+
+

यू-१६ युथ लिग सुरुमै अन्योल, प्रोटेष्ट हाल्नेदेखि खेल बहिष्कार गर्नेसम्म

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० साउन ७ गते १६:५७
आर्मी र एनआरटीका खेलाडी ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले युवा अवस्थाबाटै फुटबलको विकास गर्न एन्फा यू-६ युथ लिग सुरु गरेको थियो ।  १० क्लबको सहभागिता रहेको यस लिग दोस्रो चरणमै अन्योलग्रस्त बन्न पुगेको छ । दोस्रो चरण अन्तर्गत शनिबार तय भएका चारमध्ये तीन खेल भएनन् ।

ए डिभिजन लिगका तीन क्लब एनआरटी, मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबले शनिबार तय भएको लिगको खेल बहिष्कार गर्दै सहभागिता जनाएनन्।

युथ लिगको प्रतियोगिता नियमावलीको विषयलाई लिएर एन्फा र क्लबबीच एक मत नहुँदा यू-१६ युथ लिगको पहिलो गाँसमै ढुंगा भनेजस्तो भएको छ ।

शनिबार दिउँसो १ बजे च्यासल स्टेडियममा मनाङ र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुने तालिका थियो ।

तर मछिन्द्रले मैदान पुगेर वार्म अफ गर्दै खेलको लागि तयारी अवस्थामा रहँदा मनाङ भने उपस्थित नै भएन । खेलको सुरु हुने समयमा मछिन्द्रका खेलाडी लाइन लाग्दा पनि मनाङ नआएपछि मछिन्द्रलाई स्वत: विजेता घोषित गरियो ।

यस्तै भक्तपुर सल्लाघारीस्थित मैदानम त्रिभुवन आर्मी एफसी र फ्रेण्ड्स क्लबबीच दिउँसो १ बजे तथा च्यासलमै एफसी खुमलटार र एनआरटीबीच खेल हुने तय थियो ।

तर फ्रेण्ड्स र एनआरटी सहभागी नभएपछि दुवै खेल भएन र आर्मी र खुमलटारलाई स्वत: विजेता घोषणा गरियो ।

एनआरटीले भने शनिबार बिहानै विज्ञप्ती जारी गर्दै एन्फामा गरेको अपिलको सुनुवाइ नभएको भन्दै लिगमा सहभागि नहुने चेतावनी नै दिएको थियो ।

घटना के हो ?

युथ लिगको पहिलो चरणको दोस्रो दिन २९ असारमा  सल्लाघारीमा आर्मी र एनआरटीबीच खेल भएको थियो । जसमा एनआरटी ५-१ ले विजयी भयो ।

फराकिलो हारपछि आर्मीले एनआरटीको एक खेलाडीको उमेर बढी भएको भन्दै उजुरी हाल्यो । त्यसपछि उक्त खेलाडीको एमआरआई गरियो र रिपोर्टमा बढी उमेर देखिएपछि एन्फाले एनआरटीलाई कारवाही गर्‍यो ।

‘आर्मीको उजुरी परेपछि खेलाडीको एमआरआई गर्दा बढी उमेरको देखियो । त्यसपछि खेलको नतिजा आर्मीको पक्षमा (३-०) दिइयो र एनआरटीको ३ अंक घट्यो ।’ एन्फा प्रवक्ता सुरेश शाहले भने ।

‘यू१६ लिग भएपछि बढी उमेरको खेलाडी खेलाउन मिल्दैन । यसले अर्को खेलाडीलाई असर गर्छ ।’ शाहले भने । ‘सुरुमा एन्फा र क्लब बसेर छलफल गरेर बनाएको नियममै यदि कुनै खेलाडी बढी उमेरको लागेमा विपक्षी टिमले उजुरी हाल्न पाउने र त्यसपछि एमआरआई गर्ने भन्ने व्यवस्था छ ।’

सुरुमा सबै मिलेर गरेको निर्णय अहिले मान्दिनँ भन्न नपाउने शाहले बताए ।

एन्फाको निर्णय चित्तबुझ्दो नभएपछि एनआरटीले एन्फामा यस विषयमा अपिल गरेको र त्यसबारे कुनै छलफल नभएपछि नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ ।  ‘एन्फाबाट हाम्रो अपिलको विषयमा कुनै धारणा नआएपछि हामीले यू-१६ लिग नखेल्ने निर्णय गरेका छौँ । एनआरटीले विज्ञप्तिमा भनेको छ, ‘हामीले यस विषयमा सम्बोधन नभएसम्म प्रतियोगिता नखेल्ने कठिन निर्णय गरेका छौं । यस अवस्थामा पनि हामी हाम्रो नर्मल ट्रेनिङ जारी राख्नेछौँ ।’

एनआरटीले एन्फाको यस निर्णयले युवा खेलाडीलाई न्याय नगर्ने जनाएको छ ।

यस्तै प्रतियोगिताअघि नै खेलाडी दर्ता गर्दा नै एन्फाको नियम अनुसार सबै खेलाडीको सरकारी कागजपत्र (जन्मदर्ता) पेश गरेको एनआरटीले जनाएको छ । ‘हामीले सुरुमै खेलाडी दर्ता गर्दा एन्फाकै नियम अनुसार आधिकारिक सरकारी कागतपत्र (सबै खेलाडीको जन्मदर्ता) पेश गरिसकेका थियौँ । सरकारी कागजको राम्रोसँग अनुबन्धन नै नगरी एन्फा मेडिकल रिपोर्टमा मात्र निर्भर रह्यो। एन्फाले बनाएको क्राइटेरियामा पनि खेलाडी दर्ताको क्रममा एमआरईको गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको छैन ।’

एन्फाको मेडिकल रिपोर्टलाई शतप्रतिशत ग्यारेन्टी  मान्ने गरिएको छैन । यस्तै प्रतियोगिताको नियमावलीमा विपक्षी क्लबले प्रोटेस्ट हाल्दा एमआरआई गर्ने भन्ने स्पष्ट बुँदा उल्लेख छैन । एमआरआई शब्द एक बुँदामा उल्लेख गरिएको छ । नियमावलीको बुँदा १६.४ मा प्रोटेस्ट हाल्दा खेलाडीको अनुसन्धानका क्रममा लाग्ने सम्पूर्ण खर्च र एमआरआईको खर्च प्रोटेस्ट हार्ने क्लब बेहोर्ने उल्लेख छ ।

त्यसैले गर्दा पनि एनआरटीले नियमवालीमा एमआरआई गर्नुपर्ने विषय उल्लेख नभएको जनाएको छ ।

एन्फाको निर्णयले असर गरेको पनि क्लबले जनाएको छ । ‘एन्फाको निर्णयले हाम्रो टिमलाई निरुत्साहित पारेको छ र असर गरेको छ । विशेषगरी जसलाई बढी उमेरको भनिएको छ । त्यसमा सत्यता पनि छैन ।’

एनआरटीलाई कारवाही गरेपछि सुरुमा एनआरटीसहित मनाङ र फ्रेण्ड्ससहित संकटा यस विषयमा छलफल गर्न एन्फा मुख्यालय पुगेको थियो ।

जसमा एन्फाका अध्यक्ष र महासचिवसँग छलफल गर्ने तय थियो । तर सम्बन्धित व्यक्ति नै नभएपछि छलफल हुन नसकेको संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले बताए । ‘हामीले यस विषयलाई फेरी नदोहोर्‍याउने र कसरी सहज वातावरण बनाउन सकिन्छ भनेर छलफल गर्न खोजेका थियौँ । तर एन्फा अध्यक्ष र महासचिव नै उपस्थित हुनु भएन । पछि कुर्दा पनि भेट भएन ।’ तुलाधरले भने । ‘हामी लिग चलाउने पक्षमै छौँ विवाद गर्न खोजेको हैन ।’

उनले हरेक खेलमा प्रोटेस्ट गर्ने अवस्था आउनु राम्रो नहुने बताए । ‘यसलाई छलफल गरेर समाधान खोज्यौँ भनेको हो । हरेक खेलमा प्रोटेष्ट गर्ने अवस्था आए राम्रो हुँदैन । हरेक खेलपछि एमआरआई गर्नुपर्ने खर्च बढ्छ । कि त एन्फाले नै सबै खेलाडीको एमआरई गर्ने जिम्मा लिनुपर्छ ।’

यद्यपी संकटाले बिहीबार चर्च ब्वाइजसँगको खेल खेल्यो शुक्रबार आईएसएफ डब्लुएसी फुटबल प्रतियोगिता खेल्न मोरक्को गएको छ । जहाँ संकटाले नेपालकै प्रतिनिधित्व गर्नेछ ।

संकटाको अध्यक्ष तुलाधरले यही अवस्था कायम रहे बाँकी खेल नखेल्ने बताए । तैपनि उनी तेस्रो चरणको खेलसम्म केही समाधान निस्कनेमा आशावादी छन् ।

फरक नियमावली

एन्फाले युथ लिग सञ्चालन गर्न बनाएको नियमावली नै परिवर्तन गरेको भन्दै क्लबको आपत्ति छ ।

सुरुमा एन्फा र क्लबका पदाधिकारी बनाएर एउटा नियमावली तयार पारेका थिए । तर पछि त्यो नियमावली नै केही संशोधनसहित परिवर्तन भएको पाइएको छ । ‘सुरुमा एन्फा अध्यक्ष र महासचिव  अनि क्लबका अध्यक्ष महासचिवहरु बसेर नियमावलीलाई अन्तिम रुप दिएका थियौँ । तर एक दिनअघि मात्रै ८ बुँदा परिवर्तन भएको भनेर पठाइयो’ तुलाधरले भने, ‘एकपटक बनाइसकेको नियमावली फेरि पछि म्याच कोअर्डिनेशन मिटिङमा परिवर्तन भयो भनेर संशोधन पठाइयो ।’

एन्फाले १९ असारमा सबै क्लबलाई प्रतियोगिता नियमावली पठाएको थियो । त्यसपछि खेल हुने अघिल्लो दिन २८ असारमा ८ बुँदा संशोधनसहित पठाएको थियो, जसमा वैकल्पिक खेलाडीको संख्या, अफिसियल लगायत विषय छ । यस्तै सुरुमा प्रोटेष्टका लागि ५ हजार राखिएकोमा पछि घटाएर १ हजार राखिएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहले लिग अघि नै सबै क्लबलाई नियमावली पठाएको र त्यस अनुसार नै खेलाएको बताए । ‘हामीले सुरुमै सबै क्लबलाई प्रतियोगिताको नियमावली पठाएका छौँ । नियमावलीमा जे छ त्यही अनुसार खेलाउने हो ।’

अहिले एन्फा र क्लब दुवै आफ्नै कुरा ठिक भनेर बसेको छ । प्रवक्ता शाहले एनआरटी यही विषयलाई लिएर खेल्न नआएको भएपनि अन्य दुई क्लब भने किन खेल्न नआएको भनेर प्रश्न गरे । ‘एनआरटी नखेल्ने भनेर विज्ञप्तीमार्फत थाहा पायौँ । तर अन्य दुई क्लबले आधिकारिक रुपमा केही जानकारी गराएको छैन उनीहरु किन खेल्न नआएको भनेर ।’

उनले यस विषयमा कार्यसमितिमा छलफल हुने र क्लबहरुसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने बताए । ‘यस विषयमा हामी क्लबहरुसँग छलफल गरेर अघि बढ्ने छौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?