+
+
मनोवाद :

बुढो रूखको समृद्धि याचना

म एक्लै बाँचेको छैन । ममा एउटा समुदाय नै छ । एउटा मात्र हैन अनेकौं प्रणाली र अन्तरक्रिया छन् । मलाई चिन्ता छ यही जीवन्त प्रणालीको । म ढल्दा सँगसँगै ममा आश्रित दर्जनौं प्रजातिका जीवजन्तुको बास र आधार पनि ढल्नेछ ।

डा. लीलानाथ शर्मा डा. लीलानाथ शर्मा
२०८० साउन १ गते १०:५८

आउनुस् म यो जंगलभित्रको कथा भन्छु । एउटा बुढो र जीर्ण रूखको कथा हो । समृद्धिको बाधक करार गरिएको एउटा अभियुक्तको कथा हो । दुई शताब्दी अघिदेखि यही ठाउँमा टक्क उभिएर यो देशको राजनीति, भूगोल र जलवायुको आरोह–अवरोह हेरिरहेको एउटा भीमकाय वृक्षको कथा हो । मलाई लाग्छ– यो कथा समयको पनि हो ।

कतिपयलाई मेरो कथा वाहियात् गन्थन लाग्न सक्छ तर, मैले यो कथा हचुवामा कथेको हैन त्यसैले मनन गर्न सक्नेलाई ठीकै लाग्ला । हुन सक्छ यसलाई पाठकहरूले आ–आफ्नो दृष्टिकोण अनुसार बुझ्नेछन् । जुनसुकै मूल्यमा पनि आर्थिक वृद्धि हासिल गर्नुपर्छ भन्नेहरूलाई त मेरो कथा पक्कै बेकम्मा लाग्न सक्छ ।

धेरै मानिसले मलाई अजंग, उराठ, मक्किएको, धोत्रिएको, झांगिएको, बाङ्गिएको र कुनै उपयोगिता नभएको फगत एउटा बुढो रूख भन्न सक्छन् । मलाई मेरो फेरिएको रूपसँग खासै गुनासो र गर्व दुवै छैन । अमर हुन नसके पनि मेरो एउटा लामो जिन्दगी बाँचेको छु ।

उसो त मानिसहरू जति नै विकसित र आधुनिक प्रविधिले सुसज्जित भए पनि म जति बाँच्न सकेका छैनन् । मृत्यु हरेक जीवनको अनिवार्य सत्य हो ! कोही रोगले थलिएर त कोही उमेर सँगै जीर्ण भएर मर्छन् । धेरैलाई मृत्यु आकस्मिक हुन्छ तर मलाई चाहिं मेरो मृत्यु यही बेला हुँदैछ भन्ने जानकारी आइसकेको छ । यो रूख काट्नुपर्छ भनेर रातो संकेत मेरो शरीरमा लगाएर गएदेखि मलाई मेरो मृत्युचेत भएको छ । म काटिनु, नासिनु वा ढालिनु त्यति धेरै चिन्ताको विषय हैन, चिन्ताको विषय यो हो कि बुढा रूख र प्राकृतिक वन विकास र समृद्धिका बाधक हुन् भन्ने भाष्य नजानिंदो तरिकाले मेरो देशमा स्थापित गराइँदैछ ।

लामो समयदेखि देशमा समृद्धिको हावा छ । ऐतिहासिक, राजनैतिक सुव्यवस्थाको नजरबाट हेर्ने हो भने मलाई पूरापूर याद छ, म सानो छँदैदेखि यो देशमा चैन छैन । हुन त रूखलाई मानिसहरूलाई जस्तो बोल्ने, हिंड्ने सुविधा छैन । न त रूखको मानिसहरूको जस्तो आन्दोलनमा मोर्चाबन्दी हुने सामर्थ्य न चाहना नै छ । तर म मेरो जन्मेदेखि यही ठाउँमा उभिएर यो देश र यसको नियति हेरिरहेको छु ।

देशमा पछिल्लो सात दशकमा विभिन्न व्यवस्था परिवर्तन गर्ने र यसको माध्यमबाट विकास, प्रगति र समृद्धि गर्ने कुरा चर्को नै सुन्दै आएको छु । राणाशाहीको अन्त्य, पञ्चायतको उदय र अन्त्य, एक दशकभन्दा लामो द्वन्द्व हुँदै गणतन्त्रको स्थापना, संविधान र संघीयतासम्म हेर्दा पनि देशलाई समृद्धितर्फ लैजाने कैयौं कानचिरुवा जोगीहरू नै आए र गए । अघि–पछि पनि विभिन्न भाषा र भाष्यमा विकास, समृद्धिको अमूर्त अलाप लगाउने गरिन्थ्यो नै । राज्य पुनर्संरचना सहितको संविधान पश्चात् बनेको सरकारसम्म सबैको साझा लक्ष्य बनेको थियो र छ– समृद्धि ।

चियापसलदेखि संसद भवनसम्म, ताप्लेजुङदेखि दार्चुलासम्म, केचनादेखि कञ्चनजंघासम्म सबैको चासो र चिन्ता पनि हो समृद्धि । कोरोनाभाइरसले केही ब्रेक लगाए पनि आज सबैको साझा सपना र यात्रा हो– समृद्धि । नेपालमा शाहवंश सुरु हुनुभन्दा अघिदेखि टक्क एकठाउँमा उभिएर यो देशको सबैखाले इतिहास र उतारचढावको साक्षी बसेको म मुलुकको समृद्धि सपनाले कम्ती आनन्दित भएको छैन, त्यसमाथि वनक्षेत्रलाई समृद्धिको आधार जो भनिएको छ ।

समृद्धिको सुन्दर सपनाले मख्ख परेको मलाई वन क्षेत्रले कसरी समृद्धिमा योगदान पुर्याउँछ भनेर हुटहुटी भयो । वनमन्त्री, अर्थमन्त्री र वन प्रशासकले वनको कहिले दिगो त कहिले वैज्ञानिक व्यवस्थापनको माध्यमबाट देशको अर्थतन्त्रमा उल्लेख्य योगदान र समृद्धि हासिल गर्ने कुरा बारम्बार भनेका छन् । सुन्दा आकर्षक र सुन्दर लाग्ने योजनालाई कसरी व्यावहारिक बनाइन्छ भन्ने कुरा बुझ्न मन लाग्यो । कुरा खोतल्दै जाँदा, टेबलमा कोरिएका योजनाहरू छिचोल्दा मेरो उत्साह अलि सेलायो । मैले वन व्यवस्थापन सम्बन्धी गाइडलाइन र कार्ययोजनाहरू हेर्न थालें । योजना र श्वेतपत्रहरू पढेपछि र समृद्धिवालाहरूको तर्क सुनेपछि मलाई एक मन दुःख लाग्यो र सँगसँगै समृद्धिको न्यारेटिभमा रचिएका तर्क र कथ्यहरूको वैज्ञानिक आधार पनि खोज्न मन लाग्यो !

प्रशासक, नीतिनिर्माता, तालुकदार र चले–गिनेका अनुसन्धानकर्ता सबैको कुराको अन्तर्यमा समानता देखिन्छ । उनीहरूलाई लाग्छ बुढा रूखहरू वनको स्वास्थ्यको लागि हानिकारक हुन्छन्, बुढा रूखहरूले वनको उत्पादकत्व घटाउँछन् । वनको पुनरुत्पादन हुन दिंदैनन् र प्राकृतिक चक्रमा बाधा खडा गर्छन् । उनीहरू आरोप लगाउँछन् बुढा रूखहरूले जंगलको शोभा घटाउँछन् र जंगलको हैसियत बिगार्छन् । कतिपय कहलिएका विद्वान् अझ एक कदम अघि बढेर तर्क गर्छन्– बुढा रूखले कार्बन सञ्चिति नै गर्दैनन् जसले जलवायु परिवर्तनसँग जुध्न बुढा रूखहरू सहयोगी बन्दैनन् ।

व्यापारीहरू भन्छन्– बुढा रूखमा मनग्य दाम आउने गुणस्तरीय काठ हुँदैन । अर्थशास्त्रीहरू ठोकुवा गर्छन्– बुढा रूखहरूले गर्दा वन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा यथोचित योगदान गर्न सकेन र व्यापार घाटा बढेर गयो ।

जंगलमा बुढा रूख पालेको हुनाले काठमा आत्मनिर्भर हुन नसकेको भनेर एकोहोरो रटान लगाउनेहरूको भीड पनि उस्तै छ । उनीहरू थप्छन्– बुढा रूख पालेको हुनाले, हरियो वन नेपालको धन भन्ने कुरा उखानमा मात्र सीमित रह्यो । विकासवादीहरू तर्क गर्छन्– बुढा रूख सहितको पुरानो प्राकृतिक जंगलमा नयाँ जंगल स्थापित गरिनुपर्छ । यी सारा तर्क र बहसको अन्तर्य हो– बुढा रूख र प्राकृतिक वन समृद्धिको बाधक हुन् । बुढा रूख पालेर समृद्धि आउँदैन । यतिबेला म वन विकासका लागि लागेकै मानिसहरूको तर्क र विचार सुनेर हैरान छु ।

बलिया र पहुँचवालाले कथेको समृद्धिको बलियो भाष्यमा यी रूखहरू कुकाठ करार गरिएका छन् । म ढलेसँगै समृद्धिको लागि यी पनि उभिन पाउने छैनन् ।

यो देशको उन्नतिको लागि, समग्र समृद्धिको लागि म ढल्नुपर्ने दिन नजिकिंदै छ । निकै लामो जीवन बाँचेकोले अब मलाई आफ्नै जीवनसँग मोह छैन । बरु ममा आश्रित चराचर सृष्टिको हजारौं प्रजातिका वनस्पति र जीवजन्तुहरूको चिन्ता छ । कोही खानेकुराको लागि ममा निर्भर छन् त कसैलाई बस्नको लागि मेरै भर छ ।

म एक्लै बाँचेको छैन । ममा एउटा समुदाय नै छ । एउटा मात्र हैन अनेकौं प्रणाली मसँगै छन् । अनेकौं अन्तरक्रियाहरू छन् । मलाई चिन्ता छ यही जीवन्त प्रणालीको । म ढल्दा म मात्र ढल्दिनँ, सँगसँगै ढल्ने छन् ममा आश्रित दर्जनौं प्रजातिका जीवजन्तुको बास र आधार पनि ।

मलाई पीर छ, म काटिएपछि मेरो शिर र हाँगाहरूमा पुस्तौंदेखि गुँड बनाएर बसेका बकुल्ला र गरुड जस्ता अनेकौं चराचुरुंगीहरू कहाँ जालान् ? मेरो काण्डको धोत्रोमा शताब्दीयौंदेखि बसेका सुन गोहोराका सन्ततिले कहाँ टाउको लुकाउलान् ? पुस्तौंदेखि मेरो शरीरमा तल–माथि खेलेका लोखर्केका सन्तानहरू कहा हुर्केलान् ? मेरो हाँगा र काण्डमा प्वाल पारेर आश्रय पाएका सुगा, ठेउवा र काठफोराहरू कता पुग्लान् भन्ने चिन्ता छ मलाई ।

हप्तौंसम्म मेरो हाँगा र काण्डको टोड्कोमा लुकेर सुरक्षित चल्ला कोरल्ने धनेशकी पोथी कहाँ जाली ? मेरो बोक्रामा बाँचेका सयौं प्रजातिका खपटे कीरा, माकुरा र कमिलाको त कसैको चासोको विषय नै भएनन् ।

यसरी मानिसले निकम्मा ठानेको बुढा र अग्ला रूखमा आफूलाई सुरक्षित ठान्ने दर्जनौं प्रजातिका चराहरूको भविष्य बारे पनि चिन्ता लाग्न थालेको छ । मेरो फूलको रस चुस्न आउने मौरी, खपटे कीरा र चमेराहरूले के चुस्लान् भन्ने चिन्ता छ । मेरो फल खाएर तृप्त हुने चराचुरुंगी, बाँदर र मान्छेहरू के खालान् भन्ने चिन्ता छँदैछ । मसँग र मेरै आडमा बाँचेका ऐंजेरुदेखि सुनगाभासम्म, च्याउदेखि उनिउँसम्म, सर्पदेखि भ्यागुतासम्म धेरै प्रजातिका वन्यजन्तु र वनस्पतिको के हाल होला ? मेरो छायाँमुनि नै अंकुरण भई हुर्केर लामो आयु बनाएका टाँटरी, कालीकाठ, कुम्भी जस्ता रूखहरूको अस्तित्वको चिन्ता । बलिया र पहुँचवालाले कथेको समृद्धिको बलियो भाष्यमा यी रूखहरू कुकाठ करार गरिएका छन् । म ढलेसँगै समृद्धिको लागि यी पनि उभिन पाउने छैनन् ।

कसैले ढालोस् वा नढालोस्, प्राकृतिक कारणले नै मेरो अजंगको यो काया ढल्ने नै छ तर मेरो शरीर लड्नु मेरो जीवनको अन्त्य नहुन पनि सक्छ ! मेरो जरामा र जमिन नजिकैबाट अंकुरित हुने टुसाबाट म फेरि नयाँ शरीर हाल्न सक्छु । मलाई थाहा छ मैले आफ्नो बचाउमा तर्क गर्नु बेकार हो । बुढा रूख र प्राकृतिक वनको बारेमा निर्माण गरिंदै गरेको भाष्यप्रति म गम्भीर छु । मलाई लाग्छ– मैले यो भाष्य बनाउन गुथिएका कथ्य र तर्कहरूको वैज्ञानिक आधार बुझ्नुपर्छ । आजको नवीन ज्ञानको आलोकमा यी कथ्यहरूको समीक्षा होस् भन्ने मात्र मेरो चाहना हो ।

अहिले सर्वाधिक चर्चामा रहेको विषय कार्बनबाट नै कुरा सुरु गरौं । विकासवादीहरू तर्क गर्छन् बुढा रूखले कार्बन सञ्चिति गर्दैनन् । नयाँ अध्ययनको आलोकमा यो कुरा त हचुवा पो देखिन्छ त । प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरूले नेचर जस्तो कहलिएको जर्नलमा लेखेको अनुसन्धान अनुसार बुढा रूखहरूले कार्बन भण्डारण मात्र हैन, निरन्तर संचिति समेत गर्छन् । त्यो पनि साना रूखहरू भन्दा बढी मात्रामा गर्ने रहेछन् ।

वैज्ञानिकहरूले धेरै रूखहरूको अध्ययन गरे पश्चात् भनेका छन् रूखहरू निरन्तर बढ्ने प्रक्रियामा हुन्छन् भलै शरीर वृद्धिको गति एउटै नहोला । कार्बन सञ्चिति बारेको पछिल्ला तीन दशकको अध्ययन धेरै त जमिनमुनिको प्रक्रियामा केन्द्रित रहेछ तर मेरो देशमा त सबैले रूखको काण्ड मात्र नापेर बसेका छन् !

बहसमा नयाँ अध्ययनको कुनै मूल्य नै नदेखिनु विडम्बनापूर्ण छ तर कार्बन सञ्चिति मार्फत फाइदा लिन पुरानो वन मासेर नयाँ हुर्काउनुपर्छ भन्ने तर्क पनि आधारहीन छ भन्ने कुरा मानिसहरूलाई मनाउन कठिन छ । समृद्धिको खातिर उनीहरूले आँखा चिम्लिएका छन्, कान बन्द गरेका छन् ।

मैले भर्खरै खोजेर जानेको अर्को कुरा, वृक्षरोपण गरेर बनेको वन भन्दा पुरानो वनको जैविक विविधता संरक्षणमा धेरै भूमिका रहन्छ । पुरानो वनको तुलना नयाँ र वृक्षरोपणसँग हुँदैन भन्ने त कैयौं प्रमाण रहेछन् । वैज्ञानिक अनुसन्धान प्रकाशन गर्ने प्रतिष्ठित नेचर समूहको एउटा जर्नलले त भर्खरै प्राकृतिक र पुरानो वनको कुनै शोधभर्ना हुँदैन भनेर सम्पादकीय समेत लेखेको छ ।

बुढा रूखले वनको र रूखको पुनरुत्पादन हुन दिंदैनन् भन्ने कुरा सुन्दै अचम्मलाग्दो छ । मेरै प्रजातिका विभिन्न उमेर समूहका रूखहरू हुर्केको प्रमाण त मेरै वरिपरि छ । मानिसहरू जस्तै रूखहरू पनि अजम्बरी हुँदैनन् ।

तर, दुर्भाग्य नेपालमा पुरानो जंगल र बुढा रूखहरूको क्षतिपूर्ति नयाँ वृक्षरोपण मार्फत गर्न सकिन्छ भन्ने तर्क स्थापित हुँदै गएको देखिन्छ । वातावरण सम्बन्धी कानुनले नै एक रूख काटे बराबर दश रूख रोप्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । सतहमा रूख रोप्ने कुरा सही नै देखिन्छ तर यसको अन्तर्यमा अर्कै हुन सक्छ । नयाँ रूख रोप्ने कुरा प्राकृतिक र अमूल्य वन मास्ने अस्त्र बन्छ कि भन्ने चिन्ता कतै देखिंदैन ।

देशमा काठ आयात हुन्छ, यो सत्य हो । तर काठ आयात घटाउने एकमात्र उपाय प्राकृतिक वन मास्ने मात्र पटक्कै होइन । काठ भनेको एउटा मात्र प्रजातिबाट आउँछ भन्ने सोच्नुभन्दा विभिन्न प्रजातिलाई प्रशोधन गरेको भए अलि राम्रो हुन्थ्यो कि भन्ने लाग्छ मलाई । काठ प्रविधिमा लगानी गरेको र खोजी गरेको भए आन्तरिक खपत मात्र हैन निर्यात गर्नसम्म सक्ने सम्भावना पनि हुनसक्छ ।

त्यसमाथि वनबाट निकाल्नै पर्ने रूखहरू निकाल्न अर्घेल्याईं गर्ने र अकर्मण्य देखिएकाहरू नै काठ आयात धेरै भयो भनेर रोइलो गर्छन् । मान्छेका दोहोरो मापदण्डले कुरो बुझ्नै पो महाभारत छ । यतातिर विचार नगरी नेतृत्वले म जस्ता बुढो रूखलाई दिएको गालीलाई के भन्नु ?

वन घुम्दै आएका वन विज्ञले मलाई काटिनुपर्ने रूखको चिनो लगाउनुको कारण ममा केही धोत्रो हुनु पनि हो । आफूलाई वनको जानकार सम्झिनेहरूले तर्क गर्छन्, रूख बुढा भएपछि धोत्रो हुन्छन् तर खोजिल्याउँदा यो त अर्ध सत्य मात्र रहेछ । विभिन्न अध्ययनहरूका अनुसार रूखहरूमा हुने धोत्रोपन त बुढ्यौलीसँग मात्र सम्बन्धित रहेनछ । यो त रूखको सयौं वर्षको जीवनमा कुनै पनि बेला सुरुवात हुन सक्दोरहेछ ।

ममा भएको धोत्रोपन मेरो उम्दा जवानी देखिनै थियो । आगलागीको कारणले वा हाँगा काट्दा सालको रूखमा सानैदेखि धोत्रोपन विकास हुनसक्ने रहेछ भन्ने कुरा अध्ययनले नै प्रमाणित गरेको रहेछ । एक खालको कीरा र ढुसीको आक्रमण त कहिलेकाहीं महामारी जस्तै फैलिएर कुनै पनि उमेर समूहका रूख बिरुवालाई असर पर्ने तथ्यहरू पनि फेला परेका छन् ।

बुढा रूखले वनको र रूखको पुनरुत्पादन हुन दिंदैनन् भन्ने कुरा सुन्दै अचम्मलाग्दो छ । मेरै प्रजातिका विभिन्न उमेर समूहका रूखहरू हुर्केको प्रमाण त मेरै वरिपरि छ । मानिसहरू जस्तै रूखहरू पनि अजम्बरी हुँदैनन् । रूखहरू ढल्ने र खाली ठाउँमा नयाँ रूख स्थापना हुने प्रक्रिया त मानव सभ्यताभन्दा धेरै पहिलेदेखि निरन्तर छ ।

आज मानिसले देखेका रूखहरू करोडौं वर्ष पहिले उत्पत्ति भएका हुन् भन्ने सामान्य सत्य कसरी बिर्सिन्छन् मानिसहरू । रूखहरू हुर्किंदैमा प्राकृतिक चक्रमा व्यवधान हुने भए करोडौं वर्षदेखि लाखौं प्रजातिको सहअस्तित्व कसरी सम्भव भयो होला ?

मलाई थाहा छ, मान्छेले जलवायु मापन केन्द्र राख्न थालेको त हिजो मात्र हो । पुरानो जलवायुको अवस्था बुझ्न त बुढा रूख नै खोज्ने चलन छ । आजसम्म २००–४०० वा ५०० वर्ष पहिले कत्रो हुरी चल्यो ? कति पानी पर्यो ? तापक्रम कति थियो ? आगलागी भएको थियो कि थिएन भनेर अध्ययन गर्न त बुढा रूखलाई नै तथ्यांकको स्रोत नै मानिन्छ । हाम्रो जस्तो केही मुलुक छाडेर हेर्ने हो भने संसारभर लामो इतिहास बोकेको वन र रूखहरूलाई त सम्पदाको रूपमा मानेर संरक्षण गर्न थालेका छन् ।

म मेरो देशको समृद्धिको सारथि बन्न चाहन्छु । मेरा हर तन्तुहरू समृद्धि सपना पछ्याउन प्रयोग होऊन् । सरपट कटान होस् वा छानी–छानी ढालियोस् त्यो मेरो वशको कुरो हैन नै । बस मानिसहरूसँग मेरो आग्रह यति मात्र छ कि प्रकृतिमाथिको अस्वाभाविक नियन्त्रण र प्राकृतिक स्रोतको चरम दोहनले ल्याएका विपत्तिबाट मानिसले पाठ सिकेर काम गरोस् ।

प्रकृतिमा मानवजातिको निर्मम प्रहार र दोहन टार्न नसकिने प्रक्रिया बनिसकेका छन् भन्ने कुरा मलाई राम्रोसँग ज्ञात छ । मेरो आशय यत्ति हो कि जे नाममा भए पनि हुने प्रकृति दोहनको क्षति कम होस् । मलाई आफ्नो स्वार्थको लागि मान्छेले झैं कुतर्कको जालो बुन्नु छैन ।

वनको जैविक विविधतामा असर नपारिकन वा न्यून असरमा वनका रूखहरूको उपभोग गर्न सकिन्छ र दुनियाँको चलन पनि यस्तै हुँदैछ । मानिसको आधारभूत उपयोगको लागि रूखहरू काट्ने कुरामा मेरो विमति न थियो न हुने नै छ । समृद्धिमा म जस्ता बुढो रूख र वन क्षेत्रको न्यायोचित उपयोग हुन्छ भने हुनैपर्छ । तर आफू बाहेकका अन्य सयौं प्रजातिको आश्रय बनेका प्राकृतिक धरोहरको भूमिकालाई पनि नभुले हुन्थ्यो भन्ने मेरो आशय हो ।

आजको दिनमा प्राकृतिक वन कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरो खोज्दै जाँदा त संसारभरि प्राकृतिक वन व्यवस्थापन निकै सरल र लचक पो देखियो तर नेपालमा भने विभिन्न नामका र जटिल प्रणाली पो अवलम्बन गरिएको रहेछ । दिगो होस् वा क्षणिक, वैज्ञानिक होस् वा परम्परागत, सामुदायिक होस् वा निजी जेसुकै नाममा भए पनि वन व्यवस्थापन होस्, वन क्षेत्रका रूखहरू आवश्यकता र सामान्य शुद्धी प्रयोग गरेर निकालियोस् । कुन क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्ने उचित मूल्यांकन होस् । वनको व्यवस्थापन हुनु वा रूख काटिनु आफैंमा समस्या हैन ।

समस्या त वनलाई फगत रूखहरूको समूह देख्नुमा छ । रूखमा काठ बाहेक अरू केही नदेख्नु, वनको बारेका आफ्ना मात्र बुझाइलाई अन्तिम सत्य मान्नु, वन व्यवस्थापनको यही मात्र सही तरिका भनेर लित्ती कस्नुमा छ । समस्या त उच्च मूल्यको रूख भएको वन मात्र व्यवस्थापन योग्य ठहरिनुमा छ । वनलाई रूख र काठभन्दा पर एउटा जीवन्त प्रणाली हो भनेर मात्र मनन गरे आजका धेरै समस्या समाधान हुन्छन् र प्राकृतिक वनले नेपालीको समृद्धि आकांक्षामा अझ धेरै योगदान गर्न सक्छ होला ।

आधुनिक विकास र प्रविधिको लहरो समात्दै मानिसहरू बाँचे जस्तो म उभिनु, बाँच्नु वा काटिनुमा मेरो आफ्नै स्वार्थ छैन । मलाई लाग्छ मेरो अस्तित्व तबसम्म अर्थपूर्ण हुन्छ, जतिबेलासम्म मानव समाज लगायत सम्पूर्ण वातावरणको लागि न्यायोचित र दिगो विकासमा मेरो प्रयोग हुन्छ, जुन दिनसम्म मेरो काया जीवजन्तु र चरा–चमेराको आश्रयस्थल बन्न सक्छ, जहिलेसम्म म लता–लहराको आकाशतर्फको दिशामा आडभरोसा बन्न सक्छु ।

जबसम्म मेरो वृद्ध वयमा सयौं प्रजातिका सुनगाभाका रंगीविरंगी र सुन्दर फूलहरू आभूषण बन्न सक्छन्, जबसम्म मेरो फूलहरूबाट भमराहरू बाँच्न सक्नेछन्, मेरो बोक्रामा सयौं प्रजातिका खपटे कीरा र माकुराले बास पाउन सक्छन्, मेरा काप र खोपिल्टा समेतलाई सर्प, गोहोरा र भ्यागुताहरूले आश्रय स्थल बनाउन सक्छन्, लाई र झ्याउहरूले मेरो बोक्रा सजाउन सक्छन् । मरो जानकारीमा आजसम्म यो छैन कि कुनै रूखको फल आफैंले वा अन्य कुनै रूखले उपयोग गरेको होस् । लाग्छ– हाम्रो सृष्टि भएकै अरूको सेवाको लागि हो ।

म सकिंदैछु भन्दै गर्दा पनि मेरो लोभ यत्ति छ कि जस्तै सुख्खा याममा पनि मसँगै भएको जरुवाको पानी नघटोस् । खप्नै नसक्ने उखरमाउलो गर्मीमा मैले शीतलता प्रदान गर्न सकूँ । प्रचण्ड धुपमा ममुनिको तापक्रम वरिपरिको भन्दा कम होस् । बर्खाको पानी संचित गरेर हिउँदसम्म पुग्ने बनाउन सकूँ । मेरा जराहरूले जति सक्दो धेरै माटो बाँधेर राख्न सकून् ।

अझै मैले भूक्षय र पहिरो रोक्न योगदान गर्न सकूँ । जलवायु संकट न्यूनीकरणमा भूमिका खेल्न सकूँ । तब मात्र मेरो जीवन सार्थक हुनेथियो । आफू काटिने दिन गनिरहँदा फेरि पनि मेरो याचना यही हो कि म त्यति बेलासम्म उभिन पाउँ जतिबेलासम्म मैले मानिस र पर्यावरणीय चक्रमा योगदान गर्न सक्नेछु ।

अन्त्यमा, म मेरो देशको समृद्धिको सारथि बन्न चाहन्छु । मेरा हर तन्तुहरू समृद्धि सपना पछ्याउन प्रयोग होऊन् । सरपट कटान होस् वा छानी–छानी ढालियोस् त्यो मेरो वशको कुरो हैन नै । बस मानिसहरूसँग मेरो आग्रह यति मात्र छ कि प्रकृतिमाथिको अस्वाभाविक नियन्त्रण र प्राकृतिक स्रोतको चरम दोहनले ल्याएका विपत्तिबाट मानिसले पाठ सिकेर काम गरोस् ।

आज देखिएका जैविक विविधताको विनाश, मरुभूमिकरण र जलवायु परिवर्तन जस्ता संकटसँगै क्षितिजमा देखिन थालेको मानव सभ्यताको संकट बुझ्ने प्रयास गरोस् । यी संकटसँग जुध्न पुरानो प्राकृतिक वन र जैविक विविधताको भूमिका नजरअन्दाज नगरोस् । स्वस्थ र साँच्चै समृद्ध जीवनको लागि प्रकृति र जैविक विविधताको महत्व बुझोस् र प्राकृतिक स्रोतको सदुपयोग गरोस् ।

प्रकृति दोहनका लागि कपटपूर्ण तर्क र भाष्य निर्माण नगरी वस्तुगत बनोस् । प्राकृतिक इतिहासको अवमूल्यन नगरोस् । क्षणिक आर्थिक लाभको लागि दीर्घकालीन वातावरणीय संकट निम्त्याएर आफ्नै टाउकोमा बञ्चरो प्रहार नगरोस् । जय समृद्धि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?