
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले नेपालमा उपचार भरपर्दो नभएर भारतमा उपचार गर्नुपर्ने अवस्थालाई व्यक्त गरे।
- उनले नेपालमा क्यान्सरको छिटो पहिचान र उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।
बेड नं. १२ तेस्रो तल्ला, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि । म डायरीमा केही लेख्दैछु । किमो चलाएको देब्रे हात चाहीँ हल्लिनु हुन्न ल, भन्दै हुनुहुन्छ नर्स ।
अरु बेडका बिरामी र तिनका कुरुवा फरक भावका साथ बेलाबेला हेरिरहेका हुन्छन् । जब कि, अरु कोही बिरामी केही लेख्ने-पढ्ने गरिरहेका छैनन् । राजीव गान्धी अस्पताल (भारत) मा पनि म किताब पढेर बस्दा डाक्टरहरूले सबै बिरामीमाझ उदाहरणको रुपमा प्रस्तुत गर्ने गर्थे ।
आजसम्म आउँदा म बरामी छु भन्ने कुनै भाव मनमा छैन । पढ्दै गरेको पुस्तक र यो लेख्दै गरेको डायरी चाँडो सक्नु छ, बस यत्ति । म यहाँसम्म आउँदाका बिगत ५ महिनाको झल्झली याद आइरहेको छ ।
मेरो घाँटीमा गिर्खा आएकोले जाँच गर्न एक निजी अस्पताल गएको थिएँ । त्यहाँ रगत जाँच(एफएनएसी) गर्ने भनियो तर गिर्खा बाहिरबाट रगत निकालियो । चिनजानका एक डाक्टर साथीले गिर्खा भित्रबाट रगत निकाल्दा रगत निकाल्ने भाग बेहोस् गरिन्छ, दिनभर गार्हो हुन्छ भन्नुभएको थियो । तर सो अस्पतालका प्राविधिकले सामान्य रुपमा निकाल्ने हो भने ।
मैले त्यो गिर्खा बाहिरबाट भयो भनें तर चिन्ता नगर्नुस, तपाईलाई केही भएको छैन भनियो । र, ७ दिनका लागि औषधि दिइयो, खाएँ । निको भएन । पछि अर्को सरकारी अस्पताल गएँ । पहिलाको जाँच (एफएनएसी) नभएको भनियो र म पनि झनै प्रष्ट भएँ ।
सो सरकारी अस्पतालमा नाक, कान, घाँटीको डक्टरलाई देखाउन भनियो । डक्टरले अप्रेसन गरेर गिर्खा निकाल्न तयार हुनुहुन्छ ? भनेर सोध्नुभयो । म सकेसम्म चाँडै अप्रेसन गर्न चाहन्छु भनेँ । किन हो कुरा गरे काम गरेनन् ?
एफएनएसीको रिपोर्ट आयो, खास केही देखा परेन भन्नुभयो । शुरुवातमा टीबीको शंका गरियो, होइन रहेछ । जाँच अझै अगाडि बढाउन भनें । त्यसैबीच ढाड, कम्मर अति दुख्न थाल्यो । नाक, कान, घाँटीको डक्टरलाई भनें । उनले एमआरआई गर्न र ढाड कम्मर सम्बन्धी डाक्टरलाई देखाउन भने। त्यसै गरें ।
रिपोर्ट सामान्य आयो तर ढाड, कम्मर सम्बन्धी डाक्टरले थेरापी गर्न पठाए । ती डक्टरले रिपोर्टमा केही नदेखिँदा किन मलाइ फिजियोथेरापीका लागि पठाउनुभयो ? सोचिरहेछु ।यहाँ पनि म माथि डक्टरबाट गलत सिफारिस भएको ठानेँ ।
नाक, कान, घाँटीको डक्टरले क्यान्सर डाक्टरलाई भेट्न सिफारिस गर्नुपर्नेमा ढाड/कम्मर सम्बन्धी डाक्टरकहाँ पठाए ।
एफएनएसीबाट केही पत्ता नलागेपछि बायोप्सी गरियो ९ दिनमा रिपोर्र आयो तर केही पत्ता नलागेकाले फेरि थप जाँच गर्नुपर्ने र रिपोर्ट आउन १२ दिन लाग्ने भनियो । ६ दिममा पूरै रिपोर्ट आउँछ भनिएको २० दिन लाग्ने भयो । हामी प्रविधिमा कमजोर र ढिला छौं । त्यसमाथि सरकारी अस्पताल भएकाले बोली रुखो र समयमा सेवा नपाइन सक्छ भनेर पहिला नै मानसिक रुपमा तयार थिएँ ।
यसै बीच स्वास्थ्य संस्थामा कार्यरत नजिकबाट चिनेका एक डक्टरलाई भेट्न गएँ, कति वर्षको हुनुभयो भनेर सोधियो । मैले ३७ वर्ष भनें । ओहो ! यति कलिलै उमेरमा ? भन्ने वाक्य मुखबाट निकाल्नुभयो । अनि फेरि सोध्नुभयो, बच्चाबच्ची कत्रा छन् ? ‘सानो बाबु एक वर्ष पूरा भयो’ भनी नसक्दै उहाँले सुझाव दिनुभयो, ‘क्याान्सर पनि हुनसक्छ भारतको केही अस्पतालमध्ये एउटामा गैहाल्नू ।’
उनको कुराले एक पटक त म आत्तिएँ । रोग एकातिर छ, भारत गएर उपचार गराउन सबैभन्दा अगाडि आउने समस्या थियो पैसा । यस्तो आपत आइलाग्ला भनेर कुनै बैंक ब्यालेन्स गरेको थिइँन । भावनात्मक चिन्तासँगै पैसा कसरी जुटाउने, उपचार गर्न कुन अस्पताल जाने र कसरी जाने ? भन्ने यावत कुराले सताउने रहेछ ।

धेरै जनासँग हात थापेपछि केही लाख रकम जुट्यो । आपत परेपछि मान्छे जोसँग झुक्न परे पनि तयार हुँदोरहेछ । अश्चर्यको कुरा, बिरामी छु भनेपछि आशा गरेका र रकम भएकाहरूले पनि छैन भन्दा रहेछन् । मेरो अमेरिका भिषा लाग्यो भनेको भए एक दिनमै करोड सापटी पाइन सक्छ नेपालमा ।
रकम त जुट्यो फेरि प्लेन टिकेट मिलेन । अझै एक दिन कुर्नुपर्ने भयो । भोलिपल्ट चैत्र १४ गते मेरो जन्मदिन थियो । चैत्र १४ को पनि टिकट प्याक रहेछ । नेपाल एयर लाइन्सका मित्र रामहरि रिमालले स्ट्याडीमा मिल्न सक्छ विमानस्थल आउनु कोसिस गर्छु भन्नुभयो । यति आश्वासन पाउँदा पनि निकै खुसी लाग्यो ।
म आफैँ जे परे पनि देशमै गर्नुपर्छ, विदेश जानु हुँदैन भन्ने मान्छे । पैसा टन्न भएर उपचारका लागि भारत वा विदेश गएका होलान् जस्तो लाग्थ्यो । आफूलाई परेपछि महसुर गरेँ, त्यसो होइन रहेछ ।
रोग पत्ता लाग्ने समय लाग्ने, झन्झटिला प्रक्रिया देखि वाक्क भएर यहीँ पनि खर्च गर्न नसक्नेहरू समेत अरुसँग हात फैलाएर, घरखेत बेचेर समेत उपचारका लागि विदेश जाने रहेछन् ।
म आज पनि काठमाडौंमा डेरा लिएर बसी पेशाबाट आएको थोरै आम्दानीले परिवार धान्दै आएको आम मान्छे म । क्यान्सर सम्बन्धी त्यति ज्ञान थिएन । क्यान्सर लागेका हरूसँग नजिकबाट साक्षातकार भएको पनि थिएन । क्यान्सर लागेपछि पक्का मरिन्छ भन्ने नै थियो । क्यान्सर भएपछि किमोको असरले जिउ गल्दै गएको, डक्टरले मर्ने मिति तोकेर घर पठाएको जस्तो घटनाबारे सुन्ने, पढ्ने गरेको थिएँ ।
करोडौं खर्च गरेर विदेशका ठूला अस्पतालमा गएर उपचार गरेमात्रै बाचिन्छ भन्ने वुझाइ थियो । सानो चोट लाग्दा सामान्य ज्वारो आउँदा नै आत्तिएर अस्पताल पुग्ने म क्यान्सर हुनसक्छ भन्ने भएपछि कति के भएँ होला ? अनुमान गर्न सकिन्छ । अब धेरै दिन बाँच्दिन, मरिन्छ भन्ने मात्रै लागिरह्यो ।
श्रीमतीलाई घाँटी परीक्षण गर्न जाने भनेको थिएँ । बा आमालाई फोन गर्न खास आँट आएन । भाइलाई चाहिँ जे पनि हुन सक्छ भनेको थिएँ । बा आमाले एक पटक बोल्नुपर्यो भनिरहनुभएको थियो । मन भक्कानिएर आयो । छोटो बोलेँ र बाथरुम छिरेँ ।
राति साढे ११ बजेतिर टिबी र क्यान्सरका लक्षणहरू बारे गुगलमा खोल्दै पढेँ । मन त्यसै भारी भयो । डाक्टरले भनेका कुरा कानमा गुञ्जिरहेका थिए- ओहो ! यति कलिलै उमेरमा ! बच्चा कत्रा भए !
ती भनाइले मृत्युको निकै नजिक पुगेछु जस्तो भान भयो । सबै परिवार, आफन्त, शुभचिन्तक, साथीभाइ एक-एक गरी दिमागमा आए ।
अरुको मृत्युका खबर सुन्नु र स्वयंको मृत्यु नजिक छु भनी अनुभूति गर्नुमा धेरै फरक हुनेरहेछ ।
निकट भविष्यमै आफ्नो मृत्यु हुँदैछ भनेर कल्पना गर्नु निकै भयानक हुने रहेछ ।
प्रधानमन्त्री ज्यू ।
तपाई पनि मृत्युको मुखमा पुगेर दोस्रो जीवन बाँचिरहनु भएको छ । मृत्यु नजिक आइरहेछ भन्ने लाग्नु कति भयकंर कुरा हो बुझ्नुहुन्छ सायद ।
मैले २ वर्षअघिकै जन्मदिनमा मृत्युपछि अंग दान गर्ने घोषणा गरेको थिएँ । म मरेपछि शरीरबाट अंग झिक्न मञ्जुर हुनू भनेर बालाई चिठी लेखेँ । मरेपछिका आफ्ना इच्छा पनि के छन्, त्यो पनि उल्लेख गरेँ । आमा, बुबा, श्रीमती, छोराछोरी, परिवारका अरु सबैका नाममा सन्देश लेखेँ ।
चैत्र १४ गते, मेरो जन्मदिनमै उपचारका लागि दिल्ली उडेँ । हुन त अघिल्लो दिन जस्तै त्यस दिन पनि टिकट प्याक रहेछ तर भाग्यवस दुई जना यात्रु नआएपछि स्ट्याण्डिमा टिकट पाएँ ।
५ साँझ बजे भारतको इन्दिरा गान्धी विमानस्थलबाट निस्किएपछि अलमलमा परियो । पुग्नुपर्ने दूरी ३० किलोमिटर मात्रै थियो कसैलाई फोन गर्न सिमकार्ड थिएन । सोधखोज गर्दै राति मात्रै राजीव गान्धी अस्पताल नजिक सोमबजार पुगियो ।
राजिव गान्धी अस्पतालमा नेपाली बिरामीका लागि नेपाली कर्मचारी नै राखिएको रहेछ । ती कर्मचारीका अनुसार करिब १७०० नेपाली बिरामी नियमित उपचार प्रक्रियामा सोमबजार बसिरहेका छन् । अस्पताल आसपास पाइलैपिच्छे नेपाली बिरामी भेटिए । दलालहरू पनि त्यतिकै थिए भेटेँ । कोही कोठा भाडामा मिलाइदिने दलाल थिए, कोही डाक्टरसँग चाँडै भेटाइदिन्छु भन्थे ।
विमानस्थल र बस स्टेशनबाट सुरु भएर त्यहाँ रहँदा र उपचार गरेर फर्कँदासम्म मिठो बोली बोल्ने त्यस्ता दलालमा नेपाली बढी देखिए । बिरामी भएर उपचार गर्न जाँदा दलाललाई पैसा बुझाउनुपर्ने अवस्था आउँदा सार्है दिक्क लाग्ने रहेछ ।
घरवाला, पसलेदेखि गाडावाला सम्मले हेय भावले हेर्छन् । गरिब देशको नागरिक हुँदा पूरा रकम तिरेर लिइने सुविधामा पनि भेदभाव महसुस भयो ।
रिपोर्ट आउन कम्तीमा १ हप्ता लाग्ने भयो । कुर्नुको बिकल्प थिएन ।
अस्पतालभित्र चाहिँ धेरै राम्रा पक्ष पाएँ एक जना बिरामीको बारेमा ५ जना डक्टरको टिमलाई थाहा छ । नेपालमा एक जना बिरामी, एक डक्टर एक नर्स । नर्स पनि अलराउण्डर वाला । नेपालमा टिमले निर्णय गर्ने भन्ने चाहीँ कमै भेटिन्छ ।
पेट स्क्यान गर्न भारु १० हजार लाग्ने रहेछ । नेपाली जम्मा १६ हजार । नेपालमा पेट स्क्याननको किन ७० हजार लाग्ने ?
भारतमा पेट स्क्यान गरेको २ घण्टामा रिपोर्ट पाइने, मेसिन त्यही हो । नेपालमा पेट स्क्यानको रिपोर्ट ७ दिन लाग्छ यदि चाडै चाहिन्छ भने १० हजार बढी तिर्नुस भन्छन् ।
बिरामी आत्तिएको हुन्छ । उनीहरूलाई थाहा छ, बिरामीले तिर्छ भन्ने । यसलाई लुट नभनेर के भन्ने ? जबकि त्यो रिपोर्ट केही घण्टामै तयार भइसकेको हुन्छ ।
राजीव गान्धी अस्पतालका व्यवस्थापक तहका एक व्यक्तिसँग कुरा भएको थियो । उनले भने-दैनिक करिब ४६ जना नेपाली त्यहाँ पुग्ने रहेछन् । नेपालीले एक वर्षमा त्यो अस्पतालमा मात्रै ७ अर्ब रुपैयाँ खर्च गर्नेरहेछन् ।
त्यसैगरी मेदान्त अस्पतालमा नेपालीले ३ अर्बको वार्षिक उपचार खर्च गर्ने गरको पाइयो । त्यस्तै म्याक्स, एपोलो, गंगाराम, मुम्बईको टाटा, एम्स, भेलोरका अस्पतालहरूमा पनि हरेक साल नेपाली बिरामी जाने क्रम बढ्दो छ भनिन्छ ।
सोमबजारका गल्लीमा भेटिने नेपालीसँग कुरा हुँदै गर्दा त नेपालमै छु झैं लाग्छ ।
धेरै नेपालीका कथा व्यथा र दर्दनाक वेदनाले भरिएका छन् सोमबजारका गल्लीहरू ।
मुडुल्ला टाउका, आँसुका लेघ्राले ढाकिएका गाला, सुन्निएका आँखा र मुस्काउन खोज्दा नसुहाउँदो देखिने ओठहरूको बाक्लो उपस्थिति देखिन्छ पार्क र गल्लीहरूमा ।
मैले जति भेटेँ कुरा गर्दै जाँदा प्राय: सबैका आँखा रसाएकै थिए ।
नेपालका धेरै अस्पताल चाहारेको, समयमा रोग पत्ता नलागेको गुनासो धेरैको थियो । नेपालका अस्पताल र डाक्टरमाथि रिस देखाउने पनि उत्तिकै थिए ।
१७ दिनको बसाइको क्रममा मलाई नेपालकै कुनै शहरमा बसेजस्तै भान भयो । अस्पतालको ३ किलोमिटर वरपर जता गएपनि नेपाली नै भेटिन्थ्यो । त्यहाँका धेरै घर तथा फ्याटहरू नेपालीले नै भरिएका थिए ।
भारतमा रोग पत्ता लागेपछि म उपचार नेपालमै गर्छु भनी फर्किएँ । आर्थिक अवस्था कमजोर भएको कारण नेपाल आउने कुरा डा.दिनेश भुरानीलाई भनें । उहाँले आफैंले पढाएको विद्यार्थी छ भन्दै नेपालको एक सरकारी अस्पतालका डक्टरको नाम सिफरिस गर्नुभयो । ती डाक्टरलाई भेट्न गएँ । भारतका बरिष्ठ डक्टरले सिफारिस गरेका ती डाक्टरलाई भेट्न जाँदा उनले अचम्मको प्रस्ताव गरे । उनले भने-म तपाईंलाई सरकारले दिने एक लाख मिलाइदिन्छु फलानो अस्पताल जानू भनेर एक निजी अस्पतालको नाम लिए ।
सरकारले क्यान्सर भएका व्यक्तिका लागि एक लाख दिनेरहेछ । त्यो पैसा निजीमा गएर खर्च गरोस् भन्ने चाहना उनको देखियो । म छाँगाबाट खसेझैं भएँ ।
उनको नाम लिएर म दिल्लीदेखि आएको थिएँ । उनले मेरा कयौँ प्रश्नको जवाफ राम्रोसँग दिएनन् । खाली निजीमा जाऊ मात्रै भनिरहे । सरकारी अस्पतालमा उपचार गर्न आएको बिरामीलाई डाक्टरले नामै तोकेर निजीमा जाऊ भन्न मिल्छ ?
अहिले नेपालमा सरकारी आँकडा अनुसार १००० मा १ जना लाई क्यान्सर छ भन्ने देखिन्छ तर यो आँकडा नेपालमै उपचार गराइरहेका मात्र को हो भन्ने लाग्छ । भारत र अन्य देशमा गएर उपचार गर्नेको सख्या जोड्दा यो धेरै बढी छ ।
धेरैको अवस्था भयावह छ ।
मलाई व्यक्तिगत रुपमा ठूलो गुनासो छैन म त भाडामै भए पनि राजधानीमा बस्छु । मलाई म काम गर्ने संस्थाबाट ‘कार्यालयको चिन्ता नगर्नू , ढुक्कले उपचार गर्नू’ भन्ने भरोसा मिलेको छ । मैले गुगल, एआईमा खोजेर धेरै समाधान पाएँ । तर विकट गाउँका अशिक्षित व्यक्ति, निम्न आय भएकाहरूलाई क्यान्सर हुँदा के होला हालत ?
त्यस्ता थुप्रै नागिरकहरू हस्याङ-फस्याङ गर्दै भारत पुगेका छन् । उनीहरूले कसरी उपचार गरुन् राजीव गान्धीजस्तो महंगो अस्पतालमा ? म त्यहाँ रहँदा एक जना दिदीले सुनाउनुहुन्थ्यो-दुई जना नेपाली बिरामीले भारतमै आत्महत्या गरेको रहेछन् ।
सरकारी अस्पतालमा दैनिक जसो बिरामीले भोग्ने समस्या कहालीलाग्दो छ । प्राण घातक रोग लागेका बिरामीलाई झर्को लाग्ने, रिस उठ्ने , आत्तिने भइरहेको हुन्छ । उपचार क्रममा कतिलाई त एन्जाइटी, डिप्रेसनसम्म हुन्छ ।
एकातिर रोगको त्रास, समयमै पालो नआउने, आवश्यक परीक्षणका लागि चाहिने उपकरण छैनन् । डाक्टरलाई भेट्दा पनि बिरामीको चापले गर्दा राम्रोसँग परामर्श दिन सक्ने अवस्था छैन । कतिपय डाक्टरले आफ्नो व्यक्तिगत समयलाई पनि बिरामीको उचपारमा लगाइरहेको देख्छु ।
नेपालको स्वास्थ्यमा अघोषित दलाल छन्, जसले बिरामीलाई सकेसम्म नेपालमा होहन गर्ने नभए भारतीय अस्पतालसँग सेटिङ मिलाएर धुत्छन् ।
म विशेष गरी अहिले देशको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु
किन सरकारले लाखौ क्यान्सर रोगीलाई नेपालमै रोग पहिचान र उपचार हुन्छ भनेर विश्वास दिलाउन सकेन ?
नेपालमा अस्पताल छन्, डाक्टर छन तर क्यान्सरको छिटो पहिचान र उपचारका लागि भारतमै पुग्नुपर्ने ? आज अर्बौ रकम बाहिरिएको छ, बिरामीले सास्ती पाइरहेका छन् ।
के निमुखा नेपालीले क्यान्सरजस्तो जटिल रोग लागेपछि अलिअलि भएको सम्पति पनि सकेर मेरो भाग्य नै यस्तो भनी मृत्यु कुरेर बस्नुपर्ने हो ?
म अब नरहन पनि सक्छु भनेर परिवारका लागि चिठी लेखेर, कार्यालयको गाडी कार्यालयमै लगेर छोडेर उपचारका लागि भारत गएको थिएँ । अहिले किमोथेरापी गर्ने गर्न आफैँ गाडी चलाएर अस्पताल आउन सकेको छु ।
म जस्तै क्यान्सर देखिए पनि निको हुन्छ । नेपालमै उपचार हुन्छ । भनी ढुक्क हुने वातावरण बनाउनुहोस् कृपया । यसले रोग निको हुने आशमा विदेशी भूमिका गएर आँसु र पैसाको खोलो बगाइरहेका धेरै नेपालीलाई राहत मिल्नेछ ।
मेरो यत्ति आग्रह छ ।
मलाई आत्मविश्वास दिलाउने, भरोसा दिने, उपचार प्रक्रिया सहयोग गर्ने, सल्लाह दिने सबै प्रति नमन ।
प्रतिक्रिया 4