+
+

म थाकेको छैन, फेरि संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

‘देशको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री हो’

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १८:१६

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन् ।

शनिबार काठमाडौंको बूढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताए ।

‘म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन’ उनले भने ।

नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरुबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु बदल्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरुलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु’ थापाले भने, ‘त्यो बदलिनुपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीं दलभित्रै छ ।’

थापाले अगाडि भने, ‘एक पटक दलको चुनाव जितेपछि सधैंभरि जित्यो भन्ने छैन,। दलको चुनाव जितेको ठाउँमा बकाइदासँग त्यसलाई बदल्न सकिन्छ ।’

थापाले २०६४ सालको संविधानसभा चुनावपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच संसदीय दलको नेताको चुनाव हुँदा पौडेल निर्वाचित भएका बेलामा पार्टीले सर्वसम्मत प्रधानमन्त्री चयन हुने अवस्था आएमा देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको पनि स्मरण गरे ।

यसबारे थापाको भनाइ यस्तो छ : 

‘म त एउटा सन्दर्भ पनि सम्झन्छु । शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचमा चुनाव भएको थियो । रामचन्द्र पौडेलले दलको नेता जित्नुभयो, शेरबहादुर देउवा पराजित हुनुभयो । र नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने कुरा आयो । त्यतिबेला दुईटा तर्क आयो, एउटा तर्क के आयो भने रामचन्द्र पौडेल दलको नेता भएकाले अर्को हुनै पाउँदैन ।

तर त्यो बेलामै आदरणीय नेता शेरबहादुर देउवाले के तर्क गर्नुभयो भने देशको आवश्यकता म भयो भने सबैलाई सम्हाल्छु, त्यसकारणले म हुनुपर्छ भन्नुभयो । अनि पछि पार्टीले के निर्णय गर्‍यो भने बहुमत भएर निर्वाचित भयो भने रामचन्द्र पौडेल हुनुहुुन्छ, तर सर्वसम्मत हुनुहुन्छ भने शेरबहादुर देउवा हुनुहुुन्छ भनेर निर्णय गर्‍यो । किनकी देशको आवश्यकता छ भनेर पार्टीले त्यो निर्णय गर्‍यो ।

अहिले म त्यही भन्दैछु । देशको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधनमन्त्री बन्ने कुरा हो । दलको नेता रामचन्द्र पौडेल हुँदै गर्दा शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार बन्न मिल्ने हो भने शेरबहादुर देउवा दलको नेता हुँदा गगन थापा प्रधानमन्त्री हुन किन नमिल्ने हो त ? मिल्ला नि त त्यहाँ पनि ? ठाउँ त त्यहाँ पनि होला, हाम्रै पार्टीभित्र गरेर आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?