+
+

समाज सुशासनको भोको छ, कांग्रेसले भरोसा दिनुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते २०:१३

६ साउन, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि नागरिकले त्यसको फल पाउन नसकेको बताएका छन् ।

४१ औं बीपी स्मृति दिवशको अवसरमा शनिबार नेपाली कांग्रेस कास्कीले गरेको कार्यक्रममा महामन्त्री थापाले सुशासनको भोको समाजले कांग्रेसबाट ठूलो अपेक्षा गरेको बताए ।

‘समाज यतिधेरै भोको भएको छ, सुशासनका लागि । यत्रो ठूलो परिवर्तन भयो, बदलाव आयो तर फल मैले किन पाउँदिन भनिरहेको छ । त्यसैले उसले कांग्रेसलाई भनिरहेको छ, तिम्रो जिम्मा हो यो’, थापाले भने, ‘मलाई भ्रस्टाचारबाट मुक्ति देऊ भनिरहेको छ । समाजले जुन अपेक्षा र विश्वास राखेको छ, यो विषयमा खरो उत्रनुपर्छ र नागरिकलाई त्यो भरोसा दिन सक्नुपर्छ ।’

कांग्रेसलाई भरोसायोग्य बनाउने सन्दर्भमा भ्रस्टाचार नगरी उभिन सक्ने बनाउ भनेर जनताले भनिरहेको थापाले बताए ।

‘सरकारमा गएको कांग्रेसलाई काम गर्न सक्ने बनाऊ । त्यसको लागि काम गर यदि मूल्य चुकाउनु पर्छ भने चुकाउ भनेर तपाईंहरुले भन्नुभएको छ, म त्यो पूरा गर्छु’, थापाले भने, ‘अब बदलिएको कांग्रेस नै सबैभन्दा बलियो हुने छ ।’

पार्टीको अहिले केन्द्रीय समिति बैठकमा पनि अहिले यो विषय उठिरहेको बताउँदै थापाले आफूले आइतबार अबको कांग्रेस कस्तो भन्ने विषयमा बोल्ने जानकारी दिए । सत्ता र सरकार नै सबै थोक हो भन्ने कुराले पार्टी गठबन्धन गर्ने अवस्थामा पुर्‍याएको बताए ।

गठबन्धन गरेर जानु गलत हो भन्ने थाहा हुँदाहुँदै पनि गठबन्धन गर्न बाध्य भएको थापाले बताए । सुरुमा सरकारमा भइँदैन कि भनेर र पछि यो सरकार जाला कि भन्ने डराएर पनि गठबन्धन गर्नुपरेको थापाको भनाइ थियो । डराएकै कारण आधारभूत मान्यता पनि मिच्नुपर्छ भन्नेमा तयार भएको थापाले बताए । पछिल्लो १८÷२० वर्ष पार्टीलाई सत्ता र सरकारमात्रै भन्ने बनाएको थापाको भनाइ थियो ।

‘पहिले सरकार नबन्ला कि भनेर डरायौं, अहिले सरकार जाला कि भनेर डरायौं । कुनै प्रदेशमा यो निर्णय गर्‍यौं भने सरकार नबन्दा कि भनेर डरायौं’, थापाले भने, ‘हामी डराएका कारणले के गर्‍यौं ? हाम्रा आधारभूत मान्यताहरुलाई पनि मिच्नुपर्छ भन्नेमा तयार भयौं ।’

महामन्त्री थापाले अब राजनीतिमा लाग्ने व्यक्ति वडा तहबाटै उत्पादनसँग जोडिनुपर्ने बताए । सेवा र उत्पादनसँग जोडिँदै सम्भावनाको आफैं उदाहरण बन्न सके कांग्रेसलाई समाजवादको बाटोमा हिँडाउन सकिने थापाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?