+
+

शृंखलाको गुनासो : डेढ वर्ष भयो, मलाई मान्छेले चिढ्याएको चिढ्याएकै छन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १६:०८

काठमाडौं । यस्तो लाग्छ, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र गसिप एकअर्काका पर्याय हुन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् ।

प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन रुचाउने श्रृंखला यसपटक भने मुखर सुनिएकी छन् । सञ्जय गुप्ताको पछिल्लो पडकास्ट एपिसोडमा उनले आफूलाई लिएर सामाजिक सञ्जालमा हुने गसिप र आलोचनाबारे बोलेकी छन् ।

उनले आफ्नाबारे गरिने गसिपप्रति आक्रोश जनाएकी छन् । डेढ वर्षदेखि आफूलाई चिढ्याउने काम भइरहेको उनको गुनासो छ । ‘मबाट रियाक्सन खोज्या हो कि । यति चिढ्याउँदा पनि यो बोल्दिन भन्या हो कि । डेढ वर्ष भइसक्यो । कति चिढ्याइराख्या हो, अझै चिढ्याएका छन्, चिढ्याएका छन्,’ उनले भनेकी छन् ।

शृंखलाले मान्छेहरुलाई जवाफ दिएर कहिल्यै नसकिने र आफूले उत्तर नदिने अडान पनि व्यक्त गरिन् । ‘के खोजिराख्या छन् थाहा छैन । तर त्यसको उत्तर मसँग छैन, दिंदा पनि दिन्न । कारण नै छैन । व्यक्तिगत जीवन कति खोतल्न खोज्या के ? म पब्लिक पर्सन हो थाहा छ तर म मिस नेपाल हुन्छु भनेर साइन गर्दाखेरि लाइफको सबै कुरा खोतल्छु भनेर साइन गर्‍या जस्तो लाग्दैन । कसैलाई केही बिगार्‍या छैन, कति पछि पर्‍या हुन् । केही पनि उत्तर छैन दिनलाई । के दिने उत्तर ?’ उनी आक्रोशित सुनिइन् ।

मानिसमा सोचको समस्या रहेको श्रृंखलाको तर्क छ । ‘उत्तर दिए पनि पुग्दैन कहिल्यै पनि । त्यो मेन्टालिटीको प्रब्लम हो, मेरो प्रब्लम होइन । जे उत्तर दिए पनि मैले चेन्ज गर्न सक्दिन । हनुमानले जसरी छाती चिरेर देखाए पनि त्यो पर्याप्त हुँदैन,’ उनले भनेकी छन्, ‘जति धेरैजनाले चिन्न थाल्नुहुन्छ, त्यति धेरै विचार सिर्जना हुन्छ । एउटा कुरा मात्र मेरो नियन्त्रणमा हुन्छ, मैले आफूलाई के सोच्छु । राम्रो गर्ने, नराम्रो गर्ने मेरो नियन्त्रणको कुरा हो । जीवनमा मैले नियतवश कुनै नराम्रो गरेको छैन । मान्छेको दृष्टिकोण बदल्न सक्दिनँ ।’

शृंखलाले आफ्नोबारे मिडियामा चलेका कुराहरु ‘अर्धसत्य’ भएको बताइन् । उनले यो कुरा बुझाउन दृष्टिविहिनले हात्ती छामेर आफूअनुसार व्याख्या गरेको कथा सुनाइन् । टिकटकमा आफ्नो कुरा आधा काटेर भिलेन बनाउन खोजेकोप्रति उनको असन्तुष्टि छ । ‘मैले आफूलाई जे सोच्छु त्यो अरुलाई थाहा छैन । मैले आफूलाई जो सोच्छु त्यो नै सत्य हो,’ उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?