेडको व्यवस्था गरिदिएका कारण उनको अनुहारमा सन्तोष झल्किन्छ ।
महिनौंसम्म कठोर भुइँमा रात बिताउनु, बिहान उठ्दा पिठ्युँ दुख्नु, तर बुवाको सेवामा खटिरहनु कमलाको दैनिकी थियो ।
अस्पतालले हालसालै कुरुवाका लागि राती सुत्ने बेडको व्यवस्था गरेपछि उनलाई जस्ता सयौं कुरुवालाई सास फेर्न सजिलो भएको छ ।
कमलाका बुवाको घुँडामा लागेको घाउ साधारण छैन । जसले परिवारलाई शारीरिक, मानसिक र आर्थिक रूपमा थकित बनाइसकेको छ ।
डेढ वर्षअघि चितवनमा सुरु भएको उपचारको यात्रा अझै चलिरहेको छ। ‘चितवनमा दुईपटक शल्यक्रिया गरियो, सफल भएन,’ कमला विगत कोट्याउँछिन् ।
चितवनको उपचारले नभएपछि उनको परिवार वीर अस्पताल आयो । तर वीर आएपछि पनि समस्या समाधान भएन । एकपछि अर्को शल्यक्रिया । १७ पटक अपरेसन थिएटरमा लगियो । तर घाउ निको हुनुको सट्टा झन् जटिल हुँदै गयो ।

‘घाउ चिर्दाचिर्दा अहिले घुँडाको हड्डी नै बाहिर निस्किसक्यो,’ कमलाले निराशा पोखिन्, ‘जोर्नीको हड्डी काटेर टाल्ने प्रयास गरियो तर घाउ त्यस्तै छ ।’
कमला दुई–तीन हप्तादेखि निरन्तर अस्पतालमै छिन् । बीचबीचमा घरबाट आफन्तहरू पालोपालो आउँछन्, तर कमलाको अस्पताल बसाइ स्थायी जस्तै छ ।
उनका बुवालाई पहिलेको समस्या त छँदै थियो, शनिबारदेखि अर्को समस्या थपियो । बुवालाई मुटुको समस्या देखियो । दुई–तीन दिन हार्ट अट्याकको जोखिममा बिते । तय भएको शल्यक्रिया रद्द गर्नुपर्यो ।
लामो उपचार अवधिमा कमलाले अस्पतालको सेवालाई नजिकबाट अनुभव गरेकी छिन् । सबै कुरा सधैं सहज हुँदैन, तर समग्रमा उनी सन्तुष्ट छिन् ।
विशेषगरी प्लास्टिक सर्जरी विभागको सेवालाई उनी प्रशंसा गर्छिन् । ‘प्लास्टिक सर्जरी विभागका सिस्टरहरू, डाक्टरहरू सबै राम्रो हुनुहुन्छ,’ कमलाले भनिन्, ‘बुझाएर भन्नुहुन्छ, काउन्सिलिङ पनि राम्रो गर्नुहुन्छ ।’
२२ वर्षीय प्रमिता तामाङ श्रीमान् निको हुने आशमा वीरको कोठा-कोठा चक्कर काटिरहेकी छिन् । आन्द्रामा प्वाल परेको कारणले भर्ना भएका उनका श्रीमान्को ३५ दिनदेखि उपचार चलिरहेको छ । यो अवधि उनका लागि सरकारी अस्पतालप्रतिको धारणा बदल्ने समय बन्यो ।

‘यहाँभन्दा अगाडि कुनै अस्पताल गएकी थिइनँ,’ प्रमिता भन्छिन्, ‘सरकारी अस्पतालमा भुइँमै सुत्दा रात कटाउन निकै गाह्रो हुने कुरा सुनिको थिएँ, यहाँ चाहिँ बेड पाएँ, एकदम खुसी लाग्यो ।’
उनको खुसी एउटा साधारण बेडमा होइन, यो परिवर्तनको सुरुवातमा छ ।
‘अन्य वार्डका बिरामी भुइँमा सुतिराखेको देखेको छु,’ उनले अनुभव सुनाइन्, ‘अस्पतालमा बसेका सबैलाई यस्तै बेड भइदिएको राम्रो हुन्थ्यो । बिरामी कुरुवा भुइँमा सुत्नुपर्दा उल्टै बिरामी हुन्छन् ।’
प्रमिता डाक्टर र नर्सहरूको सेवाको पनि प्रशंसा गर्छिन् । ‘बिहान-बेलुका राउन्डमा घुमिरहनुहुन्छ, बिरामी कस्तो छ भनेर हेरिरहनुहुन्छ,’ उनी भन्छिन्, ‘सिस्टरहरू पनि एकदम हेल्पफुल । सक्दो हेल्प गरिरहनुभएको छ ।’
यो प्रशंसा सरकारी अस्पतालका लागि दुर्लभ छ । प्रायः सरकारी अस्पताल भिड, बेवास्ता र सुविधा अभावको पर्यायवाची बनेका छन् । तर प्रमिताको अनुभव फरक छ ।
‘सरकारी अस्पतालको सेवा अझै चुस्त बनाउनु आवश्यक छ । सरकारी अस्पतालमा पनि निजीको जस्तै सेवा पाइन्छ भन्ने फिल हुनेगरी सुधार हुन आवश्यक छ,’ उनी भन्छिन् ।
वीर अस्पतालमा बेडको व्यवस्था जस्ता सकारात्मक परिवर्तन भए पनि लामो लाइन र ढिलासुस्तीको समस्या अझै रहेको बिरामी कुरुवा राजेश बताउँछन् ।
‘काउन्टरमा लामो लाइन बस्नुपर्छ । कामको गति सुस्त छ । औषधि काउन्टर र बिल भुक्तानीको प्रक्रियामा पनि ढिलाइ हुने गरेको छ,’ उनले गुनासो गरे ।
अर्को महत्त्वपूर्ण समस्या भनेको डिजिटल भुक्तानीको अभाव हो ।
‘आजकाल कसैले नगद बोकेर हिँड्दैन । सबैले क्यूआर कोड प्रयोग गर्छन् । तर यहाँ क्यूआर कोडले काम गर्दैन, नगदमै भुक्तानी गर्नुपर्छ । यो चाहिँ सुधार गर्नुपर्छ,’ राजेशको सुझाव छ ।
कुरुवा घर निर्माणको योजना
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्मा बिरामी कुरुवाका लागि सुविधा विस्तार गर्ने योजनालाई तिव्रता दिइएको बताउँछन् ।
अस्पतालमा हाल बिरामी कुरुवाका लागि सर्जिकल भवनमा ४०–५० वटा बेडको व्यवस्था गरिएको छ ।
यद्यपि, यो सुविधा पहिलो र चौथों तलामा मात्र सीमित रहेको उनले बताए ।
‘बिरामी कुरुवाका लागि कुरुवा घर नै बनाउने योजना बनाएका छौँ, तर हाल ठाउँको अभावले गर्दा त्यो सम्भव भएको छैन,’ डा. शर्माले अनलाइनखबरसँग भने, ‘निकट भविष्यमा कुरुवा घर निर्माण गर्ने र पछाडिको खाली ठाउँमा सुविधासम्पन्न संरचना बनाउने तयारीमा छौँ ।’
अस्पतालले विशेषगरी आईसीयू र लामो समय भर्ना हुने वार्डहरूमा बिरामी कुरुवालाई आराम होस् भनेर बेड र लकरको व्यवस्था गरेको हो ।
उक्त बेडको सहयोग भने वीरको उपचारपछि निको भएर गएका मनकारी व्यक्तिले गरेका थिए ।
‘मनकारी व्यक्तिहरूले चौथो तलाको ३५ वटा र तल्लो तलाको हेपाटो तथा ग्यास्ट्रो आईसीयूमा ९–१० वटा बेड र लकरको व्यवस्था गरिदिनुभएको छ, जसले कुरुवाहरूलाई ठूलो राहत मिलेको छ,’ डा. शर्मा भन्छन् ।
अस्पतालले आगामी वर्षहरूमा साना–साना सुधारमार्फत बिरामी र कुरुवाहरूलाई थप सहजता प्रदान गर्ने लक्ष्य राखेको छ ।
‘हामीले अन्य वार्डहरूमा पनि कुरुवा बेड र लकरको व्यवस्था विस्तार गर्ने योजना बनाएका छौँ । साथै, सहयोगी संस्थाहरूसँगको सहकार्यमा सरसफाइयुक्त, खाना पकाउन मिल्ने र बस्न योग्य कुरुवा घर बनाउने तयारीमा छौँ,’ डा. शर्मा भन्छन् ।
बिरामी कुरुवाले ठूलो परिवर्तनको अपेक्षा नराखी साना–साना सुविधाहरू जस्तै: सफा ठाउँ, सुलभ औषधि र कम भिड हुने व्यवस्था खोजेका हुन्छन् । तर उनी भन्छन्, ‘वीरमा ९०० बेड छन्, कतिपय ठाउँमा यस्ता सुविधा राख्न ठाउँको कमी छ । तैपनि, हामी सम्भव भएसम्म बिरामी र कुरुवालाई सहज बनाउने प्रयासमा छौँ ।’
तस्वीर-भिडियो : शंकर गरी/अनलाइनखबर
प्रतिक्रिया 4