+
+
मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिम ढाकामा :

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १९:२९

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो ।

त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको छ ।

‘फिफा इन्टरनेशनल वुमन्स पुटबल सिरिज २०२३’ नाम दिइएको नेपाल र बंगलादेशबीचको खेल असार २८ र ३१ गते ढाकामा हुनेछ । यो खेललाई नेपालले आगामी सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने १९औं एसियन गेम्सको तयारीको रुपमा समेत लिएको छ ।

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला टोलीको प्रशिक्षकमा अनन्त राज थापा छन् । उनले गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । गत वर्ष साफ च्याम्पियनसिपमा कुमार थापा प्रशिक्षक थिए । फाइनल हारेपछि उनले पद छाडे । त्यसपछि अनन्त थापाले नै महिला टोलीको प्रशिक्षण हेर्दै आएका छन् ।

भारतसँगको दुई मैत्रीपूर्ण खेल र पेरिस ओलम्पिकको छनोट अन्तर्गत एसियन छनोटमा भियतनामसँग दुई खेल खेल्दा अनन्त नै नेपालको प्रशिक्षक थिए । साफ फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदा अनन्त थापा टेक्निकल स्टडी ग्रुपमा थिए । त्यसबेला उनले दक्षिण एसियाका महिला टोलीहरुको खेल राम्रोसँग हेरेका थिए ।

त्यही साफ फाइनलमा बेहोरेको हारको बदला लिने लक्ष्य यस पटक नेपालको छ । सोमबार एन्फा कम्पेलेक्समा भएको बिदाइ कार्यक्रममा प्रशिक्षक अनन्तले बंगलादेश राम्रो टिम भएको र नेपालले पनि यस खेलका लागि राम्रो तयारी गरेको बताए ।

‘बंगलादेश राम्रो टिम हो । पछिल्लो समय उनीहरुले राम्रो गरिरहेको छ । हामीले पनि राम्रो तयारी गरेका छौं र जित्ने लक्ष्यसहित जाँदैछौं,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भने ।

गत वर्षको साफमा बंगलादेशले भारतलाई ३-० ले हराएको थियो भने फाइनलमा नेपाललाई ३-१ ले हराएर उपाधि जितेको थियो । त्यसपछि नेपालले उनै अनन्त थापाको प्रशिक्षणमा चार खेल खेल्दा भारतसँग दुवै खेल बराबरी गरेको थियो भने भियतनामसँग दुवै खेलमा पराजित भएको थियो ।

गत सेप्टेम्बरमा साफमा नेपालाई हराएपछि बंगलादेशले भने पहिलो पटक खेल्न लागेको हो । ओलम्पिक छनोटमा बंगलादेशले नाम फिर्ता लिएपछि खेल्न पाएन । दुई खेलका लागि नेपाली टिम पूर्ण रुपमा तयार रहेको उनले बताए । भने ‘समग्रमा तयारी राम्रो छ । फिटनेसमा समस्या छैन ।’

चोटका कारण यसअघि ओलम्पिक छनोटमा भियतनामसँगको खेल गुमाएका डिफेण्डर गीता राना र मिडफिल्डर प्रिती राईले टिममा पुनरागमन गरेका छन् । यी दुई खेलाडीको पुनरागमनले पनि टिमलाई सहयोग पुग्ने प्रशिक्षक अनन्त थापाको विश्वास छ ।

यस्तै अन्जली वाइवाले पनि लामो समयपछि टिममा स्थान बनाएकी छन् । दुवैले अभ्यासमा राम्रो गरेको प्रशिक्षकले बताए ।

नेपाली टिमकी स्टार तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बाको फर्म नेपालको लागि बलियो पक्षको रुपमा रहेको छ । गोकुलम केरलाबाट इन्डियन वुमन्स लिग लिग जित्दै सर्वाधिक गोलकर्ता समेत बनेकी सावित्रा केही समय अघि मात्रै इजरयाली क्लब हापोएल रानानामा अनुबन्ध भएकी छन् र उनी युरोपियन लिग खेल्न जाने तयारीमा छिन् ।

गत वर्ष साफका बेला साम्बा पूर्ण रुपमा फिट थिइनन् । यस पटक भने उनै सावित्रा नेपालको लागि मेसी जस्तै रहेको प्रशिक्षकले बताएका छन् । ‘सावित्रा युरोपियन लिग खेल्न जाँदैछन् । उनी लयमा हुनु राम्रो छ । साविधा टिममा हुनु भनेको अर्जेन्टिनामा लिओनल मेसी हुनु जस्तै हो’, अनन्तले सावित्राको महत्वबारे भने ।

प्रशिक्षक अनन्तले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलले एसियन गेम्सको तयारीका लागि धेरै सहयोग पुग्ने बताए । यद्यपी एसियन गेम्सका लागि बालगोपाल महर्जनले महिला टिमलाई प्रशिक्षण दिँदै आएका छन् ।

एन्फाले अनन्त र राष्ट्रिय खेलकुद परिषदले बालगोपाललाई महिला टिमको प्रशिक्षक बनाएपछि केही समय अन्योलको स्थिति बनेको थियो । एन्फाले भने बंगलादेशसँगको खेलका लागि अनन्तलाई नै निरन्तरता दिएको छ ।

प्रशिक्षक अनन्तले पनि फुटबल संघले दिएको जिम्मेवारी पूरा गर्ने बताए । फुटबल संघले जे भन्छ आफूले त्यही गर्ने उनले बताएका छन् ।

बंगलादेशसँगको खेलका लागि तयारी गर्नुअघि एसियन गेम्सको तयारीमा बालगोपाल महर्जनले महिला टिमलाई प्रशिक्षण दिँदै आएका थिए । अब बंगलादेशबाट फर्केपछि कसले प्रशिक्षण दिने भन्ने अझ निश्चित भएको छैन । पहिलो पटक महिला फुटबल टिमले एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?