+
+

जलिरहेको मणिपुरमा स्थानीय सोध्छन् : हाम्रै छिमेकी कसरी शत्रु हुन पुगे ?

एजेन्सी एजेन्सी
२०८० साउन १ गते १८:३३

मे महिनाको अँधेरी रातमा केही मानिसहरू पहाड माथिबाट झरे । उनीहरु नाराबाजी गर्दै थिए, हवाइ फायर गरे । कसैको हातमा खुँडा, तरबार थियो, कसैले पेट्रोल बम बोकेका थिए । शान्त मणिपुरमा ३ मेदेखि काटमार मात्रै छ । हत्या र हिंसाले मणिपुर राज्य विभाजित छ ।

यो घटनाको साक्षी हुन् कुनैजम शान्ति । समाचार संस्था तथा सामाजिक सञ्जालमा मणिपुरमा जातीय हिंसा फैलिएको कुरा भुसको आगोझैँ भएपछि उनी सहित धेरैले घर छोडे । ३ मे देखि भड्किएको हिंसामा हालसम्म १३० जनाले ज्यान गुमाए । ६० हजार भन्दा धेरैले घर छोडेका छन् ।

त्यहाँ मेइती समुदायले हिन्दु धर्म मान्छन् भने कुकी समुदायले इसाइ । यी दुई समुदायबीच हिंसा भड्किएको हो । जातीय हिंसाका कारण दुबै समुदायबीच शत्रुताको स्थिति छ । मेइती समुदायको बसोबास रहेको इकोइ, याङ्खामान, लेतान्पोकीमा मेइती समुदायका घरमा कुकीले आगो झोसिदिए, लुटपाट मच्चाए । यी बस्तीमा करिब ३ हजार मेइतीको बसोबास छ ।

मेइती र कुकी समुदायको बसोबासको क्षेत्र डेढ किलोमिटर वरपर छ । ती क्षेत्रमा हाल सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । त्यहाँ मेइती र कुकीका पनि प्रतिरक्षा बलले बंकर बनाएका छन् । उनीहरूले सशस्त्र स्वयंसेवक दस्ता बनाएका छन् । मणिपुरमा अहिले रमणीय र शान्त ठाउँ कल्पना गर्न पनि गाह्रो छ ।

गाउँको नजिकैबाट इरिल नदी बग्छ । फाँटमा धान हुर्किरहेका छन् । पाइन र ओकका हरियालीले प्रकृति  रमणीय भएपनि हिंसाको प्रभावले त्यहाँको वातावरण अशान्त छ । ‘यो उपत्यका पहाडले ढाकिएको छ । अहिले निकै संवेदनशील क्षेत्र बनेको छ । कुकी समुदाय यहाँ सुविधाजनक ठाउँमा छन् । उनीहरूले उचाइबाट सहजै निशाना लगाउन सक्छन् । जुनसुकै समयमा यहाँ जेपनि हुने खतरा छ’, मणिपुरको सैन्य प्रहरी बलका वरिष्ठ अधिकृत लेनिन लमाबम भन्छन् ।

मेमा हिंसा भड्किएपछि आधाभन्दा बढी मानिस अहिले राहत शिविरमा छन् । राहत शिविरमा भएका अधिकांशका सरसामान लुटिएका छन् । रमणीय मणिपुर वरपर अहिले तहसनहस भएका घर गाडी बग्रेल्ती छन् ।

शिविरबाट थोरै मात्रै मानिस पशुपालन र कृषिकर्मका लागि गाउँ फर्केका छन् । त्रासदीपूर्ण जीवन भएपछि दुबै समुदायका अधिकांश कृषक आफ्नो कर्ममा फर्कन सकेका छैनन् । ‘मणिपुर यति छिट्टै खण्डहर कसरी भयो मैले बुझ्न सकेको छैन’, क्याम्पमा रहेकी ६० वर्षीया चनम तापा बताउँछिन् ।

शिविरमा बस्ने अधिकांश मेइती समुदायका छन् । लेटाङपोक्कीमा १०० भन्दा बढी घर जलेका छन् । औषधी पसल, स्कुल, अस्पताल जल्न बाँकी केही पनि छैन । जलेका घरका भित्तामा कहीँ कतै स्थानीयले गाँजा खेती रोक्नका लागि गरिएको आग्रह सहितको नारा देखिन्छन् । जहाँ लेखिएको छ, ‘अफिम खेती रोकेर हाम्रो पुस्ता जोगाऔँ ।’

मणिपुरमा हिंसा भड्किनुको पछाडि लागुऔषध पनि एक कारण हो । भाजपाबाट मुख्यमन्त्री बनेका एन बीरेन सिंहले सन् २०१७ देखि अफिम खेती नष्टको अभियान थालेका थिए । उनले १८ हजार ६०० एकर्ड क्षेत्रफलको जमिनमा लगाएको अफिम नष्ट गरेका हुन् ।

अधिकांश खेती कुकी समुदायले  गरेका हुन् । अफिमको दोस्रो उत्पादक म्यानमारसँगको सीमा जोडिएको मणिपुर लागुऔषध दुर्व्यसनको संकटसँग जुधिरहेको छ । सिंहकै अभियानले पनि दुई समूहबीचको झडपको विषय बनेको हो । सिंहले कुकी समुदायले लागुऔषधको व्यापार गरेको हुनाले त्यसको आम्दानी जफत गरेर सामाजिक कल्याणमा खर्च गर्ने चेतावनी दिए । कुकी समुदायले भाजापाले आफूहरूलाई मात्रै निशाना बनाएको आरोप लगाए ।

लेटाङपोकीका गाउँलेहरू अझैपनि त्यहाँ अफिम खेती हुने गरेको बताउँछन् । यता,मेइती समुदायका किसान अधिकांश दाउरा व्यापारमा छन् । उनीहरू कुकीको स्वामित्वका रहेका जग्गा भाडामा लिएर दाउरा बेच्ने योजनामा थिए । स्थानीय शिक्षक समेत रहेका तरून नाङनोम भन्छन्, ‘अहिले अफिम खेतीमा केही कम आएपनि त्यहाँका गाउँलेहरू अझैपनि अफिम खेतीमा लागेका छन् ।’

यहाँ कति परिमाणमा अफिम खेती भइरहेको छ भन्ने कुरा यकिन छैन । तर इम्फाल जिल्लाको ७३० एकर्ड जमिनमा खेती भइरहेको अनौपचारिक तथ्यांक छ । मणिपुरको १६ प्रतिशत जनसंख्या इम्फालमा छन् त्यहाँ नगा, मेइती र नेपाली समुदायको बसोबास छ ।

त्यस इलाका म्यानबारबाट अवैध रूपमा शरणार्थी पनि पसेको भन्दै शरणार्थी फिर्ती अभियान पनि चलेको थियो म्यानमारसँग मणिपुरको ४ सय किलोमिटर क्षेत्रफल जोडिएको छ ।

मुख्यमन्त्री सिंहले म्यानमारमा जारी गृहयुद्धका कारण यस इलाकामा अवैध शरणार्थी बढेकोप्रति चासो लिएका थिए । मिजोरममा ४० हजार भन्दा बढी शरणार्थी रहेको बताइएको थियो । तर राज्य सरकारले गरेको जाँचबुझमा २१ सय ८७ आप्रवासी त्यहाँ पुगेको भेटिएको थियो  । राज्य सरकारको आधिकारिक वक्तव्यमा भनिएको छ, ‘अवैध रूपमा आप्रवासी प्रवेश गराउँदै अफिम तस्करहरूले मणिपुरमा जातीय हिंसा भड्काएका छन् ।’

सामान्य जीवन बिताइरहेका मणिपुरबासी अहिले त्रासदीको जीवन बाँच्न विवश छन् । पहाडी इलाकामा मेइतीहरू दाउराको व्यापार गर्न पहाड चढ्ने गर्थे । कुकीहरू व्यापार गर्न तल झर्ने गर्थे । ‘कुकी छिमेकीसँग हामी वर्षौँदेखि शान्त भएर बस्यौँ । उनीहरूको गाउँमा हामी सामान खरिद गर्न जान्थ्यौं । दुबै समुदायले सामूहिक लगानीमा समेत व्यापार गरेका थियौँ’, स्थानीय सम्झिन्छन् ।

विगतका शान्त र सौम्य परिदृश्य र हिंसाले उजाड अहिलेको दृश्य सम्झेर शान्ति प्रश्न गर्छिन्, ‘हाम्रै छिमेकी हाम्रा शत्रु कसरी भए । हामीविरूद्ध उनीहरूलाई कसले उक्सायो कसले भड्कायो ?’

राज्य अफिम तस्करलाई दोषी देखाएर उम्कन खोज्छ । उजाड मणिपुर उज्यालोको प्रतीक्षामा बसिरहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?