+
+

टीआरसीबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १९:०३
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको फाइल तस्वीर ।

४ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले शुक्रबार बिहान ११ बजेका लागि बैठक राखेको छ । जसको एजेण्डा – टीआरसी विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिको कार्य सम्बन्धमा छलफल गर्ने रहेको छ ।

२१ दिनको समय तोकेर गत जेठ ५ गते ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको थियो । समिति सचिवालयका अनुसार उपसमितिले सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । अझै केही सरोकारवालाहरुसँग छलफल गर्न बाँकी छ । तर विधेयकको प्रतिवेदन लेखन सुरु भएको छैन । उपसमितिको म्याद थप गर्ने तयारी मूल समितिको छ ।

उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर सदस्य छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद दर्ता गरेको थियो । सरकारले विषयगत समितिमा नलगेरै अगाडि बढाउन चाहेको थियो ।

तर, दफावार छलफलका लागि संसदीय विषयगत समितिमा लैजानुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण कानुन, न्याय तथा मानव अधिकार समितिमा पुगेको छ । समितिले विधेयकमा सहमति जुटाउन गरेको उपसमितिको म्याद सकिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?