+
+

कलाकार सारुक ताम्राकारको मोबाइलको रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १८:४९

३१ असार, काठमाडौं । रातोपुलको शहीद मार्गस्थित घरमा मृत भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइल जाँचसम्बन्धी रिपोर्ट आउन कम्तिमा पनि दुई साता लाग्ने देखिएको छ ।

असार २१ गते घरमा झुण्डिएको अवस्थामा फेला परेका सारुकको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।

ल्याबका एक अधिकृतका अनुसार, देशभरिको प्रहरी कार्यालयबाट डिजिटल जाँचका लागि प्राप्त हुने विवरण प्रहरी प्रधान कार्यालयको डीएफएलबाटै परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट तयार गर्न समय लाग्छ । रिपोर्ट दिएपछि पनि डीएफएल जाँचमा संलग्न अधिकृतले पछि अदालतमा बकपत्र समेत दिनुपर्ने भएकाले रिपोर्ट आउन समय लाग्ने उनले बताए ।

उनका अनुसार, सामान्यतयाः डीएफएल चाँजको नतिजा आउन अढाइ महिनासम्म लाग्ने गरेको छ । तर, राष्ट्रिय महत्व र चर्चामा रहेकाहरु शंकास्पद घटनाहरुमा प्रहरीले प्राथमिकता दिएर पहिले छानबिन गर्ने गरेको उनले बताए ।

‘त्यसरी फास्ट ट्याकबाट काम हुँदा पनि रिपोर्ट आउन कम्तिमा दुई साता लाग्छ’, एक अधिकृत भन्छन्, ‘डीएफएलमा खटिने जनशक्ति थोरै र कामको चाप धेरै भएकाले समय लागेको हो, यद्यपि यसमा यथाशक्य चाँडो नतिजा दिने गरी प्रयास गरिरहेका छौं ।’

शव भेटिँदा बजिरहेको थियो मोबाइल

प्रहरी वृत्त, मालिगाउँको टोलीलाई सारुक झुण्डिएको अवस्थामा भेटिएको भन्दै २१ असारको राति ११ बजे परिवारले खबर गरेका थिए ।

‘हाम्रो टोली पुगेर हेर्दा बाहिरबाट कसैको कोठामा इन्ट्रान्स भएको देखिएन, उनी एक्लै ढोका बन्द गरेर भित्र बसेका थिए’, मालिगाउँका एक प्रहरी अधिकृत भन्छन्, ‘उनको शवलाई निकालेर घरमा सर्च ग¥यौं, त्यसक्रममा कुनै नोट वा त्यस्तो अरु कुनै वस्तु फेला पारेनौं ।’

घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेको पाइएको एक अधिकृत बताउँछन् ।

हालै परिवारले घटनाको विषयमा सत्य, तथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरी वृत्त, मालिगाउँमा जाहेरी दिएको छ । योबीचमा छानबिनले आत्महत्याबाहेक अन्य कुनै कारण नदेखाएको ती अधिकृत बताउँछन् ।

‘आत्महत्यामा कुनै डाउट नभएपछि हाम्रो टोली पनि त्यहाँ खटिएन’, उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, ‘सुसाइड नोट नभेटिएकाले मृत्युको कारण चाहिँ अन्यौलमा रह्यो ।’

यहीबीच, कलाकारहरुले विभिन्न प्रसंगहरु निकाल्दै ताम्राकारको मृत्यु शंकास्पद रहेको दाबीसहित छानबिनको माग गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकाल्दै ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गरेर कोही दोषी देखिए सत्यतथ्य उजागर गरेर कानुनी दायरामा ल्याउन भनेको छ ।

ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले ‘के कारण उनले आत्महत्या ?’ गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उनले सोधकी थिइन्, ‘अन्तिम दिनहरुमा उनीसँग को–को थिए ? उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’

उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् । ‘के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? के उनलाई दुव्र्यवहार गरिएको थियो ? के उसलाई चोट पु¥याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ?’, उनले थपेकी छन् ।

उनले गरेको यो प्रश्नहरुलाई कला क्षेत्रका अरुले पनि शेयर गरेका छन् । त्यसपछि घटनालाई प्रहरीले गम्भीर रुपमा लिएर बाहिर आएका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिरहेको एक अधिकृत बताउँछन् । ‘बाहिर आएका प्रश्नहरु पनि प्रहरीको नोटिसमा छ’, एक अधिकृत भन्छन् ।

‘आत्महत्या दुरुत्साहन हो/होइन भन्नेबारे छानबिन’

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टमपछि परिवारले सारुकको शव बुझिसकेको छ । अन्त्येष्टिसमेत भइसकेको छ ।

पोष्टमार्टमको प्रारम्भिक जाँचमा उनको झुण्डिएको कारण मृत्यु भएको भनिएको छ । शरीरमा अन्य कुनै चोटपटक वा अरु केही नदेखिएको एक अधिकृत बताउँछन् । त्यसपछि परिवारले कसैलाई किटान नगरी अनुसन्धानका लागि जाहेरी दिएको थियो ।

तर, यो बीचमा विभिन्न व्यक्तिलाई जोड्दै प्रश्नहरु उठेपछि प्रहरीसँग छलफल भइरहेको ताम्राकारको पारिवारिक स्रोतले बतायो । ‘सकभर चाँडै रिपोर्ट आउने गरी गर्छौं भन्नुभएको छ, रिपोर्ट आएपछि के देखिन्छ, त्यसको आधारमा अघि बढ्छौं’, परिवारका एक सदस्यले भने, ‘रिपोर्ट नआइ के गर्ने भन्ने बताउन सक्ने अवस्था छैन ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की घटनास्थलबाट सुसाइड नोट वा अन्य कुनै संकेत फेला नपर्दा घटनाको कारण खुल्न नसकेको बताउँछन् । यद्यपि, विभिन्न पाटोबाट अनुसन्धान भइरहेको उनी बताउँछन् ।

स्रोतका अनुसार, केही शंका गरिएका व्यक्तिहरुसँगको सम्बन्धबारे जानकारी लिन प्रहरीले ताम्राकारको कल डिटेल रेकर्ड (सीडीआर) पनि मगाएको छ । ‘सीडीआर सबै थोक होइन, तर पछिल्लो समय कोसँग कुरा भइरहेको थियो भन्ने विषयमा थाहा हुन्छ’, स्रोत भन्छ, ‘यसले अनुसन्धानको दायरालाई साँघुरो बनाउँछ, डीएफल आउने वित्तिकै थप अनुसन्धानमा सहज हुन्छ ।’

ताम्राकार पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । फिल्मको छायांकन चलिरहेका बेला उनी मृत भेटिएका हुन् । सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । बुबाको विरासत पछ्याउँदै उनी फिल्म क्षेत्रमा प्रवेश गरेका थिए ।

फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?