 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- वीर अस्पतालको दन्त विभागमा गुणस्तरहीन सामग्रीका कारण ब्रेसेस बाँध्ने सेवा करिब एक वर्षदेखि प्रभावित छ।
- अस्पतालका कर्मचारीले गुणस्तर नपुगेपछि नयाँ सेवाग्राहीको उपचार रोकिएको बताए।
- अस्पताल निर्देशक डा. दिलीप शर्माले खरिद प्रक्रिया छुट्टै कमिटीले गर्ने र गुणस्तरहीन सामग्रीको विषयमा जानकारी नहुने जिकिर गरे ।
१४ साउन,काठमाडौं । वीर अस्पतालको दन्त विभागमा ब्रेसेस बाँध्ने लगायत विशेष सेवा प्रभावित भएका छन् ।
ब्रेसेस बाँध्न नयाँ सेवाग्राहीका लागि उपचार ठप्प छ । करिब एक वर्षदेखि सेवाग्राही नाम टिपाएर कुरिरहेका छन् ।
सेवा प्रभावित हुनुको प्रमुख कारण सामान खरिद प्रक्रियामा ढिलाइ हुनु हो ।
खरिद शाखाका एक कर्मचारीका अनुसार ढिला गरी आएको समान पनि गुणस्तर कमजोर भएकाले सेवा झनै प्रभावित बनेको छ ।
मंगलबार दाँतको उपचारका गर्न वीर अस्पताल पुगेकी १८ वर्षीय गीता घिमिरेले ६ महिनादेखि पालो कुर्नु परेको गुनासो गरिन् ।
‘वीरमा राम्रो उपचार हुन्छ भनेर कुरेको वर्ष दिन बित्न लाग्यो । खै कहिले सामान आएर उपचार हुने हो,’ घिमिरेले भनिन् ।
अस्पतालका एक कर्मचारीका अनुसार नयाँ सेवाग्राहीलाई उपचार सञ्चालनका लागि आवश्यक सामग्री अस्पतालमै आइपुगे पनि गुणस्तर न्यून भएकाले फिर्ता पठाइएको छ । तर त्यसपछि अर्को गुणस्तरीय सामान अझै नआएकाले सेवा रोकिएको हो ।
‘जुन स्पेसिफिकेसन लेखिएर पठाइएको हुन्छ । तर सामान आउँदा अर्कै आइपुग्छ,’ ती कर्मचारीले भने, ‘अब लिउँ भने सेवाग्राहीको उपचारमा असर गर्छ, नलिउँ भने माथिको निर्देशन उल्लंघन हुन्छ ।’
ती कर्मचारीले अनुसार विभागले तोकेको गुणस्तरको सामग्री नआउँदा ब्रेसेस बाँध्ने सेवा हाल स्थगित अवस्थामा छ ।
‘फलोअपमा आएका सेवाग्राहीलाई त हेर्दैछौं, तर नयाँ केस लिन सकिएको छैन,’ ती कर्मचारी बताए ।
सामग्रीको गुणस्तरको विषयमा अस्पताल व्यवस्थापन र खरिद इकाइ को भूमिकामाथि समेत प्रश्न उठेको छ ।
स्रोतका अनुसार विभागीय प्रमुख वा खरिद इकाइको दूरदर्शिता अभावले समस्या चुलिएको हो ।
‘डाइरेक्टरले जिम्मेवारी लिनु पर्ने हो, तर उहाँ चुप लागेर बस्नुहुन्छ,’ ती कर्मचारीले आरोप लगाए, ‘सप्लायर्सलाई गुणस्तरीय सामग्री ल्याउन दबाब दिनुपर्ने ठाउँमा उल्टै हामीलाई उपचार थाल्न दबाब आउँछ ।’
हाल वीर अस्पतालमा सामान्य मेटल ब्रेसेसको शुल्क ४० देखि ५० हजारसम्म लिइन्छ । जुन निजी अस्पतालमा एक लाखभन्दा बढी लिने गरेको छन् । जसका कारण आर्थिक रूपमा कमजोर सेवाग्राही प्रभावित छन् ।

दन्त विभागका प्रमुख डा. प्रमोद कोइराला भने टेन्डर भएर सामान आइसकेको दाबी गरे ।
गुणस्तरहीन सामान आएपछि विभागमा कार्यरत चिकित्सकले सामान नै फिर्ता गरियो भन्ने डा. कोइरालाले पन्छिदै गोलमोटल जवाफ दिए ।
वीर अस्पतालको दन्त विभागमा ६ वटा शाखा छन् ।
‘टेन्डर प्रक्रियामा सबैभन्दा कम मूल्यमा हालेका कम्पनीले पाउने गर्छन्,’ डा. कोइरालाले तर्किँर्दै जवाफ दिए, ‘शाखा प्रमुखले नै माग गर्नुहुन्छ । समान पुग्ने पनि त्यहि हो । यस विषय उहाँहरूलाई थाहा हुन्छ ।’
अस्पताल निर्देशक डा. दिलीप शर्माले समयमै सप्लायर्सले नदिने भएकाले कतिपय सामान नआउँदा सेवा प्रभावित भएको हुनसक्ने बताए ।
गुणस्तरहीन समान आएको गुनासो अस्पतालमा कार्यरत डाक्टरहरूको छ नि ? भन्ने प्रश्नमा डा. शर्माले खरिदको विषयमा आफूलाई ठ्क्याकै जानकारी नहुने जवाफ दिए ।
‘खरिदको विषयमा छुट्टै कमिटी नै हुन्छ । त्यहीँ सोध्नुपर्ला,’ डा. शर्माले भने, ‘ डिटलमा मलाई जानकारी छैन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4