+
+

काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स सेवा कसरी लिने ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार २६ गते १३:२३
रामप्रसाद पौडेल, काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग प्रमुख

काठमाडौं । काठमाडौं महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेको छ । मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंभित्र कुनै पनि ठाउँमा जान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको घोषणा गरेका थिए ।

महानगरले निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको कुरा थाहा भए पनि धेरैलाई सेवा कसरी लिन सकिन्छ भन्नेबारे राम्रो जानकारी नहुन सक्छ ।

निःशुल्क एम्बुलेन्स सेवा कसरी लिन सकिन्छ भन्नेबारे हामीले काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलसँग गरिएको कुराकानी :

काठमाडौ महानगरको निःशुल्क एम्बुलेन्स सेवा कसरी लिन सकिन्छ ?

काठमाडौं महानगरपालिकाले उपलब्ध गराउँदै आएको एम्बुलेन्स सेवा लिनको लागि सेवाग्राहीले सबैभन्दा पहिले १०२ मा फोन गर्नुपर्छ । त्यसपछि बिरामीको सामान्य लक्षणहरूको बारेमा बताउनुपर्छ । बिरामीको लक्षण अनुसार नै प्राथमिक उपचार गर्ने नर्सले त्यसको तयारी गर्छन् ।

फोन गरेको कति समयमा एम्बुलेन्स बिरामीकहाँ पुग्छ ?

बिरामीले फोन गरेको पाँचदेखि १५ मिनेटभित्र एम्बुलेन्स बिरामी भएको ठाउँमा पुगिसक्छ । एम्बुलेन्स जान नसक्ने बाटोभित्र पुग्न केही समय लाग्न सक्छ । त्यसभन्दा बाहेक १५ मिनेटभित्र एम्बुलेन्स पुग्छ ।

सेवाको लागि महानगरसँग कतिवटा एम्बुलेन्स छ ?

अहिले महानगरसँग १० वटा एम्बुलेन्स उपलब्ध छ । अझ बढी सेवामैत्री हुनका लागि अरू एम्बुलेन्स थप गर्ने तयारी पनि भइरहेको छ ।

म्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क नै हो ?

काठमाडौं महानगरले उपलब्ध गराउने एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क हो । यो सेवाको लागि एक रुपैयाँ पनि बिरामीले तिर्नु पर्दैन । यदि कसैले एम्बुलेन्स सेवा लिएबापत पैसा तिर्नुपरेको छ भने काठमाडौं महानगरमा खबर गर्न सकिन्छ ।

अरू एम्बुलेन्स भन्दा के फरक छ ?

महानगरले उपलब्ध गराइरहेको एम्बुलेन्समा आधारभूत उपचार गर्न स्वास्थ्यकर्मी हुन्छन् । आधारभूत उपचारको लागि आवश्यक पर्ने अक्सिजन, प्राथमिक उपचार बक्स लगायतका सामग्री हुन्छ । जसले गर्दा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सहज हुन्छ ।

यो सेवा २४ सै घण्टा लिन सकिन्छ ?

बिरामीले २४ घण्टा यो सेवा लिन सक्छन् । जुनसुकै समयमा १०२ मा फोन गरेर बिरामीले एम्बुलेन्स बोलाउन सक्छन् ।

काठमाडौ महानगरबाहिरका व्यक्तिहरूले यो सेवा लिन मिल्छ कि मिल्दैन ?

अहिले यो सेवाको लागि पहिलो प्राथमिकता भनेको काठमाडौं महानगर क्षेत्रभित्र नै हो । कतिपय अवस्थामा काठमाडौं उपत्यकाका अन्य पालिकासम्म पनि यो सेवा दिइएको छ । यदि बुढानीलकण्ठमा बस्ने व्यक्तिलाई एम्बुलेन्स आवश्यकता परेर महानगरमा फोन गरे भने सम्भव भएसम्म बुढानीलकण्ठकै एम्बुलेन्स सेवा लिने सल्लाह दिइन्छ । तर यदि बुढानीलकण्ठको व्यक्तिको रिङरोडमा दुर्घटना भयो र तत्काल एम्बुलेन्स चाहियो भने त्यहाँ एम्बुलेन्स पुग्छ ।

काठमाडौं महानगरमा बसोबास गर्ने नागरिकलाई लक्षित गरेर यो सेवा उपलब्ध गराइएको हो । तर पनि आवश्यक पर्दा जुनसुकै बिरामीले यो सेवा लिन सक्छन् ।

सबैखाले बिरामीले यो सेवा लिन सक्छन् ?

सबै प्रकारका इमर्जेन्सी केसमा यो सेवा लिन सकिन्छ । तर कतिपय अवस्थामा त सामान्य पेट र टाउको दुखाइमा पनि आत्तिएर एम्बुलेन्स बोलाएको उदाहरण पनि छन् । जस्तो अवस्थामा पनि बिरामीले फोन गरेपछि सम्भव भएसम्म छिटो एम्बुलेन्स बिरामी भएको ठाउँमा पुग्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?