+
+

नेपाल प्रहरी समायोजनमा जान तयार छ : आईजीपी कुँवर

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १८:५९

२२ असार, काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समायोजनमा जान नेपाल प्रहरी तयार रहेको जिकिर गरेका छन् ।

नेपाल प्रहरीको कार्ययोजना २०८० र ३ महिनाको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै आईजीपी कुँवरले भने, ‘प्रहरी समायोजनको विषय ५ महिनाभित्र सक्ने गरी सरकारको नीति तथा कार्यक्रममा पनि आएकाले यो विषय प्रहरीको उच्च प्राथमिकतामा छ ।’

प्रहरी समायोजनमा जाँदा केन्द्रको शक्ति खुम्चिने भएकाले यसलाई अघि नबढाइएको आरोप प्रदेशका मन्त्रीहरुले लगाइरहेका छन् । शुक्रबारै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि समायोजनको काम आफ्नै पालामा सक्ने बताएका छन् ।

तर, समायोजनमा जान प्रहरी नेतृत्व नै अनिच्छुक रहेको भन्दै प्रश्न उठेको थियो । त्यसक्रममा आईजीपी कुँवरले भने, ‘नेपाल प्रहरीले गर्ने भनेको राज्यको निर्देशनको कार्यान्वयन हो, प्रदेशबाट पनि यस विषयमा प्रेसर परेको छ । सम्भवतः यो काम तोकिएको समयमा पूरा हुन्छ भन्नेमा सचेत छौं ।’ त्यसका लागि प्रहरी प्रधान कार्यालयले आफ्नो तयारी समेत गरिरहेको उनले बताए ।

अर्को प्रसंगमा आईजीपी कुँवरले अहिले संगठन सुधारका लागि उपयुक्त वातावरण रहेको बताए । ‘राजनीतिक नेतृत्वदेखि लिएर हरेक कुराले अहिले संगठन सुधारका लागि उपयुक्त समय छ’ उनले भने, ‘त्यसका लागि नेपाल प्रहरी कार्ययोजना, २०८० ल्याएर काम गरिरहेका छौं ।’

कुँवरले आफ्नो कुनै स्वार्थ नभएको बताउँदै प्रहरीको छवि सुधार्नका लागि आफ्नो कार्यकाल उत्पादक हुने समेत सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?