+
+

दलाई लामाको जन्मदिनमा कूटनीतिज्ञ पुगेपछि गृहसँग परराष्ट्रले राख्यो चासो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते २२:२१

२१ साउन, काठमाडौं । तिब्बतबाट निर्वासित बौद्ध धर्मगुरु दलाई लामाको जन्मदिन मनाउन विदेशी कुटनीतिज्ञहरु स्वयम्भुको नाम्गेल स्कुल पुगेपछि परराष्ट्र मन्त्रालयले चासो राखेको छ । परराष्ट्र स्रोतका अनुसार बिहीबार मन्त्रालयले यसबारे गृह मन्त्रालयका पदाधिकारी र प्रहरीसँग चासो राखेको हो ।

जुलाइ ६ अर्थात बिहीबार ८८ वर्ष पुगेका लामाको तिब्बती परम्परा अनुसार जन्मदिन मनाइँदा त्यहाँ सहभागी हुन अमेरिका, फ्रान्स, युरोपेली युनियन र जापानका कुटनीतिज्ञहरु पुगेका थिए । त्यहाँ सहभागी हुनेहरुको विस्तृत विवरण आफूसँग रहेको बताए पनि परराष्ट्र स्रोतले नाम खुलाएन ।

तिब्बती शरणार्थी अगुवाले सरकारी प्रतिनिधिसँग कुनै राजनीतिक, कुटनीतिक कार्यक्रम नभई विशुद्ध सांस्कृतिक तवरले लामाको जन्मदिन मनाउन लागिएको बताएका थिए ।

तर अघिल्लो वर्ष जाउलाखेलको शरणार्थी शिविरमा झैं महत्वका साथ कुटनीतिज्ञहरु स्वयम्भु पुगेपछि परराष्ट्रले चासो राखेको छ । लामाको जन्मदिन कुनै व्यक्तिगत वा सामुदायिक मात्रै नभई नेपालका लागि अति संवेदनशील घटना बन्न पुगेको परराष्ट्रले विश्लेषण गरेको छ । राजनीतिक रंग दिँदै समारोह गरिएपछि नेपाललाई अप्ठेरो पर्न सक्ने अधिकारीहरुको विश्लेषण छ ।

‘आयोजकहरुले हामी संयमित भएर कार्यक्रम गर्छौं भन्नुभएको थियो, नेपालको संवेदनशीलता र एक चीन नीतिबारे उहाँहरुले ख्याल राख्नुपर्ने हो’, परराष्ट्रका उच्च अधिकारीले भने, ‘आज यस्तो कार्यक्रम भयो भन्ने थाहा पाएपछि हामीले गृह मन्त्रालयमा चासो राखेका छौं । प्रहरीको उच्च तहसँग पनि कुरा गरिएको छ ।’

चीनले नेपालसँग हरेकपल्टका भेट, कुराकानीहरुमा तिब्बतका बारेमा मुख्य सरोकार राख्ने गर्छ । नेपालमा तिब्बती शरणार्थीहरु बौद्ध, जाउलाखेल लगायत ठाउँमा बसेका छन् । नेपालले चिनियाँ संवेदनशीलतालाई ख्याल राख्ने भन्दै आएको छ ।

कार्यक्रमको आयोजना टिबेटियन रेफ्युजी वेलफेयर अफिसले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?