+
+
Shares

अब जीउको गन्धबाटै पत्ता लाग्नेछ बिमार, कुन रोगमा कस्तो गन्ध हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १३:२१

शरीरबाट निस्कने गन्ध भन्ने बित्तिकै सरसफाइ वा पसिनासँग मात्रै जोड्छौं हामी । तर, वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धानले भने हाम्रो जीउबाट निस्कने गन्धभित्र हाम्रो स्वास्थ्यको रहस्य लुकेको तथ्य पत्ता लगाएको छ ।

विभिन्न अध्ययनहरुबाट के सावित भएको छ भने शरीरबाट निस्कने गन्धको आधारमा पार्किन्सन, मलेरिया तथा क्यान्सर जस्ता रोगहरुको बारेमा सुराक प्राप्त गर्न सकिन्छ ।

पार्किन्सनको गन्ध

मानिसहरूमा हुने रोगमध्ये पार्किन्सनलाई अहिलेसम्मकै सबैभन्दा कठिन रोगमा लिइन्छ । किनकि यसको सुरुवाती निदान निकै कठिन हुन्छ ।

बेलायतको म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकहरुले यही रिक्ततालाई पूर्ति गर्नेगरी एउटा महत्वपूर्ण खोज गरेका छन् ।

उनीहरुले पार्किन्सन भएका बिरामीहरुको छालाबाट निस्किएको चिल्लो पदार्थ अर्थात् सेबमको नमूना संकलन गरी त्यसको mass spectrometry मार्फत् विश्लेषण गरे ।

त्यसमा करिब ३० वटा यस्ता वाष्पीकृत हुने कार्बनिक यौगिकहरू (volatile organic compounds) पाइए, जो केवल पार्किन्सनका बिरामीहरुमा मात्रै विद्यमान थिए । त्यसमा eicosane र octadecana जस्ता विशेष खालका यौगिकहरू पनि सामेल थिए ।

यो खोज यतिधेरै महत्वपूर्ण बनेको छ कि अब केवल छालाको स्वाबको एक नमूनाको परीक्षण गरी ३ मिनेटमै मानिसमा पार्किन्सन भए नभएको पत्ता लगाउन सकिन्छ ।

बीबीसीसँगको कुारकानीमा शोधकर्ता प्राध्यापक पेर्डिटा बर्रानले कुनैपनि मानिसको गन्धका आधारमा उसको शरीरमा भएको रोगको सटिक तरिकाले पहिचान गर्न सकिएको यो पहिलोपटक हो ।

मलेरिया र बच्चाको गन्ध‍

सन् २०१८ मा केन्यामा भएको एक अध्ययनले पनि सबैलाई अचम्मित तुल्याउने खालको नतिजा दिएको थियो । उक्त अध्ययनका क्रममा ५६ जना बच्चाको पाइतालाको गन्धको नमूना संकलन गरिएको थियो । त्यसको परीक्षणका क्रममा मलेरिया संक्रमित बच्चाहरुको शरीरबाट heptanal, octanal तथा nonanal नामक aldehydes पदार्थहरु अधिक मात्रामा निस्कने गरेको पाइयो । उक्त गन्ध एक प्रकारको फलफूल तथा घाँसबाट निस्कने गन्धजस्तै हो र खासगरी यसले लामखुट्टेलाई आकर्षित गर्दछ । त्यसैले यस्तो गन्धले केवल व्यक्तिमा मलेरियाको संक्रमण भएको मात्र संकेत दिंदैन, यो लामखुट्टेलाई आकर्षित गरेर मलेरिया रोग फैलाउने एक अहम कडीपनि बन्न सक्दछ ।

कुकुरभन्दा क्षमतावान कृत्रिम नाक बनाउँदै वैज्ञानिकहरू

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुबाट के पत्ता लागेको छ भने कुकुरले आफ्नो घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमताबाट मानिसमा रहेका क्यान्सर जस्ता रोगहरु समेत पत्ता लगाउन सक्दछ ।

एक अध्ययनका क्रममा प्रयोग गरिएको कुकुरले प्रोस्टेट क्यान्सरका ९९ प्रतिशत मामिलाको सही पहिचान गरेको छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका वैज्ञानिक एन्ड्रिज मेर्शिनको टिमले सोही आधारमा RealNose.ai  नामक परियोजना सुरु गरेको छ ।

यो परियोजनामा मानिसको गन्ध ग्रहण गर्ने कोशिकाहरु अर्थात् olfactory receptors र मेसिन लर्निङको संयोजन गरी एउटा यस्तो कृत्रिम नाक तयार गर्दैछन् जो मानिसको नाकभन्दा शक्तिशाली हुन्छ र अधिक सटिक तरिकाले गन्ध पहिचान गर्न सक्दछ ।

एक रिपोर्टमा शोधकर्ता मेर्शिनले भनेका छन्-हाम्रो लक्ष्य त्यस्तो मेसिन नाक बनाउनु हो जुन कुकुरको नाक भन्दापनि शक्तिशाली होस् अनि जुनसुकै रोगलाई सुँघेर पत्ता लगाओस् ।

वैज्ञानिकहरुका यी शोधहरुबाट के थाहा पाउन सकिन्छ भने मानिसको सरीरको गन्ध कुनै पनि रोगको संक्रमणको घण्टी हुनसक्छ । यसबाट रक्त परीक्षणविना तथा बायोप्सी नगरीकनै पनि रोगको निदान अर्थात् डायग्नोसिस गर्ने नयाँ मार्ग प्रसस्त भइरहेको छ ।

भविष्यमा डाक्टरहरुले अब बिरामीहरुको गन्धबाटै रोग पत्ता लगाउन सक्ने दिन पनि आउन सक्छ ।

कुन बिरामीको गन्ध कस्तो ?

मधुमेह : यदि कुनै मानिसको शरीर वा स्वासको गन्ध कुहेको फल जस्तै छ भने यसो हुनुको कारण चाहिँ रगतमा किटोन बडीजमा वृद्धि भएर हुनसक्छ, जुन मधुमेहको संकेत हो ।

कलेजो रोग : शरीर तथा स्वासबाट कुहेको अण्डा वा सल्फर जस्तो गन्ध आउनु ।

मिर्गौला रोग : श्वासबाट माछा वा अमोनिया जस्तो गन्ध आउनु ।

क्षयरोग : श्वासबाट बासी बियरजस्तो वा छालाबाट भिजेको कार्डबोर्ड पेपर जस्तो गन्ध आउनु ।

औलो : बच्चाको छालाबाट घाँसको जस्तो मिठो गन्ध आउनु ।

पार्किन्सन रोग : शरीरबाट पुरानो काठजस्तो कडा गन्ध आउनु ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?