+
+

५ कुरा, जुन किशोर पुस्ताले आमाबुवाबाट गोप्य राख्छन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १५:५८

सानो छँदा छोराछोरीले ठान्छन्, ‘मेरा बुवाआमा सबैभन्दा जान्नेबुझ्ने छन् ।’ तर, जति जति उनीहरु हुर्कदै जान्छन्, आमाबुवाप्रति उनीहरुको बुझाई फेरिदै जान्छ । र, एउटा यस्तो चरण आउँछ जतिबेला उनीहरु ठान्छन्, ‘मेरा बुवाआमालाई केही पनि थाहा छैन ।’

यो त्यही चरण हो, जतिबेला उनीहरु किशोरावस्थामा हुन्छन् ।

किशोर उमेरका छोराछोरी र बुवाआमाबीच धेरै कुरामा मतभेद हुन्छ । यतिबेला छोराछोरी आमाबुवाबाट उन्मुक्ति खोजिरहेका हुन्छन् र आफ्नै मर्जी अनुसार जीवन चलाउन चाहन्छन् । यद्यपि यो संवेदनशिल उमेर भएकाले बुवाआमाले उनीहरुमाथि अरु कडा निगरानी राख्ने गर्छन् ।

त्यसैले किशोर उमेरका छोराछोरी सकेसम्म आमाबुवाबाट अलग बस्न रुचाउँछन् । र, यतिबेला उनीहरु आफ्नो कुरा आमाबुवा होइन बरु साथीसँग साझेदार गर्न थाल्छन् । किशोरावस्थामा पुगेका छोराछोरीले आमाबुवासँग कतिपय कुराहरु लुकाउने गर्छन् ।

१. यौन भावना र प्रेमको कुरा

बाल्यकालमा छोराछोरीले सबैकुरा आफ्ना आमा वा बुवालाई भन्ने गर्छन् । मनमा आएका जतिपनि प्रश्न छन्, उनीहरु आमाबुवाबाट नै त्यसको जवाफ खोजिरहेका हुन्छन् । तर, जब उनीहरु हुर्किन्छन् र किशोर चरणमा पुग्छन् तब आमाबुवासँग पनि कतिपय प्रश्न सोध्न अहसज मान्छन् । यस्तो प्रश्न उनीहरुले आफैभित्र लुकाउँछन् । जस्तो कि, शारीरिक परिवर्तन र यौन भावनाको कुरा ।

१२–१३ बर्षको उमेरपछि उनीहरुको शारीरिक विकास अरु तिब्र हुन्छ । आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे उनीहरुमा थुप्रै जिज्ञासा हुन्छ, तर यो कुरा उनीहरु आमाबुवासँग सोध्न चाहँदैनन् । यौनाङ्गको विकास, मासिक स्राव आदिबारे कति कौतुहलता भएपनि उनीहरु त्यसबारे खुलेर कुरा गर्न सक्दैनन् ।

ठीक यही चरणमा उनीहरुमा यौन र प्रेम भावना पनि जाग्छ । विपरित लिंगप्रति आकर्षित हुने, प्रेम भाव जाग्ने गर्छ । कति छोराछोरी समान लिंगप्रति पनि आकर्षित हुन्छन् । यद्यपि आफ्नो भावनात्मक उथलपुथलबारे उनीहरु आमाबुवासँग कुरा गर्न रुचाउँदैनन् ।

२. सामाजिक सञ्जालका कुरा

अहिलेका किशोरपुस्ता सामाजिक सञ्जालमा सक्रिय छन् । यद्यपि उनीहरु सामाजिक सञ्जालमा कस्ता कुरा साझेदार गर्छन्, कस्तो साथीभाई बनाउँछन्, कस्तो कुराकानी गर्छन् ? यो कुरा उनीहरु सकेसम्म आमाबुवालाई देखाउन वा सुनाउन चाहँदैनन् । कतिसम्म भने, उनीहरुले बुवाआमासँग फेसबुक जस्ता सामाजिक सञ्जालमा जोडिन पनि रुचाउँदैनन् ।

उनीहरु सामाजिक सञ्जालमा सीमित साथी बनाउँछन् र त्यही माझमा मात्र आफ्ना भावनाहरु साझेदार गर्छन् । उनीहरु सामाजिक, राजनीतिक वा समसामयिक विषयमा पनि खासै कुरा गरिरहेका हुँदैनन् । बरु रमाइला वा उनीहरुको भावनालाई प्रतिनिधित्व गर्ने कुरा मात्र सामाजिक सञ्जालमा शेयर गर्छन् । अतः यस्ता सामाग्री आमाबुवालाई देखाउन चाहँदैनन् ।

३. रुची र सपनाको कुरा

यो एउटा आफैमा स्वप्निल उमेर पनि हो । उनीहरु यतिबेला महत्वकांक्षी हुन्छन् र सुदूर भविष्यका बारेमा अनेक कल्पना गर्छन् । योजना बनाउँछन् ।

जीवनमा के बन्ने, कस्तो बन्ने, के गर्ने भन्ने जस्ता कल्पनामा उनीहरु रमाइरहेका हुन्छन् । आफ्नो धरातल के हो ? आफ्नो पारिवारिक अवस्था कस्तो छ ? आदि कुरामा उनीहरुलाई खासै सरोकार हुँदैन । त्यसैले उनीहरु अक्सर आफ्नो सुनौलो भविष्य कल्पने गर्छन् । आफुले कल्पना गरेको रंगीन संसारमा हराइरहन रुचाउँछन् ।

यद्यपि आफ्नो रुची र सपनाको कुरा आमाबुवालाई सुनाउन चाहँदैनन् । भविष्यमा उनीहरु कस्तो जीवन बाँच्न चाहन्छन् ? यसबारे आमाबुवासँग चर्चा गर्दैनन् ।

४. आफ्नो खर्चको कुरा

किशोर उमेरमा पुगेपछि उनीहरुको साथी सम्बन्ध विस्तार हुन्छ । साथीभाईसँग अनेक कुरा हुन्छ । उनीहरुवीच आपसमा जमघट हुन्छ । अनेक योजना बन्छ । आपसमा फेसनका कुरा, घुमफिरका कुरा, मेकअपका कुरा, सिनेमा कुरा हुन्छ ।

आमाबुवालाई थाहा नदिइ नयाँ–नयाँ पहिरन लगाउने, घुमफिर गर्ने, सिनेमा हेर्ने, मीठो मसिनो खाने गर्छन् । यसरी उनीहरु आफुखुसी खर्च गर्न थाल्छन् । यद्यपि आफुले के कुरामा कति खर्च गरियो, कहाँ गरियो भन्ने कुरा उनीहरु आमाबुवालाई सुनाउन चाहँदैनन् । खासगरी आमाबुवाको गाली खाइने डरले उनीहरु खर्चको कुरामा गोपनियता अपनाउने गर्छन् ।

५. चुरोट, रक्सी र पार्टीका कुरा

किशोर चरणमा पुगेपछि उनीहरुले आमाबुवाको नियन्त्रणबाट मुक्त भएको अनुभव गर्छन् । त्यही कारण आमाबुवाको आँखा छलेर उनीहरु त्यस्ता केही कुरा गर्न पुग्छन्, जुन उनीहरुका लागि नयाँ नौलो हुन्छ ।

जस्तो चुरोट रक्सीको स्वाद चाख्नेदेखि पार्टीको अनुभव लिनेसम्म । यी सबैकुरा उनीहरुको लागि एकदमै नौलो हुन्छ । त्यसैले नयाँ कुराप्रति स्वभाविक रुपमा उत्सुकता हुने नै भयो ।

साथीहरुको लहलहैमा वा करकापमा उनीहरुले कहिले काहीँ चुरोटको सर्को तान्छन् । कहिले वियर वा वाइन पिउँछन् । कहिले पार्टीको रमझममा मिसिन्छन् । यस्तो कुरा उनीहरुले आमाबुवाबाट भने संभव भएसम्म लुकाउने कोसिस गर्छन् ।

किन लुकाउँछन् यी सबै कुरा ?

किशोर छोराछोरीहरु भर्खरै मात्र आमाबुवाको नियन्त्रणबाट मुक्त भएको महसुष गरिरहेका हुन्छन् । उनीहरुलाई आफ्नो व्यक्तिगत जस्ता लाग्ने कुराहरु आमाबुवासँग साझेदार गर्न लाज लाग्छ । त्यही कारण उनीहरु खुलेर आफुलाई व्यक्त गर्न सक्दैनन् ।

साथै बुवाआमाले उनीहरुलाई धेरैजसो अर्ति उपदेश दिने गर्छन् । उनीहरुलाई बुवाआमाले सधैजसो दोहो¥याइरहने भाषण सुन्न दिक्क लाग्छ ।

साथै बुवाआमाले उनीहरुले बाँचिरहेको युग र उनीहरुले बाँच्न चाहेको समयको कुरा त्यती गर्दैनन् । आमाबुवाले ‘जब म यो उमेरको थिएँ’ भनेर आफ्नै वैंशालु समयको कुरा गर्न थाल्छन्, जुन उनीहरुलाई रुचीकर लाग्दैन ।

साथसाथै कतिपय कुराहरु उनीहरु यसकारण साझेदार गर्दैनन् कि आफ्नो कारणले आमाबुवालाई दुःख वा पीर नहोस् ।

सक्रेटको बारेमा कुरा गर्न रुचाउदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?