+
+

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १७:४७

३१ असार, काठमाडौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक रह्यो ।

७ खेलाडीले सहभागिता जनाएको यो प्रतियोगिता सहभागितामै सिमित रह्यो । अपेक्षा गरिएका र लक्ष्य राखेका खेलाडीको प्रदर्शन पनि त्यस अनुसार हुन सकेन ।

आइतबार महिला ५ हजार मिटर दौडमा राजपुरा पछाई दौडिएपछि नेपालको चुनौती सकिएको छ । उक्त स्पर्धामा १२ जना दौडँदा राजपुरा १७ मिनेट ५८.५४ सेकेण्ड समय निकाल्दै नवौं स्थानमा रहिन् ।

यस इभेन्टमा नेपालको राष्ट्रिय कीर्तिमान कान्छिमाया कोजुको नाममा छ । कान्छिमायाले २०१० को एसियन गेम्समा १६ मिनेट ४९.९८ सेकेण्डको समयसहित कीर्तिमान बनाएकी थिइन् ।

नेपालबाट महिलामा राजपुरा र फुलमति राना तथा पुरुषमा पाँच गरी कूल ७ खेलाडीले सहभागिता जनाएका थिए ।

फुलमतीले महिला १५०० मिटरमा ४ मिनेट ४९.७२ सेकेण्ड समयम निकालिन् । यसमा सरस्वती भट्टराईले २०१६ को रियो ओलम्पिकमा ४ मिनेट ३३.९४ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

यस्तै पुरुषतर्फ एक सय र दुई सय मिटरमा शिवराज पार्की र आयुष कुँवर दौडिएका थिए । कीर्तिमान सुधार गर्ने लक्ष्य राखे पनि दुवै सफल भएनन् ।

एक सय र दुई सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राम कृष्ण चौधरीको नाममा छ । १०० मिटरमा उनले १९९९ को साउथ एसियन गेम्समा बनाएको १०.७१ सेकेण्डको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

थाइल्याण्डमा आयुषले १०० मिटर दूरी ११.२० सेकेण्डमा पूरा गर्दा शिवराजले ११.२२ सेकेण्डमा पूरा गरे ।

शिवराजले गत वर्ष नवौं राष्ट्रियमा १०० मिटरमा स्वर्ण जितेका थिए भने आयुषले एसियन च्याम्पियनसिपका लागि भएको छनोटमा राम्रो गरेका थिए ।

यस्तै दुई सयम मिटरमा आयुषले २२.४० र शिवराजले २२.६२ सेकेण्डमा दूरी पूरा गरे ।

यस इभेन्टमा रामकृष्ण चौधरीले १९९५ मा भारतमा भएको साउथ एसियन गेम्स र १९९९ मा काठमाडौंमा भएको साउथ एसियन गेम्समा २१.९२ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

मध्यम दूरीमा सोमबहादुर कुमालले ४०० र ८०० मिटरमा दौडिए । ४०० मिटर दौडमा ३३ वर्ष पुरानो कीर्तिमान तोड्नबाट थोरैले चुकेका उनी ८०० मिटरमा आफ्नै नाममा रहेको कीर्तिमानको छेउ पुग्न सकेनन् ।

४०० मिटरमा आशाराम चौधरीले १९९० मा ४८.३२ सेकेण्डको कीर्तिमान बनाएका थिए । यस पटक सोम त्यसको नजिक पुगेर पनि चुके ।

सोमले ४०० मिटर दूरी ४८.३३ सेकेण्डमा पूरा गरे ।

८०० मिटरमा भने यसअघि उनले २०१८ को एसियन गेम्समा १ मिनेट ५०.२५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

यस पटक उनले निर्धारित दूरी १ मिनेट ५१.७० सेकेण्डमा पूरा गरे ।

पुरुष १५०० मिटरमा नेपालका मुकेश पाल १९ खेलाडीमध्ये १३औं स्थानमा रहे । उनले निर्धारित दूरी ३ मिनेट ५३.३१ सेकेण्डमा पूरा गरे ।

यस इभेन्टमा राष्ट्रिय कीर्तिमान गोपबहादुर अधिकारीको नाममा छ । उनले सन् १९९३ को साउथ एसियन गेम्समा ३ मिनेट ४६.६३ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

पुरुष १० हजार मिटरमा नेपालका दीपक अधिकारी १५ धावकमा दशौं स्थानमा रहँदा निर्धारित दूरी ३१ मिनेट १८.९६ सेकेण्डमा पूरा गरे ।

यस इभेन्टमा गोपीचन्द्र पार्कीले २०१४ को इन्चोन एसियन गेम्समा ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

एसियन एथ्लेटिक्स च्याम्पियनसिप खेलेका ७ मध्ये दिपक अधिकारी र सोमबहादुर कुमाल र राजपुरा पछाई मात्र चीनमा सेप्टेम्बर-अक्टोबरमा हुने एसियन गेम्समा पनि छानिएका छन् । यी तीनले एसियन गेम्समा पनि सोही इभेन्टमै प्रतिस्पर्धा गर्नेछन् ।

एसियन गेम्समा छनोट हुने अन्य खेलाडीमा म्यारथनमा राजन रोकाय तथा ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की छन् ।

यस्तै महिलातर्फ म्यारथनमा पुष्पा भण्डारी र १० मिटर दौडमा सन्तोषी श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?