+
+

भारतलाई हराउँदै पाकिस्तान ‘ए’ बन्यो च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते २१:५६

७ साउन, काठमाडौं । एसीसी इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । भारत ‘ए’ लाई १२८ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान ए च्याम्पियन बनेको हो ।

श्रीलंकाको कोलोम्बामा सम्पन्न खेलमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । तर पाकिस्तानले ८ विकेट गुमाएर ३५२ रनको फराकिलो लक्ष्य प्रस्तुत गर्‍यो ।

३५३ रनको विशाल लक्ष्य पछ्याएको भारतले लगातार विकेट गुमाउँदै ४० ओभरमा सबै विकेट गुमाएर २२४ अलआउट भयो । फाइनल जित्दै पाकिस्तान ए ले भारत ए सँग समूह चरणमा बेहोरेको हारको बदला समेत लिएको छ ।

भारतका लागि ओपनर अभिषेक शर्माले अर्धशतक बनाए । उनले ५१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६१ रन बनाए । ओपनरद्वय साई सुदर्शन र अभिषेक शर्माले पहिलो विकेटका लागि ८.३ ओभरमै ६४ रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाएका थिए । तर साई सुदर्शन २९ रन बनाएर आउट भएपछि भारतले नियमित अन्तरालमा विकेट गुमायो । तेस्रो नम्बरमा ब्याटिङ गरेका निकिन जोस ११ रनमा आउट भयो ।

त्यसपछि अभिषेक र कप्तान यस धुलले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर अभिषेक आउट भएपछि भने भारतले पुनरागमन गर्न सकेन । कप्तान यस धुल ३९ रन बनाएर आउट भए । निशान्त सन्धु १०, ध्रुव जुरेल ९, रियान पराग १४, हर्सित राना १३, राजबर्दन हङ्गारगेकर ११ र युदराजसिंह डोडिया ५ रनमा आउट भए ।

भारत ए लाई अलआउट गर्न पाकिस्तान ए का सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए । यस्तै अर्सल इकवाल, मेहरान मुम्मताज र मोहम्मद वासिमले समान २ तथा मुबासिर खानले १ विकेट लिए ।

त्यसअघि चौथो नम्बरमा ब्याटिङ गरेका तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्का मद्दतमा आक्रमक १०८ रन बनाएपछि पाकिस्तानले उच्च स्कोर बनाएको थियो । पाकिस्तान ए का लागि ओपनरद्वय सइम अयुब र शहिबजादा फरानले पहिलो विकेटका लागि १२१ रनको उत्कृष्ट साझेदारी गर्दै आधार तयार पारेका थिए ।

अयुबले ५१ बलमा ७ चौका र २ छक्का सहित ५९ रन बनाए । शहिबजादा फरिनले ६२ बल खेल्दै ४ चौका र ४ छक्का मदतमा ६५ रन बनाए ।

राम्रो सुरुवात गरेपनि १८७ रन हुँदा ५ विकेट गुमाएको पाकिस्तान ए का लागि तयाब ताहिर र मुबासिर खान मिलेर १२६ रनको महत्वपूर्ण साझेदारी गरे ।

ताहिरलाई गितलो साथ दिएका मुबासिरले ४७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३५ रन योगदान गरे ।

मेहरान मुम्ताज १३ रनमा आउट भए । मोहम्मद वासिमले १० बलमा अविजित १७ रन बनाए ।
भारत ए का लागि रियान पराग र राजबर्धन हाङ्गारगेकरले २-२ तथा हर्षित राना, मानव सुतार र निशान्त सिन्धुले समान १ विकेट लिए ।

यसअघि पाकिस्तानले २०१९ मा इमर्जिङ कप जितेको थियो । श्रीलंका यू- २३ टिमले २०१७ र २०१८ मा लगातार उपाधि जितेको थियो । २०१३ मा भएको पहिलो संस्करणको उपाधि भारत २३ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?